नेपाल मेडिसिटी अस्पतालमा भयो २३ जनाको मिर्गौला प्रत्यारोपण

मिर्गौला प्रत्यारोपणका लागि मेडिसिटीमा लाग्ने शुल्क १५ लाख रुपैयाँ !

काठमाडौँ, ३० फागुन । नेपाल मेडिसिटी अस्पतालमा पछिल्लो एक वर्षमा २३ जना बिरामीको मिर्गौला प्रत्यारोपण भएको छ । अस्पतालले गतवर्ष माघ देखि सुरु गरेको मिर्गौला प्रत्यारोपण सेवामा १७ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिको प्रत्यारोपण गरिएको जनाएको छ ।

‘बुटवल, पोखरा, काठमाडौं, रामेछाप, इलाम, दाङ, अर्घाखाँची, हेटौडा जस्ता ठाउँहरुबाट प्रत्यारोपणका लागि अस्पतालमा आउने गरेका छन् । प्रत्यारोपण भइसकेका बिरामीहरुमा आफ्नै आमाले छोरालाई, श्रीमानले श्रीमतीलाई र श्रीमतीले श्रीमान, भिनाजुले सालीलाई, सासूले ज्वाईंलाई र सानोबुबाले छोरीलाई मिर्गौला दिएका छन् । मिर्गौला दान गर्नेहरुमा १८ वर्षको दाता देखि ६५ वर्ष सम्मका दाताहरु रहेका छन्,’ अस्पतालका नेफ्रोलोजी तथा मिर्गौला प्रत्यारोपण विभाग प्रमुख डा. प्रकाश पौडेलले भने ।

उनका अनुसार सो अस्पतालमा पनि मिर्गौला दान गर्नेमा महिला बढि रहेका छन् । दान गर्नेमा १६ जना महिला र ७ जना पुरुष रहेका छन् भने मिर्गौला ग्रहण गर्नेमा १६ जना पुरुष र ७ जना महिला रहेका छन् ।

अस्पतालमा प्रत्यारोपण गर्न आएका अधिकाशं बिरामीहरुको मिर्गौला बिग्रनुको प्रमुख कारण उच्च रक्तचाप र मधुमेह रहेको डा. पौडेलले बताए ।

“२३ जनामा अधिकाशं उच्च रक्तचाप र मधुमेहकै कारण मिर्गौला  बिग्रेर उपचारका लागि आएका थिए । अर्को कारण भनेको ग्लोमेरुलो नेफ्राइटीस्, शरीरमा प्रोटिनको मात्रा बढि भएर लिकेज हुन थालेपछि मिर्गौला बिग्रेर जान्छ,’ डा पौडेलले भने ।

यति मात्र नभई प्रत्यारोपणका लागि विदेशबाट काम गरेर फर्केका व्यक्तिहरुको संख्या पनि बढेको छ । विशेषगरी खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा यो समस्या देखिएको छ ।

मेडिसिटीमा प्रत्यारोपण गराएकाहरु मध्ये ५ जना कतार, युएईबाट उपचारका लागि फर्केर आएका व्यक्तिहरु हुन् ।

निकै गर्मीमा काम गर्ने तथा पानीको कमीका कारण खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा मिर्गौलाको समस्या बढि देखिएको डा पौडेलले बताए ।

प्रत्यारोपण गर्न सरकारले पाँच लाखसम्मको उपचार खर्च प्रदान गर्ने गरेको छ । विभिन्न उपचार खर्च जोड्दा बिरामीकोे कूल खर्च ७ देखि ८ लाख पर्दछ । तर निकै लामो समयसम्म कुर्नुपर्ने अवस्था रहिआएको छ । नेपाल मडिसिटी अस्पतालमा प्रत्यारोपण देखि सम्पूर्ण उपचार खर्च १५ लाखसम्ममा हुने मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले बताए ।

“यहाँ ल्याप्रोस्कोपी विधिबाट उपचार गरिन्छ, जसका कारण मिर्गौला दाता तथा ग्रहणकर्तालाई दुखाई पनि कम हुन्छ भने बिरामी चाँडै निको भएर घर जान पाउँछन्,” डा. काफ्लेले भने ।

मिर्गौला दाता ३ देखि ४ दिनमा र ग्रहणकर्ता ६ देखि ७ दिनमा डिस्चार्ज हुने गरेका छन् ।

मिर्गौला प्रत्यारोपण गर्नु अगाडी धेरै थरिका प्रयोगशाला परीक्षण गर्नुपर्ने हुन्छ । एउटै परिवारमा पनि मिर्गौला दिन नमिल्ने हुन सक्छ । त्यसैले अस्पतालमा पिएर किड्नी एक्सचेन्जको पनि सुविधा रहेको डा पौडेल बताउँछन् । उनले हालसम्म १५० भन्दा बढि बिरामीहरु प्रत्यारोपणका लागि अस्पताल आएका मध्ये मात्र २३ जनाको सफल प्रत्यारोपण र ९ जना प्रत्यारोपणका लागि कुरिरहेको जानकारी दिए ।

पछिल्लो समय नेपालमा मिर्गौला रोगको समस्या बढ्दो क्रममा देखिएको छ ।

नेपालमा कूल जनसंख्याको १० प्रतिशत अर्थात करीब ३० लाख मानिसमा कुनै न कुनै रुपमा मिर्गौलाको समस्या रहेको विभिन्न अध्ययन अनुसन्धानहरुले देखाएको छ । यीमध्ये तीन लाख मानिसको मिर्गौलामा दीर्घरोग रहेको र हरेक वर्ष नेपालमा ३ हजार नयाँ बिरामीहरु डायलासिसका लागि थपिने गरेको बताइन्छ ।

दुबै मिर्गौला खराब भइसकेपछि गरिने डायलासिस पनि जिन्दगीभर गनुपर्ने हुन्छ र यसको उपयुक्त उपचार भनेकै मिर्गौला प्रत्यारोपणलाई मानिन्छ । तर नेपालमा प्रत्यारोपणका लागि पनि ठूलो रकम खर्चिनु पर्ने र लामो समय कुर्नुपर्ने बाध्यता रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *