सांसद मञ्जु अन्सारीको हृदयघातबाट निधन

एक वर्ष अघि अर्की सांसद सहनाजको हृदयघातबाट निधन भएपछि मञ्जु सोही रिक्त सिटमा सांसद बनेकी थिईन

काठमाडौँ, ४ चैत । प्रतिनिधि सभा सदस्य एवं जनता समाजवादी पार्टीकी नेतृ मञ्जु अन्सारीको निधन भएको छ । विहान ८:३० बजे उनको निधन भएको हो ।

आज विहान काठमाडौँ कात्यायनिस्थित निवासमै हृदयघात भएपछि परिवारका सदस्यहरुलाई उपचारका लागि सिभिल अस्पताल पुर्‍याएका थिए ।

‘सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको छ । अहिले उहाँको शव अस्पतालमै राखिएको छ,’ उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवका प्रेस सहयोगी महेश चौरसियाले भने ।

स्वर्गीय अन्सारी ठ्याक्कै एक वर्ष अघि जसपाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक तर्फबाट सिफारिस भएकी थिईन ।

२ चैत २०७९ मा पार्टीले सिफारिस गरेपछि निर्वाचन आयोगले ६ चैतमा उनलाई सांसद बनाउने निर्णय गरेको थियो । १९ चैत २०७९ मा सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको सपथ गराएका थिए ।

प्रतिनिधिसभा सदस्य पदमा जसपाका तर्फबाट समानुपातिक सांसद बनेकी सहनाज रहमानको १३ फागुनमा निधन भएपछि मञ्जुलाई पार्टीले सोही कोटामा सांसद सिफारिस गरेको हो । रहमानको पनि गत वर्ष भक्तपुरको घ्याम्पेडाँडामा वनभोज बेला हृदयाघात भई निधन भएको थियो ।

झण्डै एक वर्षको अन्तरालमा जसपाले एउटै क्लस्टरबाट दुई जना सांसदलाई नसर्ने रोग (हृदयघातको समस्या) बाट गुमाएको छ ।

नसर्ने रोगको प्रकोपमा आफ्ना पार्टीका दुई जना सांसद परेका बेला अध्यक्ष उपेन्द्र यादव उपप्रधान सहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका छन् । अबका दिनमा उनले नसर्ने रोगको प्रकोप नियन्त्रणका लागि थप कदम चाल्न पर्ने देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *