बाग्लुङको बडिगाड गाउँपालिकामा क्षयरोग परीक्षण शिविर सम्पन्न

बाग्लुङ, १९ पुस । जिल्लाको बडिगाड गाउँपालिकाको तीन वटा वडामा क्षयरोग सम्पर्क तथा परीक्षण शिविर सञ्चालन गरिएको छ ।
स्वास्थ्य कार्यालय बाग्लुङ र बडिगाड गाउँपालिकाको आयोजनामा भएको उक्त शिविर वडा नं २ को खर्वाङ, वडा नं ४ को जलजला, वडा नं ७ को भिमगिठेमा भएको थियो ।
क्षयरोग उपचार केन्द्र पोखराको समन्वय तथा जापान नेपाल हेल्थ एण्ड ट्युवरक्लोसिस रिसर्च सेन्टरको प्राविधिक सहयोगमा भएको शिविरमा १ हजार ६०४ जनाको छातीको एक्सरे तथा २५६ जनाको जिन एक्सपर्टका लागि खकार संकलन गरिएको थियो ।
सो क्रममा ९८ जना व्यक्तिलाई पीसीडी र पीबीसी प्रमाणित भई क्षयरोग विरुद्धको औषधि सुरु गरिएको स्वास्थ्य कार्यालय बाग्लुङका क्षयकुष्ट निरीक्षण देवप्रकाश घिमिरेले बताए ।
शिविरका लागि क्षयरोग विशेषज्ञ डा प्रमोद भट्टराई, क्षयरोग उपचार केन्द्र पोखराका डा रमेश आचार्य सहितको प्राविधिक टोली रहेको थियो ।
यस्तै शिविरमा बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख प्रविण शर्मा, गाउँपालिकाका स्वास्थ्य संयोजक विजय केसी तथा जनप्रतिनिधिहरुले अनुगमन गरेका थिए ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

