भूकम्पका घाइतेको लागि रगत सङ्कलन गर्दै नेपालगञ्जवासी

बाँके, १९ कात्तिक । जाजरकोट भूकम्पमा परी घाइते तथा पीडित परिवारको लागि सहयोग पुर्याउन नेपालगञ्जवासी जुटेका छन् ।
नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि आएका जाजरकोट र पश्चिम रुकुमका घाइतेलाई नेपालगञ्जवासीले स्वःस्फूर्तरूपमा आवश्यक सहयोगका लागि अग्रसरता देखाएका छन् ।
जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति आएको भूकम्पमा परी घाइते भएका रुकुमपश्चिम र जाजरकोटका घाइतेको उपचारका लागि नेपालञ्जमा शनिबार ८० ‘पिन्ट’ रगत सङ्कलन भएको नेपाल रेडक्रस सोसाइटी बाँकेका सदस्य मीन मल्लले जानकारी दिए ।
उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा ल्याइएका गम्भीर घाइते बिरामीलाई रगतको अभाव हुन नदिन खुला रक्तदान कार्यक्रममा स्वःस्फूर्त रगत सङ्कलन भएको हो। नेपालगन्जस्थित रक्तसञ्चार केन्द्रमा एक सय ५८ पिन्ट रगत मौज्दात रहे पनि आकस्मिक अवस्थाका लागि थप मौज्दात गर्न रगत सङ्कलन सुरु गरिएको हो ।
भूकम्पका घाइतेको उपचारका लागि रगत आवश्यक पर्न सक्ने जनाई सर्वसाधारणलाई खुला रक्तदानमा सहभागी हुन गरिएको आग्रहबमोजिम ठूलो सङ्ख्यामा रगत दिन स्थानीय युवा रक्त सञ्चार केन्द्रमा पुगेको मल्लले बताए।
भेरी अस्पतालमा उपचारार्थ भर्ना भएका भूकम्पका घाइते बिरामी र बिरामीको कुरुवा तथा भेट्ने आफन्तका लागि अस्पताल परिसरमा सञ्चालित अञ्जनी माता रसोइमा आइतबारदेखि निःशुल्क खानाको व्यवस्था गरिएको छ।
भूकम्पका घाइते बिरामी तथा पीडित परिवारलाई सहजरूपमा भोजनको व्यवस्था मिलाइएको अञ्जनी माता रसोइका सञ्चालक सदस्य विजय गुप्ताले बताए।
नेपालगन्जका अगुवा व्यापारी नन्दलाल वैश्यले शनिबार नै अस्पतालमा भर्ना भएका बिरामी तथा कुरुवालाई कम्मल र उनीको पछ्यौरा प्रदान गरे। भेरी अस्पतालमा गए राति थप छ जना बिरामी एम्बुलेन्सबाट उपचारका लागि ल्याइएको छ।
दुईजना भेरी नगरपालिका जाजरकोटका र चारजना सानीभेरी रुकुम पश्चिमका रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।
उनका अनुसार हालसम्म बाँकेमा उपचारका लागि ल्याइएका घाइतेको सङ्ख्या ३८ पुगेको छ। उपचाररत घाइतेमध्ये ३७ जनाको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ भने एकजनाको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
उपचाररत घाइतेमध्ये पाँच जनाको गए राति सफल शल्यक्रिया भइसकेको छ । एक जनाको शनिबार बाटोमै मृत्यु भएको थियो ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

