पाटन अस्पतालमा अब जटिल अवस्थाको स्तन क्यान्सरको औषधि पनि नि:शुल्क

काठमाडौँ, १९ मंसिर । त्यसो त यस अघि देखि नै पाटन अस्पतालमा फोक्सोको केही प्रकारको क्यान्सर, रगतको क्यान्सर, पेटको एक किसिमको क्यान्सर र मिर्गौला लगायतको क्यान्सरबाट गम्भीर अवस्थामा पुगेकाहरुका लागि ‘टार्गेटेड थेरापी’ अन्तर्गत विश्वस्तरीय औषधि नि:शुल्क उपलव्ध भइरहेको छ ।

म्याक्स फाउन्डेशनको सहयोगमा दिईदै आएको ती नि:शुल्क औषधिहरुको सूचीमा अब एक किसिमको स्तन क्यान्सर रोगको औषधि पनि जोडिएको छ ।

अस्पतालका मेडिकल अंकोलोजिष्ट डा. अरुण शाहीले मेटास्टेटिक अवस्था (चौथो स्टेज)को हर्मोन पोजेटिभ भएका बिरामीका लागि राइबोसिक्लिव र लेट्रोजोल भन्ने ट्यावेल निशुल्क उपलव्ध गराउन थालेको बताए ।

‘यी औषधिहरु मेटास्टेटिक अवस्थामा पुगेका बिरामीका लागि अत्यन्तै प्रभावकारी हुन्छ । औषधि विश्वस्तरीय ब्राण्डको हो । युएसएफडीए मान्यता प्राप्त यो औषधि युरोप अमेरिकामा पहिलो रोजाईमा पर्दछ,’ उनले भने । डा शाहीले यो एक किसिमको टार्गेटेड थेरापी हो भन्दै क्यान्सर उपचारका प्रयोग हुने किमोथेरापीको विकल्पमा यो औषधि आएको बताए । उनले यो किमोको तुलनामा बढी प्रभावकारी भएको समेत अध्ययनहरुले  पुष्टि गरेको जानकारी दिए ।

म्याक्सले पाटनमा वितरण गरेका अरु क्यान्सरका औषधिहरु चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट पनि निशुल्क उपलव्ध हुने गरेको छ । तर पछिल्लो पटक आएको स्तन क्यान्सरको यो औषधि पाटनबाट मात्रै उपलव्ध रहेको छ ।

यो औषधि महिनामा २१ दिन प्रयोग गर्नुपर्ने उनको भनाइ छ । उनले भने ‘यो औषधि महिनाको २१ दिन प्रयोग गर्नुपर्छ फेरी एक हप्ता छोड्ने र फेरी अर्को महिना २१ दिन सेवन गर्ने गर्नुपर्छ ।’

खरीद गर्नु पर्दा यो औषधिको मूल्य २१ दिनको नै एक लाख भन्दा बढी पर्ने उनले बताए ।

तोकिएको अवस्थाका बिरामी जो नेपाली नागरिक छन् उनीहरुलाई औषधिले काम गर्दासम्म नि:शुल्क उपलव्ध हुने बताइएको छ ।

केही साता अघि देखि उपलव्ध यो औषधि अहिलेसम्म चार जनाले लिईसकेका छन् भने केही बिरामीहरु लिने प्रक्रियामा रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *