आपतकालिन पूर्व तयारी विना जोखिम न्यूनिकरण गर्न सकिदैन : स्वास्थ्य मन्त्री बस्नेत
काठमाडौं, २१ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले कुनै पनि प्राकृतिक विपत्तीका बेला हुने क्षति र जोखिम न्यूनिकरणका लागि स्वास्थ्य आपतकालिन पूर्व तयारी हुनु पर्ने बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको संयुक्त आयोजनामा राजधानीमा आईतबारदेखि सुरु भएको स्वास्थ्य आपतकालिन तयारी बलियो बनाउन स्वास्थ्यसंग नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीको संयुक्त पहल सम्बन्धी दुई दिने कार्यशालामा मन्त्री बस्नेतले जोखिम न्युनिकरणमा पूर्व तयारी हुनु पर्ने बताएका हुन ।
नेपाल सधै प्राकृतिक प्रकोपको जोखिममा रहेकोले यसबाट हुने धनजनको क्षति कम गर्न समयमा घाइतेको स्वास्थ्य उपचार गर्न स्वास्थ्यका साथै नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, नागरिक समाज र दातृ निकायको पनि उत्तिकै भूमिका हुनेमा मन्त्री बस्नेतले जोड दिए ।
मन्त्री बस्नेतले भने, ‘ प्राकृतिक प्रकोपका बेला सबैले आफ्नो किसिमले उद्दार र सहयोग गर्ने गरेका छन् । यी सबै शक्तिलाई एकिकृत गर्न सकिए जोखिम न्यूनिकरणमा ठूलो सहयोग पुग्ने छ ।’ बिगतका प्राकृतिक प्रकोपका आफू स्वयं उद्दार र राहत बितरणमा खटेका सयौं उदाहरण रहेको स्मरण गर्दै स्वास्थ्य मन्त्री बस्नेतले अहिले स्वास्थ्य मन्त्रीको जिम्मेवारी प्राप्त गर्नु आफ्नो लागि यो क्षेत्रमा अझै दृढ भएर काम गर्ने अवसर भएको बताए ।
कार्यक्रममा कृषि मन्त्रालयका सचिव रेवतीरमण पौडेलले प्राकृतिक विपत्ति आइपरेपछि मात्र तात्ने प्रवृतिलाई निरुत्साहित गर्दै पूर्व तयारीलाई प्राथमिकता दिनु पर्नेमा जोड दिए ।
विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा.राजेश सम्भाजीराव पाण्डवले प्राकृतिक प्रकोपमा हुने क्षति न्यूनिकरणका लागि स्वास्थ्य आपतकालिन तयारीलाई बलियो बनाउदै लैजानु पर्ने बताए ।
गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमले प्राकृतिक प्रकोपका बिषयमा पूर्व तयारीको अभावमा धेरै नेक्सानी बेहोर्नु परेकोमा जोड दिदै पूर्व तयारी अपरिहार्य रहेको बताए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंह र स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा।संगीता मिश्रले स्वास्थ्यको एक्लो प्रयासले मात्र स्वास्थ्य सम्बन्धी क्षति न्यूनिकरण गर्न नसकिने भएकाले सर्वपक्षिय सहकार्यको आवश्यकता रहेकोमा जोड दिए ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अलावा विश्व स्वास्थ्य संगठन, कृषि, रक्षा, गृह मन्त्रालयका अधिकारी एवं नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी र सरोकारवालाको सहभागिता रहेको छ ।
सम्पर्क इमेल : [email protected]