बिराटमा उपचारका लागि जाने क्यान्सरका बिरामीलाई यति एयरलाइन्समा टिकट नि:शुल्क

काठमाडौँ, २८ फागुन । बिराटनगरस्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटल (बिराट क्यान्सर इन्स्टिच्युट) मा उपचारका लागि जाने क्यान्सरका बिरामीहरुले यति एयरलाइन्स प्रयोग गरे पैसा नलाग्ने भएको छ ।

यति एयरलाइन्सले सो अस्पतालमा उपचारका लागि क्यान्सरका बिरामीलाई आउने र उपचार पछि फर्किने समेतको हवाई टिकट नि:शुल्क गरेको छ ।  निःशुल्क टिकट लिनका लागि बिरामीले आवश्यक कागजातसहित बिराट क्यान्सर इन्स्टिट्युटमा सम्पर्क गर्नुपर्नेछ।

अस्पतालका विशेषज्ञ चिकित्सकहरूले कागजातहरूका आधारमा क्यान्सरको बिरामी भएको प्रमाणपत्ररपरिचयपत्र उपलब्ध गराउने र उपचारका लागि आउनुपूर्व टिकट बुक गर्न मिल्ने व्यवस्था मिलाइएको इन्स्टिच्युटका उपाध्यक्ष डा. निकिता कार्कीले बताए।

डा.  कार्कीले थप जानकारी दिँदै भने ‘बिरामीहरूले डाक्टरको अप्वाइन्टमेन्ट लिदाँ टिकट बुकिङका लागि अस्पतालको नम्बर ९८५२०४४२६६ मा सिधै सम्पर्क गर्न सक्नुहुनेछ।’

त्यस्तै, यात्रुले विमानस्थलमा चेक–इन गर्दा यति एयरलाइन्सको काउन्टरमा अस्पतालद्वारा क्यान्सरको बिरामी प्रमाणित गरिएको परिचयपत्र पेश गर्नुपर्ने एयरलाइन्सले जानकारी दिएको छ।

डा. कार्कीले विश्व क्यान्सर दिवसको अवसरमा गत ४ फेब्रअरीमा विराट क्यान्सर इन्स्टिच्युटको आयोजनामा भएको ‘आशा’ – क्लोज द केयर ग्याप अर्थात क्यान्सर उपचारको पहुँचको दुरीलाई बन्द गरौँ भन्ने नाराका साथ जो कार्यक्रम गरिएको थियो त्यसलाई व्यवहारिकतामा परिवर्तन गर्न हवाइ टिकट निशुल्क कार्यक्रम सुरु गरिएको बताए ।

‘हामीले क्यान्सर रोग उपचारको पहुँचको दुरीलाई घटाउँदै जाने सङ्कल्पसहित क्यान्सर बिरामीको उपचार सुरु गरेका हौँ । भारतमा पनि क्यान्सरका बिरामीहरुलाई हवाई टिकट, रेल टिकटमा निशुल्क तथा सहुलियत दिने गरेको छ । हामीले पनि यतिसंग सहकार्यको प्रस्ताव राख्यौँ । उहाँहरुले हाम्रो प्रस्ताव मन पराउनु भयो र यो कार्यान्वयनमा ल्याउन सफल भयौँ,’ डा कार्कीले भने ।

उनले यो योजनामा देशभरका बिरामीहरु सहभागि हुन सक्ने बताए । ‘हामीले काठमाडौँका बिरामी मात्रै होइन । कनेक्टिङ फ्लाइटबाट अर्थात पोखराको बिरामीले पोखरा काठमाडौँ र काठमाडाँै बिराटनगरको टिकट निशुल्क प्राप्त गर्ने भयो । यस्तै देशका अरु ठाउँबाट पनि आउने बिरामीले यसैगरी कनेक्टिङ फ्लाइटबाट आउन सक्ने हुनु भयो,’ डा. कार्कीले स्पष्ट पारे ।

यता एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याइएको बताएको छ । एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले भने, ‘यो सुविधाले क्यान्सरसँग लडिरहेका हरेक बिरामीलाई थप उत्प्रेरणा मिल्ने विश्वास लिएका छौं । निःशुल्क हवाई टिकट पूर्वमा मात्र नभई नेपालभरिकै क्यान्सरका बिरामीहरूले उपभोग गर्न पाउनुहुनेछ। बिराट क्यान्सर इन्स्टिच्युटसँगको सहकार्यमा यो योजना ल्याएका हौं।’

नेपालभरकै क्यान्सर बिरामीहरूलाई हवाई टिकट निःशुल्क उपलब्ध गराउने गरी यति एयरलाइन्स र बिराट क्यान्सर इन्स्टिच्युटबीच फागुन १७ गते सम्झौता–पत्रमा हस्ताक्षर भएको हो। यो योजना आज (२८ फागुन) बाट कार्यान्वयनमा आएको एयरलाइन्सले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *