काठमाडौं महानगरका वडाहरुमा आजबाट क्यान्सरको निःशुल्क परीक्षण हुँदै, कुन वडामा कहिले ?

शिविरमा परीक्षण विधि कस्तो छ ?

काठमाडौँ, ५ बैशाख । काठमाडौं महानगरपालिका (कामपा)ले महिलाहरुमा देखिने क्यान्सर तथा प्रजनन् अस्वस्थताको निशुल्क जाँच शिविर सुरु गरेको छ । कामपाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्वन्धि निःशुल्क परीक्षण शिविर सुरु गरेको  हो ।

महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा वैशाख महिना भरी शिविर सञ्चालन हुने महानगरले जनाएको छ ।

महानगरका अनुसार वडा नं ३१ भीमसेनगोलामा बैशाख ५ (आज) र ६ गते (भोली), वडा नं २५ र २७, इनबहालमा ७, ९ र १० गते, वडा नं ३, महाराजगञ्जमा ११ र १२ गते, वडा नं २६, लैनचौरमा १४ गते परीक्षण शिविर सञ्चालन हुँदैछ ।

यसैगरी वडा नं २०, भीमसेनस्थानमा १६ गते, वडा नं २१, यंगालमा १७ गते, वडा नं २३, ओमबहालमा १८ गते र वडा नं १५, स्वयम्भूमा २० र २१ गते शिविर हुने मिति तोकिएको छ ।

रामघाट प्राथमिक स्वास्थ्य केन्द्रमा २३ गते, वडा नं २, लाजिम्पाटमा २४ गते, वडा नं २४, मखनमा २५ गते, वडा नं २२, टेबहालमा २६ गते, वडा नं १८, नरदेवीमा २७ गते, वडा नं १९, कङ्केश्वरीमा २८ गते, वडा नं ३२, पाल्पाकोट (छाप्रे), कोटेश्वरमा ३० र ३१ गते सर्वसाधारणले सेवा लिन पाउनेछन् ।

शिविरबाट थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क परीक्षण हुने महानगरपालिकाले जनाएको छ ।

यसअघि महानगरले मंगलबार राष्ट्रिय सभा गृहमा महिला जनप्रतिनिधि र कर्मचारीहरुको निशुल्क स्वास्थ्य जाँच गर्दै कार्यक्रमको थालनी गरेको थियो ।

कार्यक्रम थालनी गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, सुरु भएकै समयमा क्यान्सर पहिचान गर्न सके रोकथामको सम्भावना रहने भएकोले महानगरपालिकाले आयोजना गर्ने वडास्तरीय निःशुल्क शिविरमा आएर जाँच गराउन आव्हान गरिन । उनले भनिन्, ‘हामी चाहन्छौँ, कसैले पनि उपाय नलाग्ने अवस्था ९क्रोनिक० को क्यान्सरसँग जुध्न नपरोस् । समस्या जोखिमपूर्ण चरणमा पुगेपछि हाम्रो उपाय कमजोर हुन्छ । यसकारण हामीले प्रजनन उमेरका महिलाहरुमा क्यान्सर जाँचको शिविर राखेका हौँ । अहिलेको सानो प्रयासले उपचारमा लाग्ने खर्च र पारिवारिक तनाव घटाउन सक्छौँ । यसकारण प्रजनन उमेरका महिलाहरुलाई आफ्नो वडामा हुने शिविरमा गएर जाँच गराउन दोहोर्‍याएर अनुरोध गर्न चाहन्छु । यो परीक्षण रोगका लक्षण देखिएपछि डाक्टरकोमा जाने खालको होइन । प्रजनन उमेरका सबै महिलाले यो विषयलाई हेलचेक्र्याइँ गर्नु हुँदैन ।’

शिविरमा परीक्षण कसरी गरिन्छ ?

महानगरका स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनकाअनुसार शिविरमा स्तन क्यान्सरको जाँचका क्रममा पहिले क्लिनिकल (चिकित्सकबाट) परीक्षण हुन्छ । यसपछि भिडियो एक्सरे हुन्छ । यी दुईप्रकारका परीक्षणबाट क्यान्सरका चिन्ह देखियो भने मेमोग्राम गराइन्छ ।

यस्तै पाठेघरको मुखको क्यान्सर जाँचका क्रममा नमूना संकलन गरिन्छ । यसको प्रयोगशाला परीक्षणपछि आउने स्वास्थ्य प्रतिवेदन (रिपोर्ट) सम्बन्धित व्यक्तिको मोवाइल नम्बरमा पठाइन्छ ।

महानगरपालिकाकी स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सुनिता लम्सालका अनुसार ह्युमन प्यापोलिमा भाइरस (एचपीभी) ५ बर्षदेखि १० बर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ । प्रजनन उमेर (३० बर्षदेखि ६० बर्ष) समूहका महिलाले हरेक ५ बर्षमा एकपटक यसको परीक्षण गराउनु पर्ने डा. लम्सालको सुझाव छ ।

क्यान्सरको विश्वव्यापी अध्ययन २०२० को प्रतिवेदन उधृत गर्दै उनले भनिन्, ‘पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा हरेक दिन ४ जना महिलाले मृत्युवरण गरिरहेका छन् ।’

३० बर्ष उमेरमाथिका सबै महिलाहरुलाई क्यान्सर हुन सक्छ । उनका अनुसार १ जनाभन्दा धेरै पुरुषसँग यौन सम्पर्क भएका, १६ बर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्पर्कमा भएका, एचआइभी जस्ता यौनजन्य संक्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरैपटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलाहरु जोखिम धेरै हुन्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *