विदेशी चिकित्सकको सहयोग विना त्रिवि शिक्षण अस्पतालमा भयो दोस्रो पटक कलेजोे प्रत्यारोपण

काठमाडौँ, १३ फागुन । विदेशी चिकित्सकको सहयोग विना महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकहरुले दोस्रो कलेजो प्रत्यारोपण गरेका छन् ।

गत २६ माघमा त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारी नेतृत्वको टोलीले चितवनका ३३ बर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरेको हो ।

यसअघि यहि टोलीले गत २७ पुसमा विदेशी चिकित्सकको प्रत्यक्ष सहयोग विना नुवाकोटका ४१ बर्षीय पुरुषमा कलेजोको सफल प्रत्यारोपण गरेको थियो ।

‘संख्याको हिसावले त्रिवि शिक्षण अस्पतालमा यो १२ औँ कलेजो प्रत्यारोपण हो । तर विदेशी चिकित्सकको सहयोग विना हामी यहिका चिकित्सकले मात्रै गरेको हो दोस्रो प्रत्यारोपण हो,’ प्राडा भण्डारीले अगाडी थपे, ‘दोस्रो केश पनि प्रत्यारोपणको १६ औँ दिन पछि आज डिस्चार्ज हुनु भएको छ ।’

पछिल्लो प्रत्यारोपणमा ३३ बर्षका श्रीमानलाई उनका २८ बर्षकी श्रमतीले कलेजो दान गरेकी हुन् । उनी १० दिन अघि नै डिस्चार्ज भएकी छन् ।

‘कलेजो प्रत्यारोपणको दशौँ केशसम्म हामीले विदेशी चिकित्सकको सहयोगमा गर्दै आयौँ । अब चाहि हामी आफै गर्नु पर्छ भन्ने थियो । गत २७ पुसमा पहिलो केश विदेशी चिकित्सकको सहयोग विना नै गर्न सफल भयौँ । त्यसले हामीमा थप विश्वास बढ्यो र अर्को पनि प्रत्यारोपण गर्‍यौं र सफलता प्राप्त गर्‍यौं,’  उनले भने ।

उनले अब कलेजो प्रत्यारोपणलाई पनि मिर्गौला प्रत्यारोपण जस्तै नियमित बनाउने तयारीमा लागेको बताए ।

त्रिवि शिक्षण अस्पतालमा १७ जेठ २०७६ देखि कलेजो प्रत्यारोपण सुरु भएको हो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *