मधेश प्रदेश सरकारले ल्यायो नीति तथा कार्यक्रम, समेटियो स्वास्थ्यको १८ बुँदा

जनकपुर २३ जेठ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ । सरकारको तर्फबाट मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले आव २०८०/०८१ का लागि नीति, कार्यक्रम प्रस्तुत गरेका हुन् । उनले ल्याएको नीति तथा कार्यक्रममा स्वास्थ्यका १८ बुँदा परेको छ ।

त्यसमा प्राथमिक स्वास्थ्य केन्द्रमा एमबीबीएस डाक्टर राख्ने, ६० वर्ष माथिका नागरिकलाई सरकारी स्वास्थ्य संस्थामा ओपिडी टिकट निशुल्क, आँखा कान र दाँत परीक्षण निशुल्क लगायतका विषय राखिएका छन् ।

हेर्नुहोस नीति तथा कार्यक्रममा परेका १८ बुँदा

९३. संघीय सरकार स्थानीय तह एवं सरोकारवालाहरुसँगको समन्वय र साझेदारीमा “पूर्ण सुरक्षित मातृत्व प्रदेशू, पूर्ण खोप युक्त प्रदेश ‘ “कुपोषण मुक्त प्रदेश” बनाउन प्रदेश सरकार प्रतिबद्ध रहनेछ ।

९४. स्वास्थ्य सेवालाई जनस्तर सम्म पुर्याउन “स्वास्थ्य सुधार योजना” को रुपमा पालिकाहरुसंगको समन्वय र सहकार्यमा उपलब्ध स्रोत साधनले भ्याएसम्म प्राथमिक स्वास्थ्यकेन्द्रहरु (PHC) मा कम्तिमा एक जना एम.बी.बी.एस. चिकित्सकको सेवा उपलब्ध गराईनेछ ।

९५. विपन्न तथा आर्थिक अवस्थाका कारण अस्पताल सम्म पुग्न नसक्ने प्रदेशका गरीब नागरिकहरुलाई अस्पताल सम्म ल्याई उपचार सुविधा उपलव्ध गराउने नीति अङ्गीकार गरिने छ । गरीब नागरिक द्वारा आफनो स्वास्थ्य उपचारमा गरिने खर्चलाई न्यूनीकरण गर्न आवश्यक नीतिगत सुधार गरि कार्यक्रम सन्चालन गरिनेछ |

९६. जेष्ठ नागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा उपलव्ध गराउन सरकारी अस्पतालहरुमा विरामी दर्ता गर्दा शुल्क नलाग्ने तथा प्रदेश तथा स्थानीय तहका ल्यावहरुमा निः शुल्क परीक्षण गरिनेछ |

९७. प्रदेशमा संचालित वृद्धा आश्रम, बालगृह, मानवसेवा आश्रममा आश्रित व्यक्तिहरुको स्वास्थ्य परीक्षण र उपचारको लागि घुम्ती स्वास्थ्य सेवा संचालन गरिनेछ ।

९८. मधेश प्रदेश सरकारले ६० वर्ष माथिको नागरिकलाई आँखा, दाँत र कानको फ्री चेकअप गरिने व्यवस्था मिलाउनेछ ।

९९. रक्तचाप, मधुमेह तथा अन्य नसर्ने रोगको प्राथमिक परीक्षण तथा सचेतना वृद्धिका लागि पालिकाहरुसंगको सहकार्यमा “मुख्यमन्त्री घरदैलो स्वास्थ्य सेवा कार्यक्रम” संचालन गरिनेछ ।

१००. प्रदेश स्तरमा बाल अस्पताल स्थापना तथा सञ्चालनको लागि संघीय सरकारसँग पहल गरिने छ । बारा जिल्लाको झिटकैयामा सरुवा रोग अस्पताल निर्माण गरिनेछ ।

१०१. क्यान्सर रोगको उपचारका लागि प्रदेशमा क्यान्सर अस्पताललाई थप सुदृढिकरणका लागि संघीय सरकारसंग पहल गरिनेछ ।

१०२.मधेश स्वास्थय विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षाको अध्ययन अध्यापन कार्य प्रारम्भ भएको विदितैछ । यस प्रतिष्ठानलाई प्रादेशिक गौरवको आयोजनाको रुपमा विकसित गर्न गुरुयोजना बनाई क्रमशः कार्यान्वयन गर्दै लगिनेछ । प्रतिष्ठानमा विशिष्टकृत सेवाहरु प्रदान गर्न (हृदय रोग, क्यान्सर, D.R.T.B जेरियाट्रिक तथा मानसिक रोगहरु उपचार केन्द्र) संस्थागत सुधार जनशक्तिको प्रबन्ध एवं आवश्यक पूर्वाधारहरुको निर्माण गरिनेछ ।

१०३. ६ वटा जिल्लामा रहेका प्रादेशिक अस्पतालहरुमा विशेषज्ञ सेवा संचालनमा ल्याउन Physiotherapy and Dialysis लगायतका सेवाहरु संचालन गरी १०० वेडको अस्पतालमा परिनत गरिनेछ र सिरहा जिल्ला स्थित प्रादेशिक अस्पताल, सिरहालाई १५० वेडमा र धनुषाको डुमरिया, पर्साको पोखरीया, सप्तरीको भारदह अस्पतालहरुलाई ५० वेडमा स्तरोन्नती गरिनेछ ।

१०४. प्रदेश जनस्वास्थ्य प्रयोगशालामार्फत आठ वटै जिल्लामा रहेका विभिन्न स्वास्थ्य प्रयोगशालाहरुको सुदृढीकरण तथा गुणस्तर अभिवृद्धिको लागि पूर्वाधार निर्माण, थप जनशक्ति र उपकरणको व्यवस्था गरिनेछ ।

१०५. ब्लड बैंक सेवालाई नयाँ प्रविधि सहित सुदृढीकरण तथा आधुनिकीकरण गरी सञ्चालन गरिनेछ ।

१०६. गुणस्तरीय स्वास्थ्य सेवामा हरेक वर्ग, जाती तथा समुदायको पहुँच सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण रणनीति, २०७८ प्रभावकारी रूपले कार्यान्वयन गरिनेछ ।

१०७. प्रदेश भित्रका सबै अस्पताल र स्वास्थ्य सेवा केन्द्रहरुले प्रदान गर्ने स्वास्थ्य सेवाहरुको न्यूनतम मापदण्ड तोकी सो को पालनाको लागि नियमित अनुगमन गरिनेछ ।

१०८. स्वास्थ्य सेवालाई थप बिस्तार गर्न आयुर्वेद, योग, होमियोप्याथी तथा अन्य बैकल्पिक उपचार पद्धतिको विस्तार गरिनेछ र सो को लागि चाहिने आवश्यक उपकरण तथा विशेषज्ञ सेवाको व्यवस्था गरिनेछ । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरु मध्ये भौतिक पूर्वाधार प्राप्त रहेका जिल्लाहरुलाई १० वेडको अस्पतालमा स्तरोन्नती गरिनेछ ।

१०९. मोबाईल ट्रमा अस्पताल संचालनका लागि प्रकृया अगाडी बढाईनेछ ।

११०. मलेरीया, फाइलेरीया, कालाजार, क्षयरोग, कुष्ठरोग, डेंगु लगायतका रोगहरुको रोकथाम नियन्त्रण एवं निवारणका लागि आधुनिक प्रभावकारी कार्यक्रमहरु समुदाय स्तरसम्म सञ्चालन गरिनेछ ।

१११. प्रदेश अन्तर्गत दलित तथा विपन्न विद्यार्थीहरुलाई अ.न.मी., स्टाफ नर्स, हेल्थ असिष्टेण्टको प्राविधिक तालिमको लागि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरिनेछ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *