राष्ट्रिय ट्रमा सेन्टरले बनाउने भनेको पुनर्स्थापना केन्द्रका लागि गोदावरीले दियो १०० रोपनी जग्गा

काठमाडौँ, २९ फागुन । राष्ट्रिय ट्रमा सेन्टरले बनाउने भनेको पुनर्स्थापना केन्द्रका लागि गोदावरी नगरपालिकाले १०० रोपनी जग्गा उपलव्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको गत ८ पुसमा बसेको कार्यपालिका बैठकले ट्रमा सेन्टरका लागि आवश्यक करीव १०० रोपनी जग्गा उपलव्ध गराउने निर्णय गरेको हो ।

नगरपालिकाको वडा नं १० र ६ को सिमामा पर्ने झ्यालुङटार सामुदायिक बन र फैडोल सामुदायिक बन क्षेत्र भित्र बन्द अवस्थामा रहेको पुरानो ढुंगा खानी क्षेत्रमा पुनर्स्थापनाका लागि जग्गा उपलव्ध भएको ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा बद्रि रिजालले जानकारी दिए ।

‘चोटपटक लागेका, नसा च्यापिएका, ट्युमरका सर्जरी गरेका लगायत थुप्रै खालका बिरामीलाई रिहाविटेसन चाहिन्छ । ट्रमा केशलाई मात्रै हेर्ने हो भने झण्डै ७० प्रतिशतलाई फिजियोथेरापी गर्न पुनर्स्थापना केन्द्र (रिहाव सेन्टर)मा बस्नै पर्ने हुन्छ । तर, सरकारी तवरमा केन्द्रीय तहको यस्तो रिहाव सेन्टर छैन । त्यसैले हामीले केही समय देखि यसमा जोडबल गरेका थियौँ । गोदावरी नगरपालिकाले करीव १०० रोपनी जग्गा हामीलाई उपलव्ध गराउने निर्णय गरेको छ । तर जग्गा प्राप्तिका केही प्रक्रियाहरु अझ बाँकी छन्,’ प्रमेसु डा. रिजालले भने ।

गोदावरी नगरपालिकाले जग्गा उपलव्ध गराउने निर्णय गरे पनि जिल्ला मालपोत कार्यालय, बन तथा भू संरक्षण विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बन तथा बातावरण मन्त्रालय आदिबाट स्विकृत भएपछि मन्त्रिपरिषद् बैठकले निर्णय गर्नुपर्ने हुन्छ ।

‘अहिले हामी यसैमा लागि रहेका छौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई नगरपालिकाले जग्गा उपलव्ध गराउने निर्णय सहितको जानकारी पत्र पठाइसकेका छौँ । यता मालपोत कार्यालय, बन मन्त्रालयतर्फ पनि यसबारेमा जानकारी गराउने क्रम सुरु भएको छ ।हामी आसा गरेका छौँ । आम जनताको स्वास्थ्य सेवा सहज रुपमा उपलव्ध गराउने हाम्रो योजनालाई सरकारले प्राथमिकताका साथ अघि बढाउने छ,’ डा. रिजालले थपे ।

त्यसो त गत वर्ष ८२६ जना र यो बर्ष माघ महिनासम्म ५६५ जनालाई रिहाव पठाइसकिएको छ ।

‘अहिलेसम्म सरकारी पुनर्स्थापना केन्द्र छैन । यस्ता बिरामीहरुलाई दुई चार महिना सम्म पनि बस्नु पर्न सक्छ । निजी क्षेत्रबाट सञ्चालित यस्ता रिहावमा शुल्कको हिसावले सबैको पहुँचमा पनि हुँदेन । त्यसैले सरकारले यस तर्फ ध्यान दिनु पर्छ,’ डा. रिजालले भने ।

मंगलबार स्वास्थ्य पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा उनले ट्रमा सेन्टरको नेतृत्व गर्न आइसकेपछि उपचार सेवामा सुधार आएको भन्दै सेन्टरलाई एकेडेमिक र रिसर्चको कोणबाट पनि उत्कृष्ठ बनाउन लागेको बताए ।

उनले आफू आइसकेपछि एचडीयु र मोडुलर ओटी थप्ने काम देखि सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास गर्ने योजना अघि सारेको समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *