नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट
प्रत्येक वर्ष करिब २० हजारभन्दा बढी मानिसमा क्यान्सर पहिचान

काठमाडौँ, २१ माघ । नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट हुने गरेको छ। नेपालमा कुल मृत्युको ११.११ प्रतिशत हिस्सा क्यान्सरको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको हो।
२०२० को तथ्यांकअनुसार जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री अनुसार नेपालमा क्यान्सरसँग सम्बन्धित मृत्युदर ४० प्रतिशत बढी रहेको मन्त्रालयले जनाएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देश्क डा. रुद्रप्रसाद मरासिनीले फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले गर्दा बढी मृत्यु हुने गरेको बताए।
उनले नेपालमा प्रत्येक वर्ष करिव २० हजार जनाभन्दा बढी मानिसमा क्यान्सर पहिचान हुने गरेको बताए।
२०२० मा क्यान्सरकै कारणले नेपालमा १६ हजार ६२९ जनाको मृत्यु भएको थियो। नेपालमा देखिएका मुख्य क्यान्सरहरुमा फोक्सो, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्राको क्यान्सरहरू रहेका छन्।
अहिले २० हजार नयाँ केसको डिटेक्शन भएको र १६ हजार मृत्यु भएको उनले बताए। उनका अनुसार पुरुष र महिलाको तुलना गर्दा पुरुषमा फोक्सोको क्यान्सर, आमाशयको क्यान्सर, मुख तथ मुखजन्य क्यान्सर र अन्य क्यान्सरहरू बढी देखिन्छ भने महिलाको हकमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सबैभन्दा बढी देखिने गरेको छ।
२०२० को डाटा अनुसार अहिले क्यान्सर विश्वभर मृत्युको प्रमुख कारणमा एक हो। विश्वको तथ्यांकअनुसार प्रत्येक ६ जनामा एक जनाको मृत्यु क्यान्सरबाट हुने गरेको छ।
एक तिहाई कारक तत्वहरूमध्ये सुर्तिजन्य पदार्थको प्रयोग, मद्यपानको प्रयोग, शारीरिक निष्क्रियता रहेको छ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



