तपाईँलाई थाहा छ ? ‘वीरमा ओपीडी जाँचको टिकट लिन लाइन लाग्नु पर्दैन, मोवाइलबाटै मिल्छ नि’

काठमाडौँ, १० जेठ । बिरामी जाँचका लागि टिकट तथा टोकन लिनका लागि लाग्ने भीडलाई व्यवस्थित गर्न भन्दै वीर अस्पतालले करीव डेढ वर्ष अघि देखि नै डिजिटल सेवा प्रारम्भ गरेको हो ।

सो सेवा लिन जान्नेले ओपिडी जाँचका लागि टोकन र टिकट लिन विहानै देखि लाइन लाग्न वीर अस्पताल जानु पर्दैन । आफै नै मोवाइलमा रहेको वीर अस्पतालको मोवाइल एम मार्फत घरमै बसीबसी ओपिडी टिकट लिन मिल्छ । मानिसहरुले त्यसरी सेवा पनि लिई रहेका छन् ।
तर अस्पताल परिसर गएर लाइन लागेर टिकट लिनेको भीड अहिले पनि उस्तै छ ।

अस्पतालका निर्देशक डा सन्तोष पौडेलले दैनिक ओपिडी सेवाका लागि २२०० देखि २५०० सम्म आउने बिरामीमध्ये करीव १ प्रतिशतले मात्रै अनलाइनमार्फत ओपिडी टिकट लिने गरेको बताउँछन् ।

‘यो सेवाको बारेमा जानकारी नभएर हो या सेवा लिन नजानेर हो, एपबाट सेवा लिनेको संख्या निकै नै कम भयो । यसलाई बढाउन सके अस्पतालको भिडभाड कम हुन्थ्यो,’ डा पौडेलले भने ।

उनले अनलाइनमार्फत ओपिडी टिकट लिनेहरुको पालो लाइन बसेर टिकट लिनेहरु भन्दा पहिले नै आउने भन्दै उनीहरु सिधै ओपिडी कक्षमा गएर सेवा लिन सक्ने बताए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका निमित्त उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले एकेडेमिकसंगै तथा क्युरेटिभ सर्भिसलाई चुस्त बनाउने आफ्नो योजना रहेको बताए । त्यस अन्तरगर्त वीर अस्पतालको भीड व्यवस्थित गर्दै चुस्त उपचार सेवा उपलव्ध गराउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

‘दैनिक २२०० देखि २५०० सम्म ओपिडी सेवाका लागि आउने गर्नुहुन्छ । भर्ना भएका ५ बढी हुनुहुन्छ । आकस्मिक सेवाका लागि त्यहि दरमा बिरामी आउनुहुन्छ । यसले गर्दा वीरको परिसरमा दैनिक १० हजार बढीको आवत जावत हुन्छ । साघुरो ठाँउमा यति धेरै मान्छेको ओहोर दोहोर, टोकन, टिकट आदिमा लाग्ने लाइनले भीड थेगिनसक्नु देखिन्छ । यसलाई व्यवस्थित बनाउने पनि मेरो प्राथमिकतामा परेको छ’ प्राडा बस्नेतले भने ।

वीरले ३ मंसिर २०७८ देखि सञ्चालनमा ल्याएको मोवाइल एपबाट ओपिडी टिकट लिँदा मोवाइल वालेट खल्ती वा इ सेवाबाट पैसा भुक्तानी गर्न मिल्छ ।  त्यसअघि आफ्नो मोवाइलमा वीर अस्पतालको मोवाइल एप डाउनलोड गर्नुपर्छ ।

‘मोवाइल एपबाट ओपिडी सेवा मात्रै होइन परीक्षण पछिका ल्याव रिपोर्टहरु पनि हेर्न मिल्छ । डिजिटल सिस्टम प्रयोग गर्न सकियो भने आफूलाई पनि सजिलो र अस्पतालको भिडभाड पनि कम हुन्थ्यो,’प्राडा बस्नेतले भने ।

त्यसो त वीरमा आउने सबै विरामीहरु मोवाइल एप चलाउने खालका हुन्छन् भन्ने छैन् ।

‘आम सर्वसाधारण र विपन्न नागरिकको रोजाईमा पर्ने भएकोले उनीहरु मोवाइल एपको पहुँचमा नै नहुन पनि सक्छन् । त्यसैले हामीले अनलाइन र अफ लाइनको टिकट व्यवस्था गरेका हौँ । सक्ने, मिल्ने र जान्नेहरुले अनलाइनबाट नै टिकट लिनु भयो भने यो विस्तारै सहज हुँदै जान्थ्यो भन्ने मात्रै हो,’ फेरी निर्देशक डा पौडेलले थपे ।

मोवाइल एपमा कुन रोगको परीक्षणका लागि को डाक्टर उपलव्ध हुन्छ ? कुन बार को डाक्टरको पालो आदि सबै हेर्न सकिन्छ ।

त्यसो त अस्पतालले पनि ओपिडी टिकट काउन्टर परिसरमा स्वयंसेवक खटाएर मोवाइल एप मार्फत सेवा कसरी लिने भन्ने जानकारी दिने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *