काठमाडौँ महानगर भित्र मापदण्ड विपरित सञ्चालित फार्मेसी छ्याप-छ्याप्ती

महानगर भित्रका ११८ वटा फार्मेसीको अनुगमन गर्दा के देखियो ?

काठमाडौँ, १८ फागुन । काठमाडौँ महानगरभित्र सञ्चालित धेरै औषधि पसलहरु मापदण्ड विपरित सञ्चालन भएको पाइएको छ । महानगरले गत २१ असोज देखि थालेको औषधि पसल अनुगमनपछि यस्तो पुष्टि भएको हो ।

महानगरको स्वास्थ्य विभागले अहिलेसम्म वडा नं १, २ र ३ का धेरै तथा अन्य वडाका विभिन्न ठाउँमा गएर ११८ वटा औषधि पसलको अनुगमन गरेको थियो ।

सो क्रममा कुनै पनि पसले फार्मेसीमा हुनु पर्ने आधारभूत मापदण्ड पालना गरेको नभेटिएको महानगरले जनाएको छ ।

अनुगमनका क्रममा कहाँ कहाँ के पाईयो ?

वडा नं १४ कलंकीमा सञ्चालित मिसन फार्मेसीले फ्रिजमा राख्नु पर्ने खोपहरु राखेको तर नचलाएको पाइएको थियो । यसरी भेट्टाइएका ३ प्याकेट (३० वटा) एन्टिरेविज भ्याक्सिन, टीटी खोप ९ थान र ३ थान इन्सुलिन टोलीले जफत गरेको जनाएको छ ।

टोलीले प्राणघातक रोेग रेविजविरुद्ध लगाइने एन्टिरेविज खोपमा गरिएको यो लापर्वाही गम्भीर प्रकृतिको भएको उल्लेख गरेको छ ।

यस्तै रविचन्द्र फार्मेसीमा रेफ्रिजेरेटरचलेको तर तापक्रम नमिलेको भेटिएको थियो ।

त्यहाँ मात्रै होइन यस्ता समस्या अन्य धेरै फार्मेसीमा भेटिएको थियो ।

‘औषधि पसलहरुले, फ्रिज तथा खोप भण्डारण गर्ने कक्षमा आवश्यक पर्ने तापक्रम नमिलाउनु गम्भीर लापर्वाही हो । जनस्वास्थ्यका दृष्टिले चरम गल्ती हो ।’ अनुगमनको अवस्था बुझिसकेपछि महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलले भनिन्, ‘यस्ता ठाउँमा सुधारको मौका दिन सकिँदैन ।’

फार्मेसी अनुगमन संयोजक एवं अस्पताल नर्सिङ् निरीक्षक कल्पना श्रेष्ठले आम सर्वसाधारणलाई औषधि पसल खोप नलगाउन आग्रह गरिन ।

‘औषधि राख्ने फ्रिजमा कोल्ड चेन कुनैमा पनि मेन्टेन भएको छैन । औषधि पसल दर्ता गर्दा एउटाका नाममा प्रमाण पत्र छ । पसलमा अर्कै व्यक्ति बसेको छ । औषधि व्यवस्था विभागमा दर्ता छन्, तर महानगरपालिकामा धेरै दर्ता छैनन् । बिलमा औषधिको म्याद सकिने (एक्स्पायरी डेट) मिति, ब्याच नं. केही उल्लेख छैन । नार्कोटिक ड्रग बेच्ने पसलमा डाक्टरको मेडिकल काउन्सिल दर्ता नम्बर छैन । यस्ता औषधि डवल लक हुनु पर्ने, त्यस्तो छैन,’ उनले भनिन् ।

श्रेष्ठले यस्ता समस्या औषधि पसलमा देखिएका साझा समस्या भएको भन्दै हरेकका छुट्टाछुट्टै समस्या पनि भएको बताईन् ।

यस्तै टोलीले रियान्स आयुर्वेदिक फर्मामा सर्जिकल र एलोपेथिक औषधि राखेको भेटाएको छ । उता सुयोग आयुर्वेदिक औषधि पसलमा आयुर्वेद अध्ययन नगरेको व्यक्तिले औषधि विक्री गरेको भेटिएको छ ।

रोयल गन्तव्य हेल्थ केयर प्रालि घट्टेकुलोको औषधि पसलमा बस्ने व्यक्तिको प्रमाण पत्र थिएन । यसैगरी अनामनगरको रिजाल ड्रग हाउसमा औषधिभन्दा धेरै कस्मेटिक सामान भेटिएको थियो भने फ्रिजको सफाइ थिएन ।

अनुगमनका क्रममा भेटिएका यी केही प्रतिनिधि अवस्था हुन् । यी र यस्ता समस्या सबै जसोमा छन् । यो खराव अवस्था हो । राम्रो औषधि पसल चाहिँ कति भेटिए, प्रश्नको जवाफमा अनुगमन संयोजक श्रेष्ठ भन्छिन्, ‘नाम नै लिनु पर्ने गरीका कुनै भेटिएनन् । एक दुई वटा सामान्य देखिए ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *