सोवा रिग्पा चिकित्सा पद्धतिलाई मुल प्रवाहमा ल्याउन सरोकारवालाको जोड

136
Shares

काठमाडौँ, १९ पुस । सोवा रिग्पा चिकित्सा पद्धतिलाई मुल प्रवाहमा ल्याउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सोवा रिग्पा प्राचिन उपचार चिकित्सा पद्धति हो भने यो पद्धति अनुसार उपचारमा सक्रिय जनशक्तिलाई आम्ची भनिन्छ।

नेपालमा सोवा रिग्पा चिकित्सा पद्धतिको अभ्यास, नीति र भावी योजनाका विषयमा सोवा रिग्पा एसोसिएसन नेपाल र अडारा विकासले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सहभागीले सोवा रिग्पालाई मुल प्रवाहमा ल्याउन जोड दिएका हुन्।

छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा दिपेन्द्ररमण सिंहले यो उपचार पद्धतिलाई मुल प्रवाहमा ल्याउन सरकारका तर्फबाट आवश्यक काम भइरहेको जानकारी दिए।

‘सोवा रिग्पा प्राचिन उपचार पद्धति हो। यो उपचार पद्धति निकै पुरानो भए पनि व्यवस्थित रुपमा अभिलेखिकरण भएको पद्धति हो,’ उनले भने, ‘यसलाई स्वास्थ्यका आधुनिक चिकित्सा पद्धतिजस्तै मुल प्रवाहमा समयमा नै ल्याउन नसकेको साँचो हो। तर अब मुल प्रवाहमा ल्याउने तर्फ हामीले काम अगाडि बढाइरहेका छौं।’ उनले सोवा रिग्पालाई मुल प्रवाहमा ल्याउन स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने समन्वय र सहयोग गर्दै अगाडि बढ्ने कुरामा जोड दिए।

स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेलले सोवा रिग्पालाई वैकल्पिक उपचार पद्धति नभई मौलिक उपचार पद्धतिका रुपमा लिनुपर्ने बताए। उनले यो उपचार पद्धति र यस क्षेत्रको अध्ययन अध्यापनमा देखिएको समस्या समाधानका लागि आफू लागिरहेको जानकारी दिए।

‘यो मौलिक चिकित्सा पद्धति हो। यसलाई वैकल्पिक नभनौं। हामीसँग हजारौ वर्ष पुराना राम्रा र मौलिक कुराहरु छन्। त्यसलाई समयमा नै अगाडि लान नसक्दा नै अहिले समस्या देखिएको हो। आधुनिक चिकित्सातर्फ बढी नै झुकाव हुँदा हामी बिचमा हरायौं,’ उनले भने।

उनले सोवा रिग्पाका विषयमा पछिल्लो समयमा शैक्षिक कार्यक्रममा नै केही समस्या देखिएको भन्दै त्यसलाई समाधान गर्न आवश्यक रहेको कुरामा पनि जोड दिए।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन उकेशराज भुजुले विश्वविद्यालयको सम्बन्धनमा स्नातक तहको कार्यक्रम सञ्चालन भइरहेको र पहिलो ब्याचका १७ जना विद्यार्थी दीक्षित भइसकेको अवस्था रहेको जानकारी दिए। उनले अन्य ब्याचमा पनि विद्यार्थी पढिरहेकाले उनीहरुलाई परिषद्मा दर्ताको कानुनी व्यवस्था गर्नुपर्ने बताए।

नेपाल स्वास्थ्य व्यवसायी परिषदका अध्यक्ष सुवोध शर्माले सोवा रिग्पा उपचार पद्धतिका विषयमा अध्ययन गरेका विद्यार्थीको दर्ताको विषयमा विधि र कानुनले भने अनुसार काम अगाडि बढाउन आफू तयार रहेको बताए।

कार्यक्रममा अडारा विकासका कन्ट्री डिरेक्टर प्रल्हाद ढकालले सोवा रिग्पा पद्धतिबाट धेरै बिरामीहरु लाभान्वित भइरहेको बताउँदै यसको महत्वका विषयमा प्रकाश पारेका थिए। उनले हुम्लामा यो उपचार पद्धतिको विकासका लागि अडाराले सहयोग गर्दै आइरहेको जानकारी दिँदै यो उपचार पद्धतिको विस्तारका लागि सरकारले अगुवाइ लिनुपर्नेमा जोड दिए।

नरदेवी अस्पतालका निमित्त निर्देशक डा श्यामबाबु यादवले सोवा रिग्पाका विषय अध्ययन गरेका विद्यार्थीको दर्ताका विषयमा बनाइएको समितिमा आफू पनि रहेको र उक्त समितिले स्वास्थ्य व्यवसायी परिषदमा दर्ता हुन सक्ने सुझाव दिएको जानकारी दिए। उनले सोवा रिग्पा चिकित्सा पद्धति अध्ययनको विषयलाई चिकित्सा शिक्षा आयोगले अन्य विषयमा झैं एउटै चस्माले हेर्न नमिल्ने पनि बताए।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका शाखा प्रमुख डा माधवप्रसाद लम्सालले राजनीतिक र नीतिगत रुपमा सोवा रिग्पा उपचार पद्धतिको विषय प्रष्ट रहेको भन्दै कार्यान्वयन तर्फ जोड दिन आवश्यक रहेको बताए। उनले सिंहदरबार वैद्यखानालाई यो उपचार पद्धति अनुसार हुने उपचारमा प्रयोग हुने औषधिको उत्पादनका लागि एउटा युनिट नै बनाउन सुझाव दिनु पनि आग्रह गरे।

सिंहदरबार वैद्यखानाका पूर्व अध्यक्ष बाबुराजा अमात्यले सरकारले प्राथमिकता नदिँदा नै यो उपचार पद्धति ओझेलमा परेको बताए। उनले भारत, चीन र भुटानले यो पद्धतिलाई धेरै माथि लगिरहेको भन्दै नेपालले पनि यसतर्फ तत्कालै कदम चाल्ने समय आइसकेको जानकारी दिए।

आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा निर्मल भुसालले स्वास्थ्य मन्त्रालयकै अगुवाईमा मात्र यो उपचार पद्धति अगाडि बढ्न सक्नेमा जोड दिए। उनले कानुनी रुपमा बलियो आधार बनाउन आवश्यक रहेको पनि बताए।

सोवा रिग्पा एसोसिएसनका अध्यक्ष डा तेन्जिङ धार्के गुरुङले यो उपचार पद्धतिको विकास र विस्तारका लागि ढिलाई गर्न नहुनेमा जोड दिए।

कार्यक्रममा स्वास्थ्यखबरका सम्पादक प्रवीण ढकालले सोवा रिग्पा उपचार पद्धतिका क्षेत्रमा भएका वैज्ञानिक अनुसन्धान र अभिलेखहरुलाई बाहिर ल्याउँदै यसको महत्व बुझाउन आवश्यक रहेको कुरामा जोड दिए।

सोवा रिग्पा एसोसिएसनकी सदस्य डा पेम्बा डोल्मा लामाले शारिरीक तथा मानसिक स्वास्थ्यमा विशेष जोड दिने सोवा रिग्पा चिकित्सा पद्धतिलाई प्रवर्धन गर्न आवश्यक रहेको बताइन्। उनले यो उउपचार पद्धतिलाई साइन्स अफ हिलिङ पनि भनिने भन्दै यस उपचार विधिका वैज्ञानिक तरिकाबाट गहन अध्ययन र व्याख्या गरिएको विषयमा पनि जानकारी दिइन्।

स्वास्थ्य मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाका प्रमुख डा पुष्पराज पौडेलले सोवा रिग्पा चिकित्सा पद्धतिका बारेमा आइरहेको विषयको संबोधनका लागि आफू लाग्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका सिनेट सदस्य कपिल लामाले सोवा रिग्पालाई मुल प्रवाहमा ल्याउन निकै चुनौती भइरहेको जानकारी दिए। उनले चुनौतीलाई चिर्दै सबैको साथ र सहयोग भएमा सोवा रिग्पा पद्धतिको विकास छिटो हुने बताए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *