मेडिकल अंकोलोजिष्ट डा. अरुण शाहीलाई ४ लाख ३५ हजार रुपैयाँको फेलोसिप

के हो इजिएफआर म्युटेशन ?
– डा. अरुण शाही

काठमाडौँ, १६ चैत । मेडिकल अंकोलोजिष्ट डा. अरुण शाहीले फोक्सोको क्यान्सरको इजिएफआर म्युटेसन बारेमा थप अध्ययनका लागि  ४ लाख ५० हजार बराबरको  ग्राण्ट पाएका छन् ।

युरोपियन सोसाइटी अफ मेडिकल अंकोलोजी र नेशनल युनिभर्सिटी हस्पिटल सिंगापुरको संयुक्त आयोजनामा आगामी साता देखि न्याशनल क्यान्सर सेन्टर सिंगापुरमा हुने चार दिने अस्पतालमा आधारित प्रशिक्षणका लागि उनले ग्राण्ट पाएका हुन् ।

‘युरोपियन सोसाइटी अफ मेडिकल अंकोलोजीले हरेक बर्ष एशियाका ९ देखि १० देशका क्यान्सर रोग विशेषज्ञहरुलाई यस्तो प्रशिक्षण दिने गरेको छ । त्यसमा यसपटक नेपालबाट म छनौट भएको छु । यो प्रशिक्षणले नेपालमा बढ्दै गएको क्यान्सरका बिरामी र तिनको उपचारका लागि थप सिकाई हुने विश्वास लिएको छु,’ डा. शाहीले भने ।

उनले चार दिने प्रशिक्षणमा विश्वका नामुद क्यान्सर रोगका विशेषज्ञहरु सहभागि हुने र अस्पतालमै आधारित सिकाईको आदानप्रदान हुने समेत जानकारी दिए ।

के हो इजिएफआर ?

डा. शाहीका अनुसार इजिएफआर (इपिडिमल ग्रोथ फ्याक्टर रिसेप्टर) थाहा पाउनु अघि फोक्सोको क्यान्सरबारे जान्न जरुरी छ ।
फोक्सोको कोसिकाहरु अनियन्त्रित भएर विभाजन हुने अवस्थालाई हामी फोक्सोको क्यान्सर भन्दछौँ ।

सामान्य त,  फोक्सोको क्यान्सरलाई दुई प्रकारमा बाँढेर हेर्न सकिन्छ ।

स्मल सेल र नन् स्मल सेल । यता नन् स्मल तर्फ एडिनोकार्सिनोमा, स्क्वामाउस सेल कार्सिनोमा र लार्ज सेल कार्सिनोमा गरेर बाँढिएको छ ।

त्यस मध्यको एडिनोकार्सिनोमा फोक्सोको क्यान्सरमा बढी देखिने सब टाइपमा पर्दछ ।

विशेषगरी महिला र त्यसमा पनि चुरोट सेवन नगर्ने सानो उमेरको र एसियन क्षेत्रका महिलाहरु यसबाट बढी प्रभावित छन् । अनि यहि एडिनोकार्सिनो भित्र जाँदा त्यसभित्र म्युटेसन भएर थप सव टाइपका क्यान्सर सेलहरु देखिन्छन् ।

त्यसमध्येको सबैभन्दा बढी देखिने म्युटेशन हो इजीएफआर । फोक्सोको क्यान्सरमा इजिएफआर म्युटेशन हुने बिरामीको संख्या १० देखि १५ प्रतिशत हुने विभिन्न अध्ययनहरुले देखाएको छ ।

डा. शाही अगाडी थप्छन्, यसलाई अझ यसरी बुझौँ,

‘फोक्सोको क्यान्सरमा सबैभन्दा बढी एडिनो कार्सिनोमा त्यस भित्रको सबैभन्दा बढी चाहि इजिएफआर हो । तर अहिलेको जाँचमा एडिनोसेल कारर्सिनोमा, स्कोमासेल कार्सिनोमा पनि हामीले इजिएफआर जाँच गर्न पठाउन थाल्यौँ । किनभने कोही कोही स्कोमासेल कार्सिनोमा रिपोर्टमा आयो तर धूमपान कहिले पनि नगर्ने महिलाहरु छन् सानो उमेरका भए वा एसिया क्षेत्रका भए भने यो इजिएफआर चाहि हुन सक्ने भयो ।’

इजिएफआर भित्र पनि धेरै सब टाइटल हुन्छ । त्यसमध्ये चाहि १८, १९, २० र २१ जोन भनेर छुट्याइएको हुन्छ । त्यसमध्ये १८, १९ र २१ लाई औषधि दिएर पनि ठिक हुने पाइएको छ । तर जोन २० चाहि अलि कडा खालको मानिन्छ । यसलाई औषधि र किमो दिनु पर्ने गाइडलाइनहरुमा उल्लेख छ ।

अर्को कुरा इजिएफआर म्युटेसनको बिरामी फोक्सोको क्यान्सरमा सबैभन्दा सफल भएको देखिन्छ । यिनीहरुलाई केमो आवश्यक पर्दैन । औषधि दिन मिल्छ । तर कहिलेसम्म दिने ? कुन डोजमा दिने ? औषधिसंग केमो आवश्यक छ कि छैन भन्ने विस्तृत जान्न जरुरी छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *