सरकारी स्वास्थ्य संस्थामा निशुल्क वितरण हुने ९८ प्रकारका औषधिको उत्पादन र आयातको विवरण खोज्दै औषधि व्यवस्था विभाग

काठमाडौँ, १२ चैत । औषधि व्यवस्था विभागले सरकारी स्वास्थ्य संस्थामा निशुल्क वितरण हुँदै आएको ९८ प्रकारका अत्यावश्यकीय औषधिहरु कति नेपालमा उत्पादन हुन्छन र कति आयात गरिन्छन् भनेर अध्ययन थाल्ने भएको छ ।

विभागले यहि अध्ययनका लागि भन्दै औषधि उत्पादक तथा आयातकर्तासंग पछिल्लो तीन वर्षको विवरण माग समेत गरेको छ ।

‘हामीले सम्वन्धित औषधिका उत्पादक तथा आयातकर्तालाई आर्थिक वर्ष २०७७/७८, २०७८/७९ र २०७९/ ८० को उत्पादन तथा आयातको बार्षिक विवरण पेश गर्न भनेका छौँ । आगामी ६ बैशाखसम्म विवरण अनिवार्य रुपमा बुझाउन भनेका छौँ,’ विभागका महानिर्देशक नारायण ढकालले भने ।

सरकारले हरेक वर्ष प्रस्तुत गर्ने नीति तथा कार्यक्रम तथा बजेटमा स्वदेशी औषधि उद्योगलाई प्रवर्द्धन गर्ने नीति लिएको बताउँदै आउको छ । तर स्वदेशी उत्पादकहरुले भने घोषित नीतिहरुको कार्यान्वयन हुन नसकेको बताउँदै आएका छन् ।

‘निजी क्षेत्रबाट खोलिएका उद्योगसंंगै सरकारको आफ्नै उद्योग पनि छ । यी उद्योगहरुले सरकारले वितरण गर्दै आएको ९८ प्रकारका अत्यावश्यक औषधिहरु कति उत्पादन गर्दा रहेछन् ? कति बाहिरबाट आयात हुँदो रहेछ ? यी कुराहरुको जानकारी हुन्छ । यो एउटा अध्ययन नै हो । यसले आगामी दिनमा सरकारले लिने नीतिमा समेत मार्गदर्शन हुनसक्छ । त्यसैले यो विवरण माग गरेका हौँ,’ ढकालले थप स्पष्ट पार्ने प्रयास गरे ।

यसअघि नेपाल औषधि उत्पादक संघले गरेको फार्मा एक्स्पोमा सहभागी सरकारी प्रतिनिधिहरुले स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न निशुल्क वितरण हुने औषधिहरु मात्रै भए पनि स्वदेशी उद्योगका उत्पादन लिन सकिने बताएका थिए ।

विभागको सूचना सो घोषणाको कार्यान्वयन हुने संकेत हो कि ? त्यो भने हेर्न बाँकी छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *