स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक मेहतासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, १८ चैत । स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेब मेहतासहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोशी प्रादेशिक अस्पतालमा कोरोना महामारीका बेलामा स्वास्थ्य सामग्री खरिदका क्रममा भ्रष्टाचार गरेको आरोपमा उनीहरु बिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले २ करोड ८९ लाख रुपैयाँ भ्रष्टाचार भएको आरोपमा तत्कालीन निर्देशक मेहतासहित हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, लेखा अधिकृत डण्डसिंह बिक, खोप अधिकृत उदेश श्रेष्ठ, बजार व्यबस्थापक मनेज कुमार आचार्य विरुद्ध मुद्दा दायर गरेको छ।

सामाग्री खरिदको लागि स्वास्थ्य निर्देशनालय, धनकुटाले आव्हान गरेको बोलपत्रमा न्यून कबोल गर्नेलाई छनौट नगरी अनियमितता गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा एचडियूको उपकरण खरिद गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा १४ को उपदफा (४ख) बमोजिम पेस भएका कुनै पनि बोलपत्रहरू सारभूत रूपमा प्रभावग्राही नभएको अवस्थामा पुनः बोलपत्र प्रक्रिया थालनी गर्नुपर्नेमा नगरी स्वास्थ्य सेवा निर्देशनालय, धनकुटाले बोलपत्रसाथ संलग्न गरेको मापदण्ड पूरा गरेको नदेखिएको अवस्थामा पनि खरिद सम्झौता गरेर भ्रष्टाचार गरेको अभियोग पत्रमा दाबी गरेको छ।

अभियोग पत्रमा प्राविधिक दृष्टिकोणबाट प्रक्रिया पुरा नभएको बोलपत्रलाई प्रक्रिया पुरा भएको भनी मूल्याङ्कन समितिबाट गलत लिखत तयार गरी/गराई गलत लिखत प्रतिवेदनको आधारमा बोलपत्र मूल्याङ्कन समितिको बैठकले सार्वजनिक खरिद नियमावली, २०६३ को नियम ६२(२) बमोजिमको बोलपत्रमा रहेको भिन्नता खुलाउनु पर्ने अनिवार्य व्यवस्थाको प्रतिकूल सबैभन्दा बढी रकम कबोल गर्ने हस्पिटेक इन्टरप्राइज प्रालीद्वारा पेस भएको बोलपत्र स्वीकृत गर्ने निर्णय गरेर भ्रष्टाचार गरेको उल्लेख छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *