पत्रकार दिपा दाहालद्धारा लिखित पुस्तक ‘कोभिड : नसोचेको – नभोगेको संकट’ विमोचन

काठमाडौँ, २२ पुस । पत्रकार दिपा दाहालको ‘कोभिडस् नसोचेको–नभोगेको संकट’ पुस्तक विमोचन भएको छ। शनिबार काठमाडौँको कमलादीमा आयोजित एक कार्यक्रममा डा. सन्दुक रुइत, गणेश रसिक र मानवअधिकारकर्मी मोहन अन्सारीले पुस्तकको संयुक्त रूपमा विमोचन गरेका हुन्।
डेढ दशकयता पत्रकारितामा सक्रिय पत्रकार दाहालसँग देशमा उत्पन्न झाडापखाला, स्वाइन फ्लुलगायतको महामारी, भूकम्प, नाकाबन्दी, बाढीपहिरोलगायत विपद्को स्थलगत रिपोर्टिङ गरेको अनुभव छ।
दाहालले सन् २०१९ देखि नेपालमा फैलिएको कोरोना महामारीमा गरेको स्थलगत रिपोर्टिङको अनुभव र थप अध्ययन गरी महामारीको समग्र प्रभाव संक्षेपमा अभिलेख राख्ने क्रममा पुस्तक लेखेको बताइन्।
पुस्तकमा कोरोना महामारीका कारण चीनको वुहान बिथोलिएको प्रसंगदेखि, नेपालमा कोरोना रोकथाम तथा नियन्त्रण कार्य प्रभावकारी नहुँदा स्वास्थ्य, शिक्षा, अर्थतन्त्र, पर्यटन, कृषिलगायत क्षेत्रमा परेको प्रभाव समेटिएको उनको भनाइ छ।
महामारीका बेलाको सरकारको लापरबाही, बेथिति, बदमासी, भ्रष्टाचार, अनियमितता, कालोबजारीलगायत विषय पनि पुस्तकमा समावेश गरिएको छ।
महामारीबाट प्रभावित र संक्रमितहरूको जीवन जोगाउन चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, स्वयंसेवकलगायतले गरेको योगदानबारे पनि दाहालले पुस्तकमा उल्लेख गरेकी छन्।
“यो पुस्तक कोरोना महामारीको प्रभावको अभिलेख मात्रै होइन,” उनले भनिन्, “आगामी दिनमा यस्ता महामारी फैलिएमा सरकार वा सरोकारवाला निकायले कहाँ–कहाँ ध्यान दिनुपर्छ भन्ने सिकाइ पनि हो।”
पुस्तकका विशेषज्ञ सल्लाहकार डा. अनुप सुवेदी हुन्।
डा. सुवेदीले महामारीको समयमा हरेक देशका आ–आफ्नै समस्या भए पनि नेपाल राजनीतिक किचलो र भ्रष्टाचारमा गिजोलिएको बताए। कोरोना महामारीको तेस्रो लहर टरिसक्दा पनि नयाँ आउने स्वास्थ्य संकटबारे सरकारको तयारीका विषयमा अझै प्रश्न गर्ने स्थान रहेको उनले बताए।

बारबारा फाउन्डेसनका अध्यक्ष डा. रुइतले सामाजिक क्षेत्रका लागि छुट्ट्याएको फन्डमार्फत ‘स्वास्थ्य शिक्षा’ पुस्तकलाई स्थान दिएको बताए।
पुस्तक बारबारा फाउन्डेसन र फाइन प्रिन्टको सहकार्यमा प्रकाशित भएको हो।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



