नेपाल नेत्र ज्योति संघले एक वर्षमा गर्‍यो ३३ लाखभन्दा बढीको आँखाको उपचार

काठमाडौँ, १३ चैत । नेपाल नेत्र ज्योति संघले एक वर्षमा आफ्नो मातहतका अस्पताल, उपचार केन्द्र र जिल्ला शाखामार्फत् ३३ लाखभन्दा बढीको आँखा जाँच तथा उपचार गरेको जनाएको छ ।

संघले ४६औँ नेत्रज्योति दिवसका अवसरमा पत्रकार सम्मेलन गरी सन् २०२३ मा आफ्नो मातहतका २८ अस्पताल, १५६ आँखा उपचार केन्द्र र ४३ जिल्ला शाखामार्फत् आठ लाख पाँच हजार विदेशीसहित ३३ लाख छ हजार २६ जनाको स्वास्थ्योपचार गरेको स्पष्ट गरेको छ ।

संघका अध्यक्ष प्राडा चेतराज पन्तले सङ्घीय र प्रदेश सरकार, स्थानीय तह, स्वदेशी तथा विदेशी दातृ निकाय एवं समाजसेवीसमेतको सहयोगमा गरिब तथा असहायलाई प्राथमिकता दिँदै दुई लाख ६५ हजार ८८५ जनाको शल्यक्रिया गरेको जानकारी दिए ।

पहुँच र पैसाको अभावमा कुनै पनि नेपाली आँखा रोगको उपचार गर्नबाट वञ्चित हुनु नपर्ने उल्लेख गर्दै अध्यक्ष पन्तले भने, “सहयोग र सहकार्यको अवधारणाबमोजिम हाम्रो संयन्त्र देशभर क्रियाशील छ, चेतनाको कमीले अझै पनि केही मानिस अस्पताल आउन डराइरहेका छन्, तिनलाई अस्पतालसम्म ल्याउने वातावरण निर्माण गर्न सञ्चारकर्मी मित्रहरूसँग अनुरोध गर्दछु ।”

संघका महासचिव भरतबहादुर चन्दले स्थापनाकालदेखि हालसम्म ५१ लाख ३३ हजार ६५९ जनाको शल्यक्रिया उपचारसहित चार करोड ३६ लाख जना आँखाका बिरामीलाई स्वास्थ्य सेवा दिन सफल भएको बताए । उनले आँखाको उपचारमा पहिले पहिले भारतीय नागरिकको बर्चस्व हुने गरेको भए पनि अहिले नेपालीहरु नै बढी हुन थालेको बताए ।

संघका कार्यकारी निर्देशक शैलेशकुमार मिश्रले नेपाल नेत्रज्योति संघ विश्वकै सबैभन्दा ठूलो सञ्जाल भएको आँखा उपचार केन्द्रको रुपमा परिचित छ भन्दै अब इएनटी सेवा समेत सुरु गर्न थालेको जानकारी दिए ।

मिश्रले निशुल्क स्वास्थ्य शिविरमार्फत स्वदेशमा रहेका नागरिक मात्रै नभई विदेशमा रहेका नेपाली नागरिकलाई समेत सेवा दिने गरिएको बताए ।’ केही समय अघि बंगलादेशमा शिविर सञ्चालन गरेका थियौँ । अब बैशाखको अन्तिम हप्ता रित ओमानमा गर्दैछौँ,’ उनले अगाडी थपे ‘त्यसपछि मलेसिया, युएई, कुवेत लगायतका देशमा पनि शिविरहरु हुँदैछन् ।’

उनले नेपाललाई आँखा उपचार सेवामार्फत मेडिकल टुरिजमको ढोका खोल्न मद्धत मिल्ने भन्दै सरकारसंग छलफल गरिरहेको समेत बताए ।

यसैबीच संघले दिवसको अवसर पारेर आफूलाई सहयोग गर्दै आएका सुदूरपश्चिम प्रदेश सरकार, भरतपुर महानगरपालिका, लहान नगरपालिका, गुर्भाकोट नगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका , मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा पुरुषोत्तम जोडी, एनएबीपीलाई सम्मान गर्ने जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *