उपेन्द्र यादव बन्ने भए स्वास्थ्य तथा जनसंख्या मन्त्री

काठमाडौँ, २४ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी उपेन्द्र यादवले सम्हाल्ने पक्का भएको छ । बिहिबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले नयाँ सत्ता समिकरण सहित प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने र त्यसको नेतृत्व पार्टी अध्यक्ष उपेन्द्र यादवले उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्ने गरी पठाउने निर्णय गरेको हो ।

यसअघि आज विहान प्रधानमन्त्री दाहालले उपेन्द्र यादवलाई फोन गरी पार्टीबाट नेतृत्व गरी सरकारमा सहभागी हुन आग्रह गरेका थिए । उनको आग्रहलाई यादवले सकारात्मक रुपमा लिएको बताएका थिए ।

नयाँ गठबन्धनले जसपालाई दूईवटा मन्त्रालय दिने निर्णय गरेको थियो । जसपाका प्रमुख सचेतक प्रदीप यादवले उपेन्द्र यादवलाई उप प्रधान तथा स्वास्थ्य मन्त्री र सुशीला श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा पठाउने निर्णय भएको बताए ।

अर्को मन्त्रालय सम्हाल्ने मन्त्रीको नाम भने टुंगो लागि नसकेको यादव बताए । अर्को मन्त्रालयमा स्वयं प्रदीप यादव र नवलकिशोर साह आकांक्षी रहेको बताइएको छ । यसको अन्तिम छिनोफानो गर्ने जिम्मा अध्यक्ष यादवलाई दिइएको छ ।

अध्यक्ष यादवले भने आजको संसद सकिएपछि प्रधानमन्त्री दाहालसंग थप छलफल गरी मधेश प्रदेश सरकारको नेतृत्वको विषयमा प्रतिवद्धता लिएर मात्रै सरकारमा सहभागी बन्ने योजना बनाएको उनको सचिवालय स्रोतले बताएको छ ।

त्यसो त अध्यक्ष यादव यसअघि पनि उपप्रधान सहित स्वास्थ्य सम्हाल्ने मन्त्री हुन् । उनले तत्कालीन केपी ओली नेतृत्वको सरकारमा १८ जेठ २०७५ देखि ४ मंसिर २०७६ सम्म उपप्रधानसहित स्वास्थ्य मन्त्रालय सम्हालेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *