स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौँ शिखर सम्मेलनको तयारी पुरा

काठमाडौँ, २६ चैत ।  आगामी बुधबारदेखि  सुरु हुने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौ शिखर सम्मेलनको तयारी पुरा भएको छ । आयोजक नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जनाएको हो ।

यसपटक सम्मेलन काठमाडौँको बौद्यस्थित होटल ह्यात रेजेन्सीमा हुने भएको छ ।

तीन दिने सो सम्मेलनको नारा “दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि स्वास्थ्य र जनसंख्या सम्बन्धी अनुसन्धान र नवप्रवर्तन’ रहेको छ ।

परिषद्का सदस्यसचिव डा. प्रमोद जोशीका अनुसार सम्मेलनको उद्घाटन बुधबार विहान ९ बजे राष्ट्रपति रामचन्द्र पौडेलले गर्नेछन् । उनले सम्मेलनमा स्वदेश तथा विदेशबाट गरि १ हजार बढी स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानकर्ता तथा अध्येताहरुको सहभागिता हुने बताए । डा. जोशीले सम्मेलनमा भारत, स्वीजरल्याण्ड, वेलायत, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका लगायत देशहरुबाट पनि प्रतिनिधि आउने निधो भएको जानकारी दिए ।

सम्मेलनमा ७५ वटा अनुसन्धानमूलक पेपरहरुको मौखिक तथा २६३ वटा पोष्टरहरुको प्रस्तुतीकरण हुने छ ।

‘सम्मेलनका लागि भन्दै ३५७ वटा मौखिक तथा पोष्टर प्रस्तुतिका लागि लेख प्राप्त भएको थियो । ति मध्ये मापदण्ड पुगेकालाई मात्र मौखिक तथा पोस्टरलाई प्रस्तुतीका लागि छनौट गरिएको हो,’ डा.  जोशीले भने ।

सम्मेलनमा प्रत्येक दिन स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानका विभिन्न बिषयमाथि सामूहिक छलफल समेत हुने छन् । नेपालको वित्तिय स्वास्थ्य, प्रमाणमा आधारित औषधि र चिकित्सा अभ्यास, प्रभावकारी र उत्तरदायी स्वास्थ्य प्रणाली, गुणस्तरीय र समतामूलक स्वास्थ्य सेवा, वातावरणीय स्वास्थ्य र जलवायु परिवर्तन, सर्ने तथा नसर्ने रोगहरू, मानसिक स्वास्थ्य लगायतका १५ वटा भन्दा बढी विषयमा सामूहिक छलफल हुने बताइएको छ ।

विभिन्न १० विधामा अवार्ड

यसैबीच सम्मेलन समापन समारोहमा विभिन्न १० विधामा अवार्डहरू प्रदान गरिने छ । डा. जोशीका अनुसार सम्मेलनमा प्रस्तुत भएका मौखिक प्रस्तुतीकरण र पोस्टर प्रस्तुतीकरणहरुमध्ये बाट एक–एक जनालाई उत्कृष्ट मौखिक प्रस्तुतीकरण र उत्कृष्ट पोस्टर प्रस्तुतीकरण अवार्ड प्रदान गरिनेछ ।

यसै गरी परिषद्को जर्नलमा एक वर्ष (सन् २०२३) भित्र प्रकाशित वैज्ञानिक लेखहरुमध्येबाट उत्कृष्ट वैज्ञानिक लेखलाई जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल अवर्डा २०२३ प्रदान गरिनेछ ।

साथै उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार –२०२४, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४ (चिकित्सक), मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४ (परिषद् कर्मचारी) र स्वास्थ्य अनुसन्धान तथा कृति प्रकाशित गरी ६० वर्ष उमेर पुगि सकेको एक जना वैज्ञानिक स्वास्थ्य अनुसन्धानकर्तालाई लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिनेछ ।

यस्तै सम्मेलनमा युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट ओरेशन अवार्ड–२०२४ समेत प्रदान गरिने छ । साथै परिषद्मा वर्षभरि उत्कृष्ट काम गर्ने एक जना स्थायी कर्मचारीलाई एनएचआरी बेष्ट इप्लोई अवार्ड पनि प्रदान गरिने बताइएको छ ।

सदस्य सचिव डा. जोशीले सम्मेलनद्वारा स्वास्थ्य अनुसन्धान कार्यको नियमन गर्न, असल अनुशासन संस्कारको विकास गर्न र अनुसन्धानबाट प्राप्त नतिजाहरुलाई स्वास्थ्य क्षेत्रको नीति, योजना तथा कार्यक्रमलाई तथ्यपरक बनाउनका लागि पैरवी गर्ने विश्वास लिएको बताए ।

उनले यस्ता सम्मेलनहरु नियमित रुपमा सञ्चालन गर्न सके युवा अनुसन्धानकर्ता, वैज्ञानिक तथा प्राविधिक जनशक्तिलाई अनुसन्धान गर्न प्रेरित गर्ने तथा अनुसन्धानबाट प्राप्त नतिजा र निष्कर्षहरुको प्रचार प्रसार हुने अपेक्षा परिषद्ले राखेको जानकारी दिए ।

स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ताहरू, नीति निर्माताहरू विकासका साझेदारहरू बीच छलफल गरी नेपाल सरकारलाई स्वास्थ्य क्षेत्रका मुद्दाहरुको अन्तर विषयात्मक नविनतम अनुसन्धानद्धारा सम्बोधन गर्ने उद्देश्यले विस २०७१ (सन् २०१५) देखि हरेक वर्ष परिषद्ले शिखर सम्मेलनको आयोजना गर्दै आइरहेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *