गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध हुन चिकित्सकलाई स्वास्थ्यमन्त्री यादवको निर्देशन

 

जनकपुर, १६ चैत । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध हुन चिकित्सकलाई निर्देशन दिएका छन् ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको प्रादेशिक अस्पताल जनकपुरधाममा नव निर्मित बर्थिङ्ग सेन्टरको समुद्घाटन गर्दै स्वास्थ्यमन्त्री यादवले सो निर्देशन दिएका हुन् ।

कार्यक्रमा बोल्दै स्वास्थ्यमन्त्री यादवले भौतिक संरचनाको निर्माण र प्राविधिक व्यवस्थापनले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव नरहेको उल्लेख गरे ।

दक्ष जनशक्तिको प्रतिबद्धताले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव रहेको उल्लेख गर्दै उनले चिकित्सकहरुलाई प्रतिबद्धताका साथ सेवामा जुट्न निर्देशन दिए।

उनले भने – “सरकारले भौतिक पूर्वाधार र दक्ष जनशक्ति व्यवस्थापन गर्छ, गुणस्तरीय सेवाको लागि प्रतिबद्धता देखाउने जिम्मेवारी मिथिलावासीको हो । मिथिलावासीलाई प्रमाणित गरेर देखाउनु पर्दछ ।”

मधेश प्रदेश छिट्टै स्वास्थ्यको क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री यादवले जनकपुर , राजविराज र बिरगंजमा स्वास्थ्य क्षेत्रको ठूलो प्रोजेक्टमा काम भैरहेको उल्लेख्य गरे।

स्वास्थ्य लगायतको क्षेत्रमा अमेरिकी सहयोगको लागि अमेरिका सरकार र त्यहाँको जनतालाई धन्यवाद दिँदै उपप्रधानमन्त्री यादवले एमसिसी मार्फत भैरहेको विकास निर्माणको चर्चा समेत गरे ।

यु एस इण्डो पैसिफिक कमाण्ड र अमेरिकी दुतावासको सहयोगमा करिब ६ करोडको लागतमा निर्मित ७५ बेडको बर्थिङ्ग सेन्टरको शिलान्यास समेत २०१८ नोभेम्बर १९ उपप्रधानमन्त्री यादवले नै गरेका थिए ।

प्रतिष्ठानका उपकुलपति डा. अंकुर साहको अध्यक्षतामा भएको उक्त समारोहमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह, संघिय स्वास्थ्य सचिव रोशन पोखरेल, अमेरिकी राजदूत डिन आर थमसन, प्रदेशका स्वास्थ्य सचिव डा. प्रमोद यादव, प्रादेशिक अस्पतालका निर्देशक रामनरेश पण्डित सहितको सहभागिता रहेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *