नेपालको स्वास्थ्य प्रणालीमा संघीयताको प्रभाव विषयक कार्यशाला गोष्ठी हुँदै

64
Shares

काठमाडौँ, २४ पुस । संंघीयतापछि नेपालमा स्वास्थ्य प्रणालीको विकास सम्वन्धी उच्चस्तरीय गोष्ठीको आयोजना हुँदैछ । सो गोष्ठीमा नेपालका चारवटा र बेलायतका तीनवटा संस्था मिलेर विगत तीन वर्ष देखि गरेको अध्ययन्को निष्कर्ष बारे छलफल हुने बताइएको छ ।

मुगु, पश्चिम नवलपरासी, काठमाडौँ र सिन्धुपाल्चोक गरी चार जिल्लाका केही पालिकाहरुमा गएर गरिएको अध्ययनको निष्कर्ष र अब गर्नु पर्ने कामका बारेमा छलफल हुनेछ । आयोजक मध्येका एक प्राध्यापक डा सुजन मरहठ्ठाले भने ।

उनका अनुसार गोष्ठीमा सङ्घीय तथा प्रदेश तहका स्वास्थ्य क्षेत्रका विज्ञहरु, दुवै तहका सांसदहरु साथै स्थानीय तहका प्रतिनिधि तथा स्वास्थ्यकर्मी सम्मिलित हुनेछन् ।

‘नेपाल तथा बेलायतका विश्वविद्यालय तथा अध्ययन संस्थानद्वारा संचालित नेपालको स्वास्थ्य प्रणालिमा संघीयताको प्रभाव बिषयक एक बहुवर्षीय अध्ययनको अन्तिम चरणको कार्यक्रम हो । यो अनुसन्धानमा सन् २०२० देखि २०२४ नेपालका संघ, प्रदेश र स्थानीयतहका सरोकारवालाहरु सहभागी गराइएको थियो,’ उनले भने ।

गोष्ठीमा संघीयता लागु भएपछि नेपालको स्वास्थ्य प्रणालीमा कस्तो प्रभाव पारेको छ भन्ने प्रकाश पार्दै आगामी दिनमा नेपालको स्वास्थ्य प्रणालीमा संघियताले ल्याएका अवसरहरुलाई आत्मसात गर्दै यस सँगै आएका चुनौतीहरुलाई दिगो समाधान दिनका लागि के कस्ता नीतिगत र व्यावहारिक पहलहरु गर्न आवस्यक छ भन्ने विषयमा तिनै तहका सरोकारवालाहरुबीच छलफल गरिने बताइएको छ ।

गोष्ठीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बेलायतका शेफिल्ड विश्वविद्यालयका प्राध्यापक साइमन रुस्टन र केंटरबरी सी सी विश्वविद्यालयकी प्राध्यापक जुली बालेनले बोलेका थिए ।

उनीहरुले संघीयता सुरु भएदेखि स्थानीय तहमा धेरै स्वास्थ्यकर्मीहरू उपलब्ध भएको र प्रभावकारी स्थानीय व्यवस्थापनका कारण कर्मचारीहरुको अनुपस्थितिमा कमी भएको बताए । यद्यपि, केही पदहरूमा उपयुक्त विशेषज्ञताको अभाव, कर्मचारीको स्थायीत्व र स्वास्थ्यकर्मीहरूको लागि वृद्धि विकासको अवसरहरूको अभाव पनि देखिएको जानकारी दिए ।

यस्तै कार्यक्रममा फेज नेपालका डा जीवन कार्कीले स्थानीय स्तरमा स्वास्थ्यका कार्यक्रमहरुको प्राथमिकीकरण र योजना अझ प्रभावकारी ढंगले कसरी बनाउने भन्ने विषयमा स्थानीय नीति निर्माताहरूलाई तालिम तथा सहजीकरणको आवश्यकता देखिएको बताए ।

उनले यस परियोजनाले सुरुवात स्वरुप सिन्धुपाल्चोक, मुगु, नवलपरासी र काठमाडौँ जिल्लाका आठ स्थानीय तहमा स्वास्थ्य प्रणाली सुदृढिकरणका लागि विभिन्न तालिम तथा अभिमुखीकरण कार्यक्रम संचालन गरिरहेको र आउदा दिनमा थप कार्यक्रम संचालन गर्ने योजना पनि रहेको बताए ।

सो अनुसन्धान टोलीमा मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज काठमाडौं, फेज नेपाल भक्तपुर, र बेलायतका तीन संस्थाहरू शेफिल्ड, बर्नमाउथ र हडर्सफिल्ड र केंटरबरी सी सी विश्वविद्यालयहरूका अनुसन्धानकर्ताहरू संलग्न थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *