मुटु उपचारमा पनि गति लिँदै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र

काठमाडौँ, ६ चैत । भक्तपुरमा रहेको  शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भन्ने बित्तिकै धेरैको बुझाईँ मिर्गौला प्रत्यारोपण तथा उपचार गर्ने अस्पताल भन्ने छ । पछिल्लो समय कलेजो प्रत्यारोपणले गति लिन थालेपछि मिर्गौला र कलेजोको प्रत्यारोपण गर्ने अस्पताल होइछ भन्न थालेका छन् ।

तर, बास्तविकता के हो भने त्यहाँ मिर्गौला र कलेजो मात्रै होइन मुटुको समेत उपचार हुँदै आएको छ । उपचार मात्रै होइन भविस्यमा मुटु प्रत्यारोपण गर्ने योजनाका साथ प्रत्यारोपण केन्द्र अघि बढेको छ ।

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार विगत ४ वर्ष देखि त्यहाँ मुटुरोग सम्बन्धि विशेषज्ञ चिकित्सकीय सेवा नियमित रुपमा सञ्चालनमा छ । मुटुरोग उपचार अन्तर्गत प्रत्येक महिना ७०० जना भन्दा बढीले मुटुरोग सम्बन्धी ओ पि डि विशेषज्ञ सेवा, ३५० जना भन्दा बढीले इ सि जि सेवा तथा २५० जना भन्दा बढीले इकोकार्डियोग्राफी सेवा लिने गरेका छन् । केन्द्रले मुटुरोगको उपचारका लागि आवश्यक उपकरण र दक्ष चिकित्सकको व्यवस्था गरेको समेत निर्देशक डा. श्रेष्ठले बताए ।

मुटु उपचारका अरु सेवा के के ?

केन्द्रका मुटुरोग विशेषज्ञ डा. प्रवेश न्यौपानेले हरेक हप्ताको आइतवार, मंगलवार र बिहिबार क्याथल्याब सम्बन्धि एन्जीओग्राफी, एन्जीओप्लास्टी, पेशमेकर लगायतका सेवा उपलब्ध हुने गरेको र इर्मेजेन्सी एन्जीयोप्लास्टी सेवा भने कार्यालय समय भित्र हुने गरेको बताए ।

क्याथ ल्याबको सहायताले मुटुको नसा बन्दा भए नभएको थाहा पाउने “एन्जीयोग्राफी” का साथै हृदयघात भएका वा मुटुको नशा साँघुरो भएका विरामीको नशा खुलाउन “एन्जीयोप्लास्टी” गरिन्छ ।

अर्का मुुटुरोग विशेषज्ञ डा. किसनकुमार कुशवाहले केन्द्रमा हालसम्म ५०३ जनाको क्याथ ल्याब पद्दतीबाट उपचार भएको छ बताए । उनले केन्द्रबाट हालसम्म १३ हजार ३२ जनाले इको र १६ हजार ९९९ जनाले इसीजी सेवा लिईसकेको जानकारी दिए ।

डा. कुशवाहले प्रत्येक सोमबार, बुधवार र शुक्रवार मुटु रोग सम्बन्धि बहिरंग सेवा हुने गरेको र अन्य दिनमा मुटुरोग सम्बन्धी पद्दतीहरुको सेवा दिने गरेको जानकारी दिए । उनले गत महिना अर्थात फागुनमा मात्रै ६३९ जनाले मुटु उपचार अन्तरगर्त ओ पि डि सेवा लिएको, यस्तै ३४६ इसीजी र २८७ इको भएको बताए ।

त्यसो त केन्द्रमा मुटु रोग लागेका विपन्न नागरिकले उपचार गराउँदा राज्यले उपलब्ध गराउने एक लाख रुपैयाँ बराबरको सेवा सुविधा उपलब्ध हुनुका साथै जेष्ठ नागरिकको मुटुको एन्जीयोप्लास्टी उपचार शुल्क निःशुल्क हुने गरेको छ ।

निर्देशक डा. श्रेष्ठले मिर्गौला, कलेजो संगै मुटु उपचारका लागि समेत केन्द्रले योजनावद्ध रुपमा क्षमता विस्तार गर्दै गइरहेको भन्दै अस्पतालको स्थान र भौतिक पूर्वाधार भने साँघुरो भएको बताए । ‘अहिलेसम्म केन्द्रको आफ्नै जमिन छैन, भवन छैन त्यसबा बाबजुत हामीले सबैभन्दा बढी मिर्गौला र कलेजो प्रत्यारोपण गरेका छौँ । यसको आफ्नै जग्गा र कम्तिमा ५०० बेड क्षमताको आफ्नै भवन हुने हो भने थप सेवाका लागि सहज हुने थियो,’ उनले भने ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण  केन्द्र १२ बर्ष अघि स्थापना भएको हो । यस अवधीमा केन्द्रले १ हजार २१६ जनाको मिर्गौला प्रत्यारोपण र २२ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *