‘बेसिक फर नर्स’ कार्यशाला तालीम वीरगञ्जमा सम्पन्न

वीरगञ्ज,२४ चैत । मधेश प्रदेशमा आइसीयू सेवा दिईरहेका अस्पतालहरुमा कार्यरत ७० बढी नर्सहरुले बेसीक फर नर्स तालीम पाएका छन् । नेपाल मेडिसिटी बयोधा अस्पताल वीरगञ्ज र नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेशन काठमाडौँले संयुक्त रुपमा नर्सहरुका लागि यो तालीमको व्यवस्था मिलाएका हुन् ।

नेपाल मेडिसिटी बयोधा अस्पतालको सभा हलमा हिजो र आज गरी दुई दिनसम्म चलेको तालीममा नर्सहरुलाई सघन उपचार पद्धती, नविनतम ज्ञान, उपचार सम्वन्धी मापदण्डसंगै यसमा प्रयोग हुने औजार तथा उपकरणबारेमा जानकारी दिईयो ।

आयोजक मध्येको एक नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख बिजय रिमालले बेसिक फर नर्स कार्यशाला तालीमको उद्देश्य अस्पतालहरुको उपचार गुणस्तरलाई अभिबृद्धि गर्दै सघन उपचारका लागि मधेश प्रदेशका सबै अस्पतालहरुलाई सक्षम बनाउनु रहेको बताए ।

उनले मधेश प्रदेशमा आईसियु विशेषज्ञहरुको अभावलाई न्यून गर्ने प्रयास स्वरुप आफूहरुले निकट भविष्यमा चिकित्सकहरुका लागि एक वर्षे फेलोसिप कार्यक्रम वीरगञ्जमै शुरु गर्ने योजना रहेको समेत जानकारी दिए ।

दुई दिने तालीममा नर्सहरुलाई रेस्पाईरेटोरी प्याथोलोजी, एयरवे म्यानेजमेन्ट, मेकानिकल भेन्टिलेशन, रुटिन नर्सिङ्ग केयर इन आईसियु, कार्डियोभास्कुल फिजियोलोजी, शक म्यानेजमेन्ट, न्यूरोलोजिकल एसेसमेन्ट लगायतका विषयहरुमा ह्याण्डस् अन स्किल स्टेशनको ब्यवस्था गरी प्रयोगात्मक र सैद्धान्तिक ज्ञान र सीप बारे प्रशिक्षण गरिएको थियो । उक्त कार्यशाला तालीममा आठ जना बरिष्ठ नर्स इन्स्ट्रक्टरहरुले सञ्चालन गरेका थिए ।

यसैबीच मधेश प्रदेशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत् नर्सहरुको सीप तथा ज्ञान अभिबृद्धिमा मधेश प्रदेश सरकारले ध्यान दिने प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले बताएका छन् ।

शुक्रबार वेसिक फर नर्स तालीमको उदघाटन समारोहलाई सम्वोधन गर्दै उनले संघीयतालाई कार्यान्वयन गर्दै आम जनसमुदायको हितका लागि उपयोग गर्न स्वास्थ्य सेवा एउटा माध्यम हुने बताए ।

कार्यक्रममा नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेशनका अध्यक्ष तथा त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर विभाग प्रमुख प्राडा सुवास आचार्यले आफूहरुले मधेश प्रदेशको अस्पतालहरुको आईसियु सेवाको गुणस्तर र क्षमतालाई अभिवृद्धि गर्न सहयोग गर्ने बताए । उनले मधेश प्रदेशमा आफ्नो संस्थाले नियमित रुपमा तालीमको आयोजना गर्ने समेत बताए ।

क्रिटिकल केयर नर्सिङ्ग एसोसियन अफ नेपालकी भाईस प्रेसिडेण्ट कविता सिटौलाले तालीमका लागि उत्साहित सहभागी तथा कार्यक्रमको सफलताका लागि उपस्थित भएका प्रशिक्षक तथा विशिष्ट पाउनाको आगमनले कार्यक्रमको महत्व बढाएको बताईन । उनले प्रदेश स्वास्थ्य मन्त्री लगायतका राजनैतिक दलका प्रतिनिधिहरुको स्वास्थ्य प्रतिको प्रतिबद्धताका लागि आभार ब्यक्त गरिन ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका नेता विचारी यादव, जनता समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव, वरिष्ठ पत्रकार चन्द्रकिशोर झा, नेपाली कांग्रेस पर्साका उपाध्यक्ष, राम नारायण कुर्मी, परवानीपुर गाउंपालिकाका प्रमुख राम क्षेत्री कुर्मी, वीरगंज महानगरपालिका वडा नं. २३ का प्रमुख अवध किशोर कुशवाहा, वडा नं २० का प्रमुख राम किशोर सिंह लगायतले शुभकामना व्यक्त गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *