चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले बढायो नाइट डिउटी गर्ने नर्सको खाजा भत्ता

काठमाडौँ, १३ चैत । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले आफू अन्तरगर्तका अस्पतालहरुमा काम गर्ने नर्सको नाइट डिउटी भत्ता बढाएको छ ।

न्याम्सको सोमबार बसेको कार्यकारी परिषद्को बैठकले नाइट डिउटीमा खटिने नर्सलाई बेसिक तलवमा पर्ने प्रतिदिन रकमको ५० प्रतिशत खाजा भत्ताको रुपमा दिने निर्णय गरेको हो ।

यसअघि न्याम्सले आवासीय चिकित्सकको नाइट भत्ता बढाएर १००० रुपैयाँ पुर्‍याएको थियो ।

‘रात्रीकालिन डिउटी अफ्टेरो पनि हो । पहिले १५० रुपैयाँ नाइट डिउटी भत्ता थियो । बीचमा खारेज समेत भयो । खासमा यो समयानुकुल परिमार्जन पनि भएको थिएन । नर्सिङस्टाफको यसमा परिमार्जन गर्नु भन्ने गुनासो पनि थियो । सोही अनुरुप हिजो बसेको बैठकले बेसिक स्यालरीको आधा दिनको तलव खाजा भत्ताको रुपमा दिने निर्णय गरेको हो,’ परिषद्का सदस्य समेत रहेका वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले भने ।

उनले नाइट डिउटी गर्ने नर्सहरुका लागि नाइट अफ पनि पाउने र खाजा भत्ता भनेर आधा दिनको बेसिक तलव बराबर दिईने बताए । सो भत्ता अस्पतालले आन्तरिक स्रोतबाट व्यहोर्ने बताइएको छ ।

‘यो संसारभरको नियम हो । नाइट डिउटीपछि नाइट अफ र स्पेशल भत्ता जहाँ पनि हुन्छ । हामीकहाँ पनि पहिले थियो । तर समयानुकुल परिमार्जन भएन, बरु बीचमा सबै भत्ता खारेजीमा पर्‍यो । अहिले न्याम्सले सो निर्णय गरेको छ । यसले रात्रीकालिन डिउटी गर्ने नर्सिङस्टाफलाई पक्कै पनि खुशी तुल्याएको हुनुपर्छ,’ डा.  पौडेलले भने ।

यो निर्णयसंगै अब वीरका नर्सहरुले नाइट डिउटी गरेवापत प्रतिनाइट ५५० को आसपासमा रकम पाउने छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *