कर्णालीले औषधी उत्पादनमा विशेष पहल लिनुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णालीले औषधी उत्पादनमा विशेष पहल लिनुपर्ने बताएक छन् ।
कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै उनले भने, “कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र मुख्यतः जडीबुटी स्रोतमा महत्त्वपूर्ण छ । तसर्थ, प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोगका साथै औषधी उत्पादनका क्षेत्रमा समेत पहल लिनुपर्दछ ।” उनले औषधी उत्पादनका लागि आवश्यक गृहकार्य गर्न प्रतिष्ठानलाई निर्देशन दिए ।
साधनस्रोतको अभावका बीचमा रहेर प्रतिष्ठानले राम्रो काम गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा कर्णालीको अथाह सम्भावनालाई सदुपयोग गर्ने योजनामा सरकारले सघाउने उल्लेख गरे ।
उनले भने, “बाटोघाटोको असुविधा, दक्ष चिकित्सकहरू र प्राविधिकहरूको अभाव, अन्य साधनस्रोतको अभावजस्ता समस्याहरू छन्, जसले सेवा प्रवाह र दक्ष जनशक्ति उत्पादनमा चुनौती देखिएको छ । आगामी दिनमा यसको सम्बोधनका निम्ति सरकारको तर्फबाट उचित पहल हुनेछ ।”
चिकित्सक, प्राविधिकहरू र कर्मचारीहरूको वृत्तिविकास र सेवा सुविधाबारे राखिएका चासो र मागबारे आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “तपाईंहरूका माग क्रमशः सम्बोधन गर्दै जाने विश्वास दिलाउँछु ।”
सो अवसरमा प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपाललाई उच्चशिक्षाको ‘हब’ बनाउनुपर्ने बताए । उनले, “नेपाललाई उच्चशिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । यो हाम्रो आकांक्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो ।” उनले कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट समेत विद्यार्थीहरू आउन थालेको जानकारी पाउँदा आफूलाई खुसीको महसुस भएको बताए ।
आगामी दिनमा प्रतिष्ठानले थप प्रगति गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानबाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अति पिछडिएका क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा प्रवाह हुनुका साथै दक्ष जनशक्ति उत्पादन पनि भइरहेको बताए ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

