दादुरा-रुबेला खोप अभियान सफल, ९६ प्रतिशत लक्षित बालबालिकाले लगाए खोप

काठमाडौँ, ७ चैत । गत १३ फागुन देखि देशव्यापी रुपमा सुरु भएको राष्ट्रिय दादुरा – रुबेला खोप अभियान सफल भएको छ । अभियान सम्पन्न हुन १ दिन बाँकी छँदा मंगलबारसम्म ५६ लाख ४३ हार ९१२ जना बालबालिका अर्थात ९६ प्रतिशत बालबालिकाले खोप लगााइसकेका छन् ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले दादुरा रुबेला खोप अभियान सफल भएको बताए । ‘हिजो (६ चैत)सम्मको विवरणमा ९६ प्रतिशत बालबालिकाले खोप लिईसकेको भन्ने विवरण आएको छ । हामीसंग अझै एक दिन बाँकी छ र ९६ प्रतिशत भनेको नै ठूलो सफलता हो,’ उनले भने ।

उनका अनुसार यसपटकको अभियानमा कुल ५७ लाख ४२ हजार ९९३ जना बालबालिकालाई खोप लगाउने लक्ष्य थियो ।

‘हामीले यसपटक दुई खालको उमेर समूहका लागि खोप दिएका छौँ । भारतसंग सीमा जोडिएका दादुरा रुवेलाको अति संक्रमित २१ जिल्ला र काठमडौँ उपत्यकाका ३ गरी कुल २४ जिल्लामा ९ महिना देखि १५ बर्ष उमेर समूहका बालबालिकालाई खोप दिने योजना थियो । यस्तै बाँकी ५३ जिल्लामा ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकालाई यो खोप दिइएको थियो,’ उनले भने ।

विभागले यो अभियानमा ९ महिना देखि ५ वर्ष मुनिका २१ लाख ३० हजार ६८३ जना बालबालिका र ५ बर्ष देखि १५ बर्ष मुनिका ३६ लाख १२ हजार ३१० जना बालबालिका गरी कुल ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको थियो ।

डा गौतमले स्वतन्त्र अनुगमनकर्ताहरुद्धारा पहुँच कम भएका क्षेत्र लगायत ६९ जिल्ला र २ हजार ४३९ वटा समुदायमा रेपिड कन्भिनियन्ट मोनिटरिङ्ग गरिएको र यसमा ९१.४४ प्रतिशतले खोप लिएको पाइएको बताए ।

सरकारले सन् २०१८ मा दादुरा रुवेलालाई नियन्त्रण गरे पनि निवारण गर्न सकेको छैन । सन् २०२६ सम्म दादुरा रुवेला निवारण गर्ने लक्ष्यका साथ यो खोप अभियान सञ्चालन गरिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *