स्वास्थ्य बीमा कार्यक्रम अब देशव्यापी, आजबाट सबै पालिकामा पुग्दै

१ बैशाख देखि अनलाइनबाट नै स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन मिल्ने

काठमाडौँ, २५ चैत । आठ वर्ष अघि कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम आजबाट देशव्यापी हुने भएको छ । स्वास्थ्य बीमा कार्यक्रम लागू हुन बाँकी रहेको अन्तिम पालिका काठमाडौँको बुढानिलकण्ठ नगरपालिकामा आजबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु हुँदैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बीमा दिवसको अवसरमा आज आयोजना हुने औपचारिक कार्यक्रममा बुढालिनकण्ठ नगरपालिकामा प्रतिनिधिलाई सदस्यता प्रदान गरी त्यस पालिकामा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको घोषणा गर्ने छन् ।

‘जिल्लागत कभरेज गतवर्ष नै पुरा भएको हो । ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो । तर सबै पालिकामा पुगेको थिएन । पछिल्लो पटक काठमाडौँ महानगरपालिका पछि बुढानिलकण्ठ नगरपालिका बाँकी थियो । आजबाट त्यहाँ पनि स्वास्थ्य बीमा कार्यक्रम सुरु हुनेछ । आज हुने औपचारिक कार्यक्रममा प्रधानमन्त्री ज्यूले त्यहाँका जनप्रतिनिधिलाई सदस्यता प्रदान गरी बीमा कार्यक्रम सुरु भएको घोषणा गर्नु हुनेछ,’ बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले भने ।

स्वास्थ्य बीमा कार्यक्रमको सञ्जाल देशभर पुगे पनि कभरेज दर भने अपेक्षाकृत बढेको छैन । अहिले पनि ७७ लाख ४१ हजार ४८३ जना अर्थात कुल जनसंख्याको २६.५४ प्रतिशत मात्रै स्वास्थ्य बीमामा आवद्ध छन् । अझ यसमध्ये करीव २२ प्रतिशत सरकारले प्रिमियम तिरिदिने लक्षित बर्गहरु समावेश छन् ।

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले अबको ध्यान कभरेज बढाउनेमा हुने बताउँछन् । ‘अब स्वास्थ्य बीमा कार्यक्रम देशव्यायी भयो, अब औपचारिक क्षेत्र (सरकारी निकायका कर्मचारीहरु)लाई समेत समेटने र स्वास्थ्य बीमा अनिवार्य गर्ने गरी काम हुन्छ । यसै बर्षबाट त्यो काम सुरु हुन्छ । त्यसपछि बीमा कभरेज दर उच्च भै हाल्छ । संगसंगै सेवा प्रदायकले दिने सेवामा पनि सुधार हुनेछ । हामीले अब अनुगमनलाई तिब्रता दिनेछौँ, नागरिक तहबाट आएका गुनासो सम्वोधन हुनेछन्,’ डा. लोहनीले भने ।

अब स्वास्थ्य बीमा कार्यक्रममा अनलाइनबाट आवद्ध हुन मिल्ने

आठौँ स्वास्थ्य बीमा दिवसको अवसरमा स्वास्थ्य बीमा बोर्डले नागरिक आवद्धता बढाउने योजना अनुरुप अब अनलाइनबाट स्वास्थ्य बीमामा आवद्धता हुन मिल्ने प्रणाली सुरु गर्दैछ ।

आगामी १ बैशाख देखि कार्यान्वयनमा आउने यो प्रणालीले व्यक्तिले अनलाइन सिस्टममा आफ्ना विवरण पेश गरी रकम तिरेपछि सदस्यता बन्न सक्नेछन् । ‘हामीले अनलाइन दर्ता हुन मिल्ने गरी सफ्टवेर निर्माण गरिसकेका छौँ । आज घोषणा हुनेछ र १ बैशाख देखि कार्यान्वयनमा आउने छ,’ कार्यकारी निर्देशक डा. बसौलाले भने ।

अहिलेसम्म स्वास्थ्य बीमा कार्यक्रममा आवद्धता हुन चाहनेले दर्ता सहयोगीमार्फत सदस्यता हुन पाउँथे । अनलाइन सिस्टम कार्यान्व्यनमा आउँदा दर्ता सहयोगी खोज्ने झन्झट भने अन्त्य हुने छ ।

यस्तै आगामी १ बैशाख देखि सेवा प्रदायकले सोधभर्नाका लागि रियल टाइममा दावी गर्नु पर्ने व्यवस्था कार्यान्वयनमा आउने बताइएको छ । यसपछि बोर्डले हरेक दुई दुई महिनामा सेवा प्रदायकलाई उपचार सेवा दिए वापतको सोधभर्ना गर्ने बताएको छ ।

सरकारले आगामी १० वर्ष भित्र अर्थात विसं २०९० सालसम्ममा सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्ने लक्ष्य लिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *