स्वास्थ्य बीमाका बिरामीले अब निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्दा २० प्रतिशत रकम आफैले तिर्नुपर्ने

काठमाडौँ, २८ फागुन । अब स्वास्थ्य बीमामा सदस्यले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएका निजी तथा सामुदायिक अस्पतालहरुमा उपचार गर्न गए २० प्रतिशत सह भुक्तानी (को पेमेन्ट) तिर्नु पर्ने भएको छ । गत २४ फागुनमा बसेको बोर्ड बैठकले सरकारीमा १० प्रतिशत र निजी तथा सामुदायिक अस्पतालमा उपचार गराउनेले २० प्रतिशत सह भुक्तानी गर्ने निर्णय गरेको हो ।

यसअघि गत २७ मंसिरमा बसेको बैठकले स्वास्थ्य बीमामा आवद्ध भएका सदस्यहरुले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएका अस्पतालहरुमा उपचार गराउँदा १० प्रतिशत सह भुक्तानी (को पेमेन्ट)गर्नु निर्णय गरेको थियो । त्यसको कार्यान्वयन १ माघ देखि भएको थियो ।

‘गत २४ फागुनको बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ । त्यसमध्य स्वास्थ्य बीमा कार्यक्रम लागू भएका निजी तथा सामुदायिक अस्पतालमा उपचार गराउन जाने बिमितहरुले १० प्रतिशत को पेमेन्ट गर्ने गरेकोमा अब देखि २० प्रतिशत तिर्नु पर्ने हुन्छ । सरकारी अस्पतालमा भने १० प्रतिशतलाई नै निरन्तरता दिइएको छ,’ बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले भने ।

यता बोर्डका अध्यक्ष डा गुणराज लोहनीले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गर्न निजी तथा सामुदायिक अस्पतालहरुमा २० प्रतिशत को पेमेन्टको व्यवस्था गर्ने निर्णय भएको बताए । बोर्डले यो व्यवस्था कहिले देखि सञ्चालनमा आउने भनेर स्पष्ट गरिसकेको छैन ।

‘हाम्रो सफ्टवेरमा केही प्राविधिक कुरा पनि मिलाउनु पर्ने हुन्छ । त्यो सम्पन्न भएपछि यो नयाँ व्यवस्था कार्यान्वयनमा आउँछ,’ कार्यकारी निर्देशक बसौलालले भने ।

स्वास्थ्य बीमा कार्यक्रममा प्रति परिवार (५ जना सदस्य)ले बार्षिक ३५०० रुपैयाँ तिर्दा बार्षिक १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने व्यवस्था छ । त्यसमा अहिलेसम्म १० प्रतिशत सहभुक्तानीको रुपमा बिरामी पक्षले तिर्नुपर्ने व्यवस्था छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “स्वास्थ्य बीमाका बिरामीले अब निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्दा २० प्रतिशत रकम आफैले तिर्नुपर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *