सरकार स्वास्थ्य बीमा कार्यक्रम समाप्त पार्न खोज्दै छ : प्रदीप ज्ञवाली
काठमाडौँ, १६ असार । नेकपा (एमाले) का नेता तथा उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले स्वास्थ्य बिमा कार्यक्रम समाप्त पार्न खोजेको आरोप लगाएका छन् ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेले श्रमजीवी जनताको उपचारमा सहज हुने गरी ल्याएको सो कार्यक्रम वर्तमान सरकारले समाप्त पार्ने षडयन्त्र गरिरहेको बताएका हुन् ।
उपमहासचिव ज्ञवालीले ३९६ वटा स्थानीय तहमा एकसाथ आधारभूत अस्पताल खोल्ने आफ्नो पार्टी नेतृत्वको सरकारको कामलाई पनि वर्तमान सरकारले बजेट नदिएर अलपत्र पारेको जिकिर गरे ।
उनले भने, ‘हामीले स्वास्थ्य बिमा कार्यक्रम ल्याएका थियौँ । तर वर्षको ३५ सय रुपैयाँ तिरेर स्वास्थ्य बिमा गराएर ५ जनाको परिवारले वर्षभरि एक लाख रुपैयाँसम्मको औषधि निःशुल्क पाउने भन्ने कुरा यो स्वास्थ्यको क्षेत्रमा गरिएको ठुलो क्रान्ति थियो । यो क्रान्तिको सुरुवात स्वास्थ्यमन्त्री हुँदा खगराज अधिकारीजीले गर्नु भएको थियो ।। पछि त्यो कार्यक्रमलाई हामीले देशैभरि अघि बढाएका छौँ । तर आजको त्यो कार्यक्रमलाई समाप्त पार्ने कोशिस हुँदैछ ।’
उनले भने, ‘मैले अघि भूमि आयोगको कुरा गरेँ । कसरी त्यसलाई निष्प्रभावी पारियो भनेर एमाले सरकारबाट हटेपछि । यहीनिर फरक पर्छ राज्य कुन वर्गको पक्षमा चलेको छ भनेर । हामी नहुँदा श्रमजीवी जनताको पक्षमा गरिएको थुप्रै कार्यक्रमहरू ओझेलमा पारिँदैछन् । खोसिँदैछन् । निष्प्रभावी पारिँदैछन् । बजेट दिइदै छैन । हामीले एकै दिन ३९६ वटा पालिकामा आधारभूत अस्पताल शिलान्यास गर्यौँ । आज ती अस्पतालहरू अलपत्र पारिएका छन् ।’
सम्पर्क इमेल : [email protected]