अर्बुद भएका आधा बालबालिका अस्पतालको पहुँच बाहिर

चितवन, ४ फागुन । चितवनको बीपी कोइराला मोमोरियल क्यान्सर अस्पतालले क्यान्सर भएका बालबालिकालाई स्टेशनरी सामाग्री वितरण गरेको छ ।

विश्व बाल क्यान्सर दिवसको अवसर पारेर बिहिबार अस्पतालमा उपचारत बिरामीलाई स्टेशनरी सामाग्री वितरण तथा अभिभावकबिच जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै बाल क्यान्सर रोग विशेषज्ञ कृष्णसागर पौडेलले नेपालमा क्यान्सर भएका बालबालिका आधाभन्दा बढी अस्पताल बाहिर रहेका बताएका छन् । उनका अनुसार, नेपालमा करिब एक हजार पाँच सय जना बालबालिकालाई क्यान्सर भएको अनुमान छ ।

त्यसमध्ये अस्पतालको पहुँचमा आधा रहेको उनले बताए । अस्पताल आउने मध्ये भरतपुरको बीपी कोइराला क्यान्सर अस्पतालमा चार सयको हाराहारीमा आउने उनले बताए ।

भरतपुर क्यान्सर अस्पताल आएका ६० प्रतिशत बालबालिकालाई क्यान्सर निको हुने गरेको उनले बताए । समग्र नेपालमा निको हुने दर ३० प्रतिशत मात्रै रहेको उनले जानकारी दिए ।

तर निको हुने दर बढाएर ८० प्रतिशत पुराउन सकिने उनको भनाई छ । ‘अहिले अभिभावकमा चेतनाको कमी छ । आधा बिरामी त अस्पताल नै आउँदैनन् । आएका पनि उपचार प्रकृया पुरा नगरी बिचमै छोड्छन्’, उनले भने ‘अस्पतालमा शैयाको संख्या थप गर्ने र उपचार सर्वसुलभ बनाउने हो भने बाल क्यान्सरलाई न्यूनिकरण गर्न सकिन्छ ।’

नेपालमा बालबालिकाको क्यान्सर बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर संगै भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पताल, तिलगङ्गा आँखा अस्पताल, कान्ति बाल अस्पताल लगायत उपचार हुन्छ ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई बाल क्यान्सरसम्बन्धी विश्वव्यापी अभियानको फोकस राष्ट्रको रुपमा समेत सूचीकृत गरेको छ ।

सरकारले बालबालिकाको क्यान्सर उपचारका लागि अस्पतालमा उपलब्ध कतिपय सेवा निःशुल्क गरेको छ । एक लाखसम्मको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

उनका अनुसार उपचार हुने अस्पतालमा पुगिसकेकामध्ये २० देखि ३० प्रतिशत आर्थिक अभावको कारणले उपचार नगरिकन वा उपचार बीचैमा छाडेर घर जाने गरेका छन् । नेपालमा बर्सेनि २५ हजार नयाँ क्यान्सर रोगी थपिने गरेकोमा तीमध्ये एक हजार ५०० बालबालिका रहने गरेका छन् ।

कार्यक्रममा बीपी कोइराला मेमोरियल क्यान्सर अस्तपालका कार्यकारी निर्देशक डा।शिव पौडेल, उपनिर्देशक डा उमेश नेपाल, अभिभावक तथा बिरामीहरुको उपस्थिती रहेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *