डा. अरुण शाहीलाई ५१ हजार राशीको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार

काठमाडौँ, ९ पुस । एनआरएनए नन् रेसिडेन्ट नेपाली एसोसिएशन क्यालिफोर्निया अमेरिकाले हरेक वर्ष प्रदान गर्दै आइरहेको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार यस वर्ष मेडिकल अंकोलोजिष्ट डा. अरुण शाहीले प्राप्त गरेका छन् ।
पर्वतको पैंयु गाउँ पालिकास्थित हुवासमा आज आयोजित विशेष समारोहमा गत वर्षका बिजेता डा. शेरबहादुर पुनले डा. शाहीलाई ‘अन्तराष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार -२०२३’ प्रदान गरेका छन् । सो पुरस्कारको राशी ५१ हजार रुपैयाँ र ताम्र पत्र रहेको छ ।
यसअघि पुरस्कारका लागि नाम सिफारिस समितिको सिफारिस बमोजिम क्यालिफोर्नियामा गत ५ डिसेम्बरमा बसेको एसोसिएशनको सचिवालय बैठकले डा. शाहीलाई यसबर्षको अन्तराष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार – २०२३ द्धारा सम्मान गर्ने निर्णय गरेको थियो ।
एनआरएनएले डा शाहीलाई मानव स्वास्थ्यका लागि चुनौती बनिरहेको क्यान्सबाट जोगाउन सामाजिक सञ्जाल, सञ्चारमाध्यम, राष्ट्रिय अन्तराष्ट्रिय सेमिनारमार्फत तथ्यगत तथा प्रामाणिक सूचना जानकारीहरु प्रवाह गर्ने कार्यमा सक्रिय रहेको साथै क्यान्सरका बिरामीहरुको उपचारमा दिनरात नभनी खटिने उनको कार्यलाई उच्च मूल्यांकन गर्दै यो पुरस्कारप्रदान गरेको जनाएको छ ।

पुरस्कार वितरण समारोहलाई एसोसिएशनको नेपालस्थित साझेदार संस्था देउराली फाउण्डेशनले व्यवस्थापन गरेको हो । फाउण्डेशनका अध्यक्ष भीम सुवेदी, बुद्धि विश्वकर्मा लगायतका प्रतिनिधिहरुले पुरस्कार वितरणका लागि सहजीकरण गरेका थिए ।
पुरस्कार वितरण समारोहमा एनआरएन प्रतिनिधिको रुपमा देउराली फाउन्डेशनका अध्यक्ष भीम घिमिरे र बुद्धि विश्वकर्मा, यस्तै गाउँपालिका अध्यक्ष तोरन मल्ल ठकुरी, लगायतको उपस्थिथि थियो ।
पुरस्कृत भएपछि डा शाहीले खुशी व्यक्त गर्दै एसोसिएसशनलाई आभार व्यक्त गरे । उनले पुरस्कारले क्यान्सर रोग, पहिचान, उपचार र रोकथामका क्षेत्रमा अझ सक्रियताका साथ क्रियाशिल हुनका लागि दायित्व थपिएको महसुस भएको बताए ।
एसोसिएशनका अध्यक्ष माधव मरासिनीले देशका लागि योगदान गरेका विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान र थप उप्रेरणाका लागि पुरस्कार तथा सम्मान प्रदान गर्दै आइरहेको बताए ।

सोही अवसरमा हुवास बहुमुखी क्याम्पसलाई अन्तराष्ट्रिय शिक्षा सेवा पुरस्कार र सञ्जय रेग्मीलाई अन्तराष्ट्रिय सञ्चार सेवा पुरस्कार प्रदान गरिएको थियो ।
पुरस्कार वितरण समारोह पछि हुवासमा अहिले निशुल्क क्यान्सर, मिर्गौला तथा सरुवा रोग स्क्रिनिङ, उपचार तथा सचेतना शिविर सञ्चालन भइरहेको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



