‘नवौँ नेपाल फर्मा एक्स्पो -२०२४’ सम्पन्न

आयोजक भन्छन् - 'प्रदर्शक र अवलोकनकर्ता सन्तुष्ट भए, फर्मा एक्स्पो सफल भयो'

काठमाडौँ, २७ फागुन । चितवनको भरतपुरमा तीन दिन सञ्चालित ‘नवौँ नेपाल फर्मा एक्स्पो -२०२४’ सकिएको छ । एक्स्पोको आयोजक नेपाल औषधि उत्पादक संघ (एपोन)ले नवौँ संस्करण सफलतापूर्वक सम्पन्न भएको बताएको छ ।

एपोनका अध्यक्ष महेश प्रधानले नवौं संस्करणको एक्स्पो अत्यन्तै सफल भएको आफूहरुले महसुस गरेको बताए । प्रदर्शनीमा भाग लिन आउने प्रदर्शक र अवलोकनकर्ताहरु सन्तुष्ट भएको बताउँदै उनले एक्स्पो सफल भएको दावी गरे ।

एक्स्पोकै अवसरमा भरतपुरमा गरिएका औषधि सम्बन्धी गोष्ठी, सेमिनार, अन्तरक्रिया लगायतका कार्यक्रमहरु पनि प्रभावकारी ढंगले सफल भएको भन्दै उनले अगाडी भने, ‘सबै खुशी हुँदा औषधि उत्पादक संघले राम्रो काम गरेको महसुस भएको छ ।”

अध्यक्ष प्रधानले एक्स्पो सफल बनाउने हर प्रकारले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

एपोनका बरिष्ठ उपाध्यक्ष एवं एक्स्पोका संयोजक प्रभात रुङ्गटाले कार्यक्रम सफल बनाउन चितवनको समेत भूमिका रहेको भन्दै आफूहरु सहित स्वदेशी तथा विदेशी पाहुनालाई राम्रो आतिथ्यता प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे ।

उनले उद्योग संघ चितवन, सम्पूर्ण पत्रकारहरु, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, भरतपुर महानगरपालिका लगायतका संघ संस्थाहरुलाई एक्स्पो सफल बनाउन सहयोग गरेकोमा धन्यवाद दिए ।

नेपाल फर्मा एक्स्पो अन्तर्राष्ट्रियस्तरको एक्स्पोको रुपमा स्थापित गर्न सफल भएको भन्दै संयोजक रुङ्गटाले अन्तर्राष्ट्रिय स्तरबाटै सफल कार्यक्रम आयोजना गरेको भन्दै बधाई पाएको बताए ।

सबैको साथ, सहयोग र हौसलाले एक्स्पो सफल भएको उनको भनाई छ । उनले भने “नेपाली औषधि उद्योगलाई अझै सवल र आत्मनिर्भर बनाउने प्रतिज्ञा गर्दछौं ।” यो तीन दिनको एक्स्पो सफलतापूर्वक सम्पन्न भएको भन्दै उनले सबैलाई धन्यवाद दिए ।

एपोनका उपाध्यक्ष एवं एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले अन्तिम दिनमा पनि अवलोकन गर्न आउनेको घुईचो लागेको देखिएको बताए । एक्स्पो आयोजना गर्नुको मुख्य उद्देश्य आम जनसमुदायलाई नेपालमा गुणस्तरीय औषधि बन्छ भन्ने कुरा देखाउने, सिकाउने र बुझाउने नै भएको उनको भनाई छ ।

एक्स्पोले धेरै राम्रो सन्देश प्रवाह गरेको भन्दै उनले भने, ‘जसले औषधि लेख्न्, जसले औषधि बेच्छन् र जसले औषधिको काम गर्छन् उनीहरुका लागि नेपालमै गुणस्तरीय औषधि बनेको छ भन्ने सन्देश प्रवाह भएको छ । यो सर्वसाधारणसम्म पनि पुगेको छ ।’

यही फागुन २५ गतेबाट सञ्चालित भएका एक्स्पोमा स्वदेशी औषधि उद्योग सहित नौ वटा विदेशी कम्पनीहरुले प्रविधि, प्रयोगशाला लगायत औषधिजन्य उद्योगका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीको प्रदर्शन गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *