गेटा अस्पतालले सेवा बिस्तारका लागि पायो पूर्वाधार, शिक्षा मन्त्रालयले गर्‍यो अस्पतालसँग सम्बन्धित ६ वटा भवन हस्तान्तरण

काठमाडौँ, २७ फागुन । गेटा असपतालले आफ्नो सेवा विस्तारका लागि आवश्यक पर्ने पूर्वाधार प्राप्त गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको गेटा मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिले आइतबार अस्पतालसँग सम्बन्धित ६ वटा भवनहरु गेटा अस्पताललाई हस्तान्तरण गरेको छ।

गेटा मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिका सदस्य सचिव वैकुण्ठ सुवेदीले आज दिउसो अस्पतालका निर्देशक डा विप्लव सापकोटालाई भवन हस्तान्तरण गरेका हुन्। भवन हस्तान्तरण कार्यक्रमपछि डा सापकोटाले अस्पतालको सेवा बिस्तारका लागि महत्वपुर्ण ब्रेक थ्रु भएको बताए ।

‘यो अस्पतालको सेवा विस्तारका लागि ठूलो ब्रेकथ्रू हो,’ उनले भने, ‘अब अस्पतालको सेवा विस्तारको काम तीव्र रुपमा अगाडि बढ्ने छ।’ उनका अनुसार अस्पतालसँग सम्बन्धित ६ वटा भवन हस्तान्तरण भएका हुन्।

गेटामा गत कात्तिक १ गतेदेखि सेवा सञ्चालनमा आएको थियो । तर भवन हस्तान्तरण नहुँदा उपचार सेवा विस्तारका लागि समस्या भइरहेको थियो । डा सापकोटाले भवन प्राप्त गरेसँगै अस्पतालका लागि आवश्यक संरचना निर्माण प्रक्रिया अगाडि बढाउँदै सेवा विस्तारको काम सुरु हुने जानकारी दिए।

त्यसो तर गेटा अस्पतालले आफूलाई उपचार सेवा विस्तारका लागि भवन आवश्यक परेको भन्दै गत ११ मंसिरमा पूर्वाधार विकास निर्माण समितिलाई पत्र पठाएको थियो। सोही पत्रपछि समितिले अस्पताललाई भवन हस्तान्तरण गरेको हो। समितिले भवनको भौतिक संरचनात्मक स्वरुपमा असर नपर्ने गरी र अस्पताल भवनमा जडान भएका संलग्न सुची बमोजिमका पानी, विजुली, सञ्चार, एसि, अक्सिजन सप्लाई सिस्टम लगायतको प्रयोजनार्थ प्रयोग हुने उपकरण, मेसिनरी सामान र फर्निचरहरु लगायतको सम्पूर्ण रेखदेख संरक्षण सम्बर्द्धन तथा मर्मत संभारको सम्पूर्ण जिम्मेवारी अस्पताल निर्देशकको रहने गरी भवन हस्तान्तरण गरेको हो।

समितिले अस्पताललाई अस्पताल भवन-१, लण्ड्री हाउस भवन-१, अटोक्लेभ भवन-१, कुरुवा घर- १, शव गृह -१, अक्सिजन प्लान्ट- १ गरी जम्मा ६ वटा भवन तथा उक्त भवनहरु संग अन्तर सम्बन्धित पानी, विजुली, सन्चार, एसी सिस्टम, अक्सिजन सप्लाई सिस्टम लगाएतका लागि जडान भएका उपकरण मेसिनरी सामान तथा फर्निचर लगायतको प्रयोग गर्ने गरी हस्तान्तरण गरेको छ।

सरकारले गेटामा १०० शय्याको अस्पताल चलाउन यस वर्ष चालु तर्फ साढे ३ करोड र पुँजीगततर्फ ८० करोड रकम छुट्याएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *