प्रतिस्पर्धी उम्मेद्धार नभएपछि ११ दिन अघि नै निर्वाचित भयो ‘नेफा’को नयाँ कार्यसमिति, अध्यक्षमा शाक्य

काठमाडौँ, २७ चैत । नेपाल जनस्वास्थ्य संघ (नेफा) को नयाँ कार्यसमिति निर्वाचन हुनु भन्दा ११ दिन अघि नै निर्बिरोध निर्वाचित भएको छ । उम्मेद्धारको अन्तिम नामावली प्रकाशित गर्ने दिन प्रतिस्पर्धी उम्मेद्धार नै नभएपछि केन्द्रीय निर्वाचन समितिले आजै नयाँ कार्यसमिति निर्वाचित गरिदिएको हो ।

संघको १५ सदस्यीय कार्य समिति समितिमा १४ जनाको उम्मेद्धारी कायम भएपछि निर्वाचन समितिले उनीहरुलाई आजै निर्वाचित भएको घोषणा गरिदिएको छ । यो संगै एक जना सदस्य पद खाली रहेको छ ।

कृष्णमान शाक्य

निर्वाचन समितिका सदस्य डा गुणनिधि शर्माका अनुसार अध्यक्षमा धादिङका कृष्णमान शाक्य निर्वाचित भएका छन् । उनी अघिल्लो पटक पनि अध्यक्षको प्रत्यासी बनेका थिए तर निर्वाचनमा तेस्रो हुँदै पराजित भएका थिए । यस पटक भने उनी निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै उपाध्यक्षमा भक्तपुरका तेजप्रसाद दुलाल र महासचिवमा ताप्लेजुङका कैलाश खाकी श्रेष्ठ निर्वाचित भएका छन् । यसैगरी सचिव पदमा ललितपुरका भीमप्रसाद सापकोटा, कोषाध्यक्षमा प्युठानका विजय ढकाल र सह कोषाध्यक्ष (समावेशी)मा सर्लाहीकी मायाकुमारी गोले निर्वाचित भएका छन् ।

सदस्यहरु समावेशीमा दिलिपकुमार यादव सर्लाही, अनुजा खनाल चितवन निर्वाचित भएका छन् । यस्तै खुल्ला सदस्य तर्फ नरेशप्रसाद जोशी बझाङ, श्रीकृष्ण बस्नेत काठमाडौँ, विकेश मल्ल बझाङ रहेका छन् । यस्तै विनोदकुमार पोखरेल प्यूठान, मनोज सिग्देल सर्लाही र अमृत विष्ट बैतडी पनि निर्विरोध निर्वाचित भएका छन् ।

‘खासमा २४ जनाको उम्मेद्धारी परेको थियो । वहाँहरु मध्ये ७ जनाको उम्मेद्धारी बदर भयो । बाँकी हुनुहुन्थ्यो १७ जना तर हिजो नाम फिर्ता लिने समयमा ३ जनाले नाम फिर्ता लिनु भएछ । त्यसैले १५ सदस्यीय समिति भएपनि १४ जना निर्वाचित गरेका छौं,’ सदस्य डा शर्माले भने ।

गत १४ चैतमा मतदाता नामावी प्रकाशन गरेर निर्वाचनको कार्यारम्भ गरेको नेफाको निर्वाचन समितिले आगामी ८ बैशाखमा मतदान गर्ने र मतगणना गरी परिणाम सुनाउने तालिका थियो । तर प्रतिस्पर्धी नै नभएपछि ११ दिन अघि नै नेतृत्व छनौट भएका छन् ।

नेफा कार्यसमितिको पदावधी दुई वर्षको हुनेछ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *