नेशनल कार्डियाक सेन्टरद्धारा स्वास्थ्य पत्रकारहरुको मुटु परीक्षण
काठमाडौँ, ११ असोज । बसुरन्धरास्थित नेशनल कार्डियाक सेन्टरमा स्वास्थ्य पत्रकारहरुको मुटु परीक्षण भएको छ । विश्व मुटु दिवसको अवसरमा सेन्टरले बिहीबार (आज) पत्रकारहरुको निशुल्क रुपमा मुटु परीक्षण गरिदिएको हो ।
स्वास्थ्य पत्रकार मञ्च नेपालको समन्वयमा भएको मुटु परीक्षणका लागि सेन्टरले व्लड प्रेसर, सुगर, इको, इसीजी र प्याथोलोजी तर्फका सबै परीक्षण सहितको प्याकेज तयार गरेको थियो । सो प्याकेजमा ३५ बढी पत्रकारहरुको परीक्षण भएको छ ।
‘पत्रकार राष्ट्रको चौथो अंग, स्वास्थ्य पत्रकारहरुले रात दिन स्वास्थ्यका विषयमा सबै जनतालाई सुसूचित गर्दै आइरहनु भएको छ । उहाँहरुको यो योगदानलाई हामीले पनि सम्मान गर्नु पर्छ भनेर निशुल्क रुपमा मुटु परीक्षण गरिदिएका हौँ,’ सेन्टरका प्रमुख समेत रहेका बरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले भने । उनले सेन्टरले सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क परीक्षण कार्य गरेको बताए ।
स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले नेशनल कार्डियाक सेन्टरले पत्रकारहरुको स्वास्थ्यको विषयलाई प्राथमिकता दिएर विशेष परीक्षणको व्यवस्था गरिएकोमा खुशी व्यक्त गरे । उनले पत्रकारहरुका लागि भविस्यमा पनि यस्ता कार्यक्रम आयोजना गरिने बताए ।
त्यसो त नेशनल कार्डियाक सेन्टरले गत वर्ष पनि यहि समयमा स्वास्थ्य पत्रकारहरुको निशुल्क मुटु परीक्षण गरिदिएको थियो ।
स्वास्थ्य जाँच पछि सेन्टरमा मुटुरोगको बारेमा अन्तरसम्वाद कार्यक्रमको आयोजना गरिएको थियो । जसमा डा ओमले ४० वर्ष उमेर पछि मुटुरोगको रोकथाम कसरी गर्ने भन्ने बारेमा बताएका थिए ।
उनले मुटुरोग नियन्त्रण गर्न सकिने रोग भएको भन्दै यसमा हेलचेक्राई गर्दा बार्षिक २ करोड बढी व्यक्तिले ज्यान गुमाउने गरेको बताए ।
सम्पर्क इमेल : [email protected]