उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवद्धारा कान्ति बाल अस्पतालको छड्के

उपचार सेवामा सुधार ल्याउन निर्देशन

काठमाडौँ, १४ चैत । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आज अपरान्ह कान्ति बाल अस्पतालको आकस्मिक अनुगमन गरेका छन् । कान्ति अस्पतालको सेवाका बारेमा गुनासो बढ्दै गएपछि आज अपरान्ह ५ बजे अस्पतालको अनुगमन गरेका हुन् ।

सो क्रममा उनले अस्पतालले विभिन्न बहानामा बिरामी बालबालिकाहरुलाई अयन्त्रका अस्पतालमा रिफर गर्ने गरेको बढी सुनिन थालेको भन्दै त्यसो नगर्न अस्पताल प्रशासनलाई सचेत गराए ।

‘कहिले आईसीयू बेड छैन, कहिले मेसिन बिग्रिएको छ, कहिले डाक्टर र नर्सको अभाव छ आदि इत्यादिका नाममा बिरामी बाहिर पठाउने चलन बढेको सुनिएको छ । यस्तो समस्या अस्पतालले तत्काल समाधान गरोस । रिफरल र सर्वसाधारणको समेत सहज पहुँच हुने यो कुनै पनि बहानाबाट आएका बिरामीलाई यो छैन त्यो छैन भनेर फर्काउन पाउँदैन, अभाव भए बेड, जनशक्ति र उपकरण थपेर पनि सेवा दिनै पर्ने भन्नुभयो,’ स्वास्थ्य मन्त्री यादवको स्वकीय सचिव महेश चौरसियाले भने ।

उनका अनुसार मन्त्री यादवले अस्पताल निर्देशकसहितको टोलीलाई  अस्पतालको फार्मेसीमा औषधि अभाव हुने र बाहिरबाट महंगो मूल्यमा औषधि किन्नु परेको गुनासो पनि आफूले सुनेको भन्दै त्यसमा सुधार गर्न समेत निर्देशकलाई ध्यानाकर्षण गराए ।

यस्तै सिटी स्क्यान, एमआरआई, एक्स–रे लगायतका कुनै पनि बिग्रेको मेसिन भए तत्काल मर्मत सम्भार गरेर सुचारु गर्न अस्पताललाई निर्देशन दिए ।

मन्त्री यादवले अहिले प्रविधिको जमानामा अस्पतालमा डिजिटल प्रविधि लागू गर्नु पर्ने भन्दै बिरामीले टिकट र रिपोर्ट लिन घण्टौँ लाइनमा बस्नु पर्ने अवस्थाको अन्त्य गर्न निर्देशन दिए ।

अनुगमन टोलीमा मन्त्री यादवसंगै सचिव डा रोशन पोखरेल, अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंह लगायत थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *