‘नवौँ फर्मा एक्स्पो-२०२४’ चितवनमा सुरु

चितवन, २५ फागुन । नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा चितवनमा आज देखि ‘नवौं फर्मा एक्स्पो- २०२४’ सुरु भएको छ ।

शुक्रबार चितवनको भरतपुरमा ‘नवौं फर्मा एक्स्पो २०२४’ को उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले औषधिमा आत्मनिर्भर हुँदै गर्दा नेपालको भूगोल, परिवेश, हावापानीमा हुने रोगहरुलाई काम लाग्ने औषधि उत्पादन गर्नुपर्ने बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै डा. देवकोटाले नेपालमा के–के रोगहरु छन्, कस्ता औषधिको माग छ भन्ने कुरा अनुसन्धान गरेर औषधि उत्पादन गर्नुपर्ने बताए । नेपाली औषधि उद्योगको बजारीकरणको परम्परालाई पनि परिवर्तन गर्नुपर्ने उनको सुझाव छ । उनले भने “प्रतिष्ठित उद्योगलाई हानिनोक्सानी नहुने गरी मार्केटिङ कल्चरलाई व्यवस्थित गरेर, चुहावट रोकेर लगानी उत्पादनमा बढाउनु पर्छ ।” यसो गरिएमा मूल्य समायोजनमा ध्यान दिन सकिने डा देवकोटाको भनाई छ ।

सरकार र निजी क्षेत्रबीच खाडल रहेको भन्दै उनले खाडल छैन भनेर सकारात्मक रुपमा बुझ्न आग्रह गरे । औषधि ऐन नयाँ ल्याउन थालिएको भन्दै उनले एक्स्पो जस्ता फोरमबाट छलफल गरेर केही निकास निकाल्नुपर्ने बताए ।

त्यसैगरी औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले एक्स्पोले हाम्रो औषधि उत्पादनको क्षमता प्रदर्शन गरेको बताए । हाम्रो नियत सफा भईरहनु पर्ने बताउँदै उनले भने “चिकित्सकले विरामीलाई कुन औषधि लेख्नुहुन्छ । त्यहाँबाट नियत प्रष्ट हुन्छ ।”

व्यापार प्रतिस्पर्धा पनि भएको भन्दै उनेले प्रतिस्पर्धाविना विकास हुन नसक्ने बताए । उनले भने “सरकार र निजी क्षेत्र दुवै ले प्रतिस्पर्धा चाहन्छन् ।” उनले नेपाली औषधिले काम गर्दै भन्ने सुन्न नपर्ने गरी काम गर्न आग्रह गरे । सरकारले कुनै नकुनै किसिमले औषधि उद्योगलाई सहयोग गरिरहेको उनको भनाई थियो ।

जाम्बियाका मेडिसिन रेगुलेटरी अथोरोटीका डाईरेक्टर माकोमानी सियान्गाले कार्यक्रमले नेपाल र जाम्बियाबीच सम्बन्ध जोडको भन्दै आफूहरु नेपालको औषधिसँग सहकार्य गर्न तयार रहेको बताए । ज्ञान, सीप आदानप्रदान गरेर औषधि क्षेत्रमा काम गर्न सकिने उनको भनाई छ ।

एपोनका निवर्तमान अध्यक्ष प्रज्वलजंग पाण्डले औषधिका आधारभूत कुरामा अल्झन भन्दा विश्व बजारमा कसरी पु¥याउन सकिन्छ भन्ने बारे छलफल गर्नुपर्ने बताए । उनले नेपाली औषधि उद्योगमा उच्चस्तरको जनशक्ति समेत तयार भएको बताए ।

कार्यक्रमका अध्यक्ष एवं एपोनका अध्यक्ष महेश प्रधानले नेपालको औषधि अरु देशको भन्दा कम भएको भन्दै प्रश्न गरे “एउटै उपकरण, एउटै कच्चा पदार्थ, त्यही विज्ञ समूहले बनाएको औषधि कसरी कमजोरी हुन्छ ?”

अहिलेको परिस्थितिमा सबै उद्योगहरु अप्ठ्यारोमा परेको भन्दै उनले संयमता अपनाउनु पर्ने समय रहेको बताए । उनले नेपालमै पाँच वटा उद्योगले उत्पादन गर्ने औषधि आयातमा निरुत्साहित गर्नुपर्ने बताए । उनले भने “सरकारी स्तरबाट खरिद गर्ने औषधि नेपाली भएसम्म विदेशी खरिद नगरौं ।”

नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल विक्रम कार्कीले औषधि उद्योगलाई दिगो बनाउन चुनौति रहेको बताए । उनले औषधि उद्योगलाई दिगो बनाउनका लागि नीति भन्दा पनि नियत खराब रहेकोले फस्टाउन समस्या रहेको बताए ।

कार्यक्रममा आयुर्वेद औषधि उत्पादक संघका अध्यक्ष सुमन पाण्डेले गुणस्तरमा हामी कहि पनि कमजोर नभएको भन्दै निर्यात कसरी गर्न सकिन्छ भन्नेमा ध्यान रहेको बताए ।

नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) का अध्यक्ष प्रकाशकुमार खण्डेलवाल, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, चितवन उद्योग संघका पूर्व अध्यक्ष राजु पौडेल, एफिनका अध्यक्ष पदम खड्का, नेपाल केमिकल एण्ड मेडिकल सप्लायर्सका भक्त हमाल लगायतले कार्यक्रममा बोलेका थिए ।

नेपाल फर्मास्युटिकल एसोसिसनका अध्यक्ष ललित मोहन पन्थले मन्त्रालयले सहजिकरण गरे उद्योग फस्टाउने बताए । उनले औषधि ऐनलाई परिवर्तन गरेर हुन्छ कि के गरेर हुन्छ त्यो परिवर्तन गरेर गुणस्तरलाई ध्यान दिनुपर्ने बताए । नेपालको औषधि गुणस्तरीय रहेकोले बाहिर मुलुकलाई निर्यात गर्न आफू तयार रहेको उनको भनाई छ ।

कार्यक्रमका एक्स्पो संयोजक प्रभात रुङ्गटाले स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पारेका थिए ।

संघले चितवनमा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा आजदेखि २७ गतेसम्म ‘नवौं नेपाल फर्मा एक्स्पो–२०२४’ को आयोजना गरेको हो ।

एक्स्पोमा १६० वटा स्टल राखिएका छन् । यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत नौ देशहरूले उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब (प्रयोगशाला), कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल पनि राखिएको छ । एक्स्पोमा उत्पादन गर्न प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि देखाईएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *