सन्दर्भ : विश्व स्वास्थ्य दिवस

‘स्वास्थ्य सचेतना बढाउन सके उपचारमा लाग्ने खर्च कम हुने थियो’

काठमाडौँ, २६ चैत । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले स्वास्थ्य जनचेतनाका काम बढाउन सकेमा उपचारमा खर्च कम हुने बताएका छन् । विश्व स्वास्थ्य दिवसको अवसरमा आइतबार टेकुमा आयोजित कार्यक्रममा बोल्दै उनले स्वास्थ्य सचेतनामा काम गर्नु पर्ने खाँचो रहेको बताए । उनले भने, ‘स्वास्थ्य सचेतनामा काम गर्न सक्यौँ भने उपचारमा धेरै खर्च गर्नु पर्दैन ।’

सचिव डा. पोखरेलले सजिला कामहरुमा उपलब्धी हासिल भइसकेको भन्दै अब गाह्रो कामहरु बाँकी रहेको उल्लेख गरे । सर्ने र नसर्ने रोगको उपचारको पहुँचमा अलि ध्यान दिनुपर्ने  उनको भनाइ थियो ।

‘हामीले गरिरहेका कतिपय राम्रा कार्यक्रमको पनि हामीले प्रचार गर्न सकिरहेका छैनौं । अबको हाम्रो लक्ष्य ती कार्यक्रमका बारेमा जनतालाई जानकारी दिनु हो ’ उनले भने, ‘स्वास्थ्य बीमा, आधारभूत अस्पताल, औषधिलगायतका विभिन्न कुराहरुका बारेमा जानकारी दिनुपर्छ ।’ डा. पोखरेलले स्वास्थ्यका बारेमा हामी सबै जान्ने भए पनि आधारभूत स्वास्थ्यका बारेमा ध्यान नदिएको बताए ।

स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता कौशल मिश्राले युनिभर्सल हेल्थ कभरेज ५२ प्रतिशतमा मात्र रहेको बताइन् । ‘युनिभर्सल हेल्थ कभरेज ५२ प्रतिशत मात्र छौं,’ उनले भनिन्, ‘समतामूलक पहुँचको लागि काम गर्नुपर्छ ।’ उनले आफूले नीतिमा परिवर्तन गर्न चाहेको समेत बताइन् । ‘अधिकारको समुचित प्रयोग गर्नु पर्नेछ,’ डा. मिश्राले भनिन्, ‘अस्पतालमा सही उपचार, औषधि र सेवा पाउनुपर्छ ।’ समान सेवाको कुराले मात्रै नपुग्ने बताउँदैं उनले समतामूलक सेवाका लागि नीतिगत सुधार आवश्यक रहेको बताइन् ।

 

नेपालका लागि विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधि डा राजेश सम्भाजीराव पाण्डवले सबै मानिसहरुको मौलिक अधिकारको रुपमा स्वास्थ्य रहेको र यसलाई उच्चतम प्रयोग गर्नका लागि व्यक्ति, संस्था र सरकारसंग डब्लुएचओ हातेमालो गर्न प्रतिवद्ध रहेको बताए । उनले सबैका लागि स्वास्थ्यको अधिकारलाई बास्तविकता बनाउन सामुहिक कार्यको मापन गर्न एकजुट हुन समेत आग्रह गरे ।

 

कार्यक्रममा स्वास्थ्य मन्त्रालय नीति योजना महशाखा प्रमुख डा. कृष्ण पौडेलले, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागकी डा. जया सत्यालले स्वास्थ्य क्षेत्रका समस्या, नसर्ने रोगका चुनौती, नियन्त्रणका लागि सरकारले गरेका प्रयास र भावि रणनीतिबारे प्रस्तुति दिएका थिए ।

कार्यक्रममा विश्व स्वास्थ्य दिवसको सन्दर्भमा आयोजना गरिएको रिल्स मेकिङ प्रतियोगिताका बिजयीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *