आज मन्त्रिमण्डल बिस्तार हुँदै, स्वास्थ्य मन्त्री को ?

काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज मन्त्रिमण्डल बिस्तार गर्ने भएका छन् । नयाँ गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालय र मन्त्रीहरुको टुंगो लागेपछि मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् ।

यसअघि गत सोमबार प्रधानमन्त्री प्रचण्डले एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डिपी अर्याललाई मन्त्री नियुक्त गरेका थिए । त्यसबेला उनीहरुको जिम्मेवारी तोकिएको थिएन ।

आज बसेको दलहरुको आन्तरिक बैठकले आफ्नो भागमा परेको मन्त्रालय र मन्त्रीको नाम टुंग्याएको छ । माओवादी केन्द्रले आफ्नो भागमा परेका मन्त्रालयमध्ये नारायणकाजी श्रेष्ठलाई परराष्ट्र र बर्षमान पुनलाई अर्थ मन्त्रालय जिम्मेवारीमा पठाउने भएको छ । रेखा शर्मालाई सञ्चार तथा सूचना मन्त्रालय, शक्ति बस्नेतलाई उर्जा मन्त्रालय र हितबहादुर तामाङलाई पर्यटन मन्त्रालयको जिम्मेवारीमा पठाउने निर्णय गरेको छ ।

उता राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानसहित गृह मन्त्रीमा रबि लामिछाने, श्रम तथा यातायात मन्त्रालयमा डिपी अर्याल, शिक्षा विज्ञान तथा प्रविधिमा सूमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्रालयमा बिराजभक्त श्रेष्ठलाई पठाउने निर्णय गरेको छ ।

यता गठबन्धनमा सबैभन्दा ठूलो दल नेकपा एमालेले पार्टी सचिव रघुबिर महासेठको नेतृत्वमा मन्त्रीहरु पठाउने भएको छ । महासेठले उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्रालय सम्हाल्ने भएका छन् ।

अरु मन्त्रीहरुमा पदम गिरी, दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी रहेका छन् । तर उनीहरुको जिम्मेवारी तोकिइसकेको छैन ।

स्वास्थ्य मन्त्री को ?

स्रोतका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अहिले तीन पार्टीको दावी रहेको छ । बढी सम्भावना नेकपा एमालेको छ । ‘यदि एमालेले पायो भने पूर्व मन्त्री पदम गिरी नै स्वतह हुने छन् । तर सरकारमा सहभागी हुने बताइरहेको एकीकृत समाजवादी र जनता समाजवादीले पनि स्वास्थ्य मन्त्रालय आफूहरुले पाउनु पर्ने भनेका छन् । त्यसैले अहिले टुंगो नलागेको हो। आज बेलुका ५ बजे थपिएका मन्त्रीहरुको राष्ट्रपति कार्यलयमा शपथ ग्रहण कार्यक्रम भएकोले त्यसबेलासम्म टुंगिन सक्छ,’ स्रोते भन्यो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *