सात वर्षको अवधीमा मेडिसिटी अस्पतालले गर्‍यो दुई हजार बढीको ब्रेन सर्जरी


काठमाडौँ, २३ चैत ।  नेपाल मेडिसिटी अस्पतालले सात वर्षको अवधीमा दुई  हजार बढी बिरामीको ब्रेन सर्जरी गरेको बताएको छ ।

अस्पतालले न्यूरो साइन्समा हालसम्म गरेको उपलव्धी सार्वजनिक गर्ने क्रममा सो जानकारी दिएको हो । अस्पतालले शुक्रबार गरेको पत्रकार सम्मेलनमा न्यूरो साइन्स अन्तगर्त ब्रेन ट्युमर, आकस्मिक ब्रेन सर्जरी, कुनै पनि किसिमको स्ट्रोक, मेरुदण्डको ट्युमर, मेरुदण्डको नसा च्यापेको तथा मेरुदण्ड मिलाउनुपर्ने शल्यक्रिया गरेको जनाएको छ ।

न्यूरो सर्जरी विभाग प्रमुख प्राडा गोपालरमण शर्माले अस्पतालमा अत्याधुनिक प्रविधिबाट सबै खाले न्युरो सम्वन्धी रोगको उपचार गर्दै आइरहेको बताए । उनले पछिल्लो विकासक्रम अनुसार अस्पतालले शल्यक्रिया गर्दा धेरै नचिरी वा ब्रेन नखोली दुरबिनको सहायताबाट गरिने शल्यक्रिया, नन् इन्भेसिभ सर्जरीको सुविधा पनि प्रदान गर्दै आएको भन्दै यसरी सर्जरी गर्दा बिरामीलाई छिटो निको हुने र अस्पतालको बसाई पनि कम हुने जानकारी दिए ।

अस्पतालका अनुसार गत वर्षबाट शुरु गरिएको नन् इन्भेसिभ सर्जरीबाट न्यूरो भास्कुलर समस्या भएका १५० भन्दा बढि बिरामीहरुको शल्यक्रिया गरिएको छ । यस विधि वा न्यूरो इन्र्टभेन्सन प्रोसिड्युरमा थ्रोमबेक्टोमी, एन्यूरिजम कोइलिङ, ट्युमर इम्बोलाइजेसन, फ्लो डाइभरटर र स्टेन्टिङ पर्दछन् । इन्र्टभेन्सन प्रोसिड्युरबाट गरेको शल्यक्रिया सफल हुनु आफैमा सन्तोषजनक नतिजा रहेको प्रा.डा. शर्माले बताए ।

त्यसो त अस्पतालले सबै किसिमका न्यूरो सम्बन्धित समस्याहरुको उपचार उपलब्ध गराउँदै आएको बताएको छ । उसले आफूकहाँ न्यूरोसर्जरीको विशेषता भनेको बिरामीले कुन विधिबाट शल्यक्रिया गर्ने भनेर आफैले छान्न पाउँछन् भन्दै ओपन सर्जरी (चिरफार गरेर गरिने शल्यक्रिया) र नन् इन्भेसिभ सर्जरी (सानो प्वाल बनाई गरिने शल्यक्रिया) को सुविधा रहेको जानकारी दिएको छ ।

न्यूरोलोजी विभागका प्रमुख डा. बाबुराम पोखरेलका अनुसार विश्वभर ब्रेन स्ट्रोकको संख्या बढ्दै जान थालेको छ । विभिन्न अध्ययनका अनुसार एक करोड पचास लाख मानिसहरुलाई स्ट्रोक हुन्छ भने ५० लाख मानिसहरु स्ट्रोकको उपचार गर्दागर्दै मृत्यु बेहोरिरहेका छन् । त्यस्तै, स्ट्रोककै कारण ५० लाखमा अपाङगता हुन्छ भने ५० लाख मानिसले मात्रै उपचारपछि गुणस्तरीय जीवन बाँच्न पाउँछन् ।

हृदयघात पछि रोगका कारण मृत्यु हुनेमा दोस्रो स्थानमा स्ट्रोक रहेको छ । यसै कारणलाई मध्यनजर गर्दै नेपाल मेडिसिटीले ‘कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर’ सञ्चालनमा ल्याउन लागेको बताएको छ । यस सेन्टर मार्फत बिरामीलाई बे्रन स्ट्रोक भएको ४ देखि ५ घण्टामै अस्पताल आइपुगे तत्काल सेवा प्रदान गरिने जनाइएको छ ।

डा. प्रसन्ना कार्कीका अनुसार ब्रेन स्ट्रोक हुने बित्तिकै बिरामी अस्पतालमा आइपुगे उपचार सम्भव छ । “बिरामी ४ देखि ५ घण्टामा अस्पताल आइपुगे रगत पातलो बनाउने औषधी राख्न मिल्छ भने, १८ घण्टा सम्ममा शल्यक्रिया गर्न सकिन्छ । तर १८ घण्टा भन्दा ढिला भए शल्यक्रिया सम्भव हुँदैन भने बिरामीहरुमा प्यारालाईसिस हुन्छ,” उनले भनिन् ।

स्ट्रोक हुँदा हरेक एक मिनेटमा १९ लाख नसाहरु मर्दै जान्छन् । उपचारमा जति ढिला हुन्छ, त्यति नै छिटो नसाहरु मरेर प्यारालाइसिस भई अपाङगता हुने सम्भावना रहन्छ ।

“ब्रेन स्ट्रोक समय अनुरुप संवेदनशील छ र समयमै अस्पताल आईपुगे आजीवन प्यारालाइसिस हुनबाट बचिन्छ,” उनले भनिन् ।

त्यस्तै अस्पतालमा न्यूरो सर्जरी वा स्ट्रोक पश्चात बिरामीलाई फिजिकल रिहाबिलिटेसन पनि गरिन्छ । फिजिकल रिहाविलिटेशन विभागका प्रमुख डा. मञ्जु ज्ञवालीका अनुसार एक वर्षमा ८ देखि ९ हजार न्यूरोका बिरामीलाई थेरापी सेवा पुर्‍याउँदै आएको छ ।

“जसरी एक्युट उपचारको लागि समयमै अस्पताल पुग्न जरुरी छ, त्यसरी नै स्ट्रोक पुर्नस्थापनाको लागि फिजिकल रिहाबिलिटेसनको जरुरत छ ।”

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *