हल्लिएका मनलाई शान्त बनाउने डा. अनन्तको ‘सर्वाइवल नोट’
काठमाडौँ, १३ असोज । धेरै हल्लिएका, गिजोलिएका मनहरुलाई शान्त बनाउने तथा व्यक्तिका मनभित्र उम्लिएका छटपटी तथा पिडामा मल्हम लगाउने काममा सुपरिचित नाम हो डा. अनन्त अधिकारी । पेशाले मानसिक रोग विशेषज्ञ रहेका उनी अहिले मानसिक अस्पताल पाटनका कार्यकारी निर्देशक समेत हुन् ।
उनै विज्ञ डा. अधिकारी आज भने कविको रुपमा देखा परे । नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ सभा कक्षमा उपस्थित भएका बरिष्ठ प्राज्ञ, कवि, संगितकार तथा साहित्यनुरागीहरुको बीचमा उनको कविता संग्रह ‘सर्वाइवल नोट‘ लोकार्पण भयो ।
बरिष्ठ प्राध्यापक तथा साहित्यकार प्राडा अभि सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ साहित्यकार तथा कलाकारहरुले उनको कवितामाथि समालोचना तथा टिप्पणी गरेका थिए ।
‘अचेल धेरै सुसाइट नोट लेखिएका खवरहरु सुन्नु परेको छ । तर आज सर्वाइवल नोट पढ्न पाइयो,’ प्राडा सुवेदीले भने, ‘मनोचिकित्सक अधिकारीले लेखेको यो पुस्तकमा समावेश यी कविताहरुले साच्चिकै मान्छे बचाएको छ र बचाउने छ ।’
उनले कवितामा पिडा के हो ? कसले दिन्छ पिडा ? कसरी हुन्छ मनमा पिडा ? भन्ने कुरा समेत बढो गहिरोसंग व्यक्त गरिएको उल्लेख गरे ।
यस्तै साहित्यकार डा. गिता त्रिपाठीले आम मान्छेका समस्यालाई साहित्यका माध्यमबाट प्रस्तुत गरिएको र निराशामा परेका व्यक्तिलाई आशा जनाउने काममा यी कविता प्रयोग भएको बताईन् । उनले मनोचिकित्सकले कसरी एउटा हल्लिएका मनलाई सम्हालिदिन्छ ? मनहरुलाई कसरी शान्त बनाउँछ । भन्ने बारेमा बढो गहिरोसंग भावना व्यक्त गरिएको बताईन् ।
काठमाडौँ विश्वविद्यालयका रजिष्ट्राट अच्युत वाग्ले, कलाकार मनोज गजुरेल,साहित्यकर्मी रमेश पौडेल लगायतले कविताका बारेमा टिप्पणी गरेका थिए ।
कवि एवं लेखक डा अधिकारीले साहित्यमा पहिले देखि नै रुची भएको बताउँदै पेशागत विधासंग जोडेर केही प्रयासहरु गरेको बताए । उनले कवितामा आफ्ना भोगाई, अनुभव, उपचार र त्यसपछिका जीवनका बारेमा आफ्ना प्रस्तुति रहेको बताए । ‘म मनोचिकित्साको विद्यार्थी, धेरै विच्छिप्त मनहरु मैले बुझेको छु, देखेको छु, सोही क्रममा म भित्रको कवि मन पनि जागृत भयो र फुटकर रचनाहरुलाई पुस्तकआकार दिन सफल भएँ,’ उनले भने ।
यो कविता आवरण प्रकाशन काठमाडौँले प्रकाशित गरेको हो ।
सम्पर्क इमेल : [email protected]