सन्दर्भ : विश्व उच्च रक्तचाप दिवस

उच्च रक्तचापबारे थाहा पाउनु पर्ने महत्वपूर्ण १० कुराहरु

उच्च रक्तचाप सम्वन्धि समस्या धेरैलाई छ । पछिल्ला अध्ययनहरुले ३० वर्ष माथिका प्रत्येक तीन जनामध्ये एक जनालाई र ५० वर्ष माथिका प्रत्येक दुई जना मध्ये एक जनालाई उच्च रक्तचापको समस्या भएको देखाएको छ ।

यो रोगका कारण धेरै जनाको हृदयघात र मस्तिष्कघात भएर आकस्मिक मृत्यु भै राखेको छ । यो रोगको समयमै उपचार गरे हृदयघात र मस्तिष्कघात भई हुने आकस्मिक मृत्युबाट धेरैलाई बचाउन सकिन्छ ।

उच्च रक्तचापबारे दश महत्वपूर्ण कुराहरु :

१. संसारमा सबैभन्दा धेरै मानिसहरु पीडित भएको मुटुरोग हो उच्च रक्तचाप ।

२. नसाहरु भित्र बग्ने रगतले नसाको भित्तामा पार्ने चापलाई रक्तचाप भनिन्छ । यो चाप चाहिने भन्दा धेरै अर्थात् १३०/८५ भन्दा धेरै भयो भने यस अवस्थालाई उच्च रक्तचाप भनिन्छ । यो नम्बर सबैले थाहा पाउनु पर्छ – १३०/८५ ।

३. रक्तचाप र उमेरको सम्बन्ध छैन । पुरानो अवधारण अनुसार उमेर बढ्दै जाँदा रक्तचाप बढ्दै जान्छ र यो सामान्य हो भन्ने गरिन्थ्यो । तर यो सत्य होइन । १८ वर्षभन्दा माथी सबै उमेरका मानिसहरुकालागि नर्मल रक्तचाप भनेको १३०/८५ भन्दा कम नै हो । उमेर बढ्दै जाँदा रक्तचाप बढ्दै गयो भने यसलाई रोग मानिन्छ । जस्तै पुराना अवधारणा अनुसार ६० वर्षको व्यक्तिलाई १६०/९० सम्म को रक्तचापलाई सामान्य मानिन्थ्यो तर नयाँ अवधारणा अनुसार ६० वर्षको मानिसको पनि सामान्य (नर्मल) भनेको १३०/८५ नै हो । यो भन्दा माथी उच्च रक्तचाप नै हो ।

४. उच्च रक्तचाप रोगको लक्षण हुँदैन । टाउको दुख्ने, चक्कर लाग्ने, लक्षण धेरै कम मानिसहरु (करिब ५–१० प्रतिशत) लाई हुन्छ । धेरैले रक्तचाप बढेको थाहा पाउदैनन् । रक्तचाप बढेको नजाँची थाहा पाउन सकिदैन । यसकारण नियमित रुपमा रक्तचाप नाप्ने बानी बसाल्नु पर्छ । स्वस्थ व्यक्तिले वर्षको १ पल्ट, औषधी सेवन गरिरहेकाहरुले समस्या छैन भने पनि प्रत्येक ३–३ महिनामा रक्तचाप जचाउनु आवश्यक छ ।

५. उच्च रक्तचाप रोगलाई साइलेन्ट किलर  अर्थात सुशुप्त हत्यारा रोग (थाहै नदिइकन मृत्यु गराउने रोग) भनिन्छ । यसो भन्नाको कारण यो हो की उच्च रक्तचापले लक्षण नहुदा नहुदै, थाहै नदिइ यो रोगले मानिसको मृत्यु गराउन सक्छ ।

६. उच्च रक्तचाप रोग लाग्नुको मुख्य कारणहरु अस्वस्थ जीवनशैली, मानसिक तनाव र वंशानुगत हुन् । जीवनशैली भन्नाले अस्वस्थ खाना (धेरै नून, धेरै चिल्लो भएको खाना), व्यायाम नगर्ने अल्छी बानी, चूरोट, सूर्ति र रक्सीको सेवन, अत्याधिक कार्यबोझ, चिन्ता र मानसिक तनाव पर्दछ । यस्तै वंशानुगत भन्नाले पुरुष नातेदार लाई ५५ वर्ष भन्दा कम र महिला नातेदारलाई ६५ वर्ष भन्दा कम उमेरका उच्च रक्तचाप भएको अवस्थालाई बुझ्नु पर्छ । वंहामा उच्च रक्तचाप रोग छ भने यो रोग तपाईलाई लाग्ने सम्भावना ५० प्रतिशत भन्दा बढी रहन्छ ।

७. उच्च रक्तचाप रोगको उपचार गरेन भने हृदयघात, मस्तिष्कघात, अन्धोपना, मिर्गौला फेल हुने र आकस्मिक मृत्यु हुने अत्याधिक सम्भावना रहन्छ । धेरै मानिसहरु आज अल्पायू मै यिनै अवस्थाहरुको शिकार भएका छन् ।

८. नेपालीहरुलाई उच्च रक्तचाप रोग लाग्नुको एउटा कारण धेरै नून खानु पनि हो । अध्ययनले देखाएको छ कि नेपालीहरु आवश्यक भन्दा ठिक दोब्बर मात्रामा नून खान्छन् । हामीले खानामा नूनको मात्रा ठिक आधा घटाउनु पर्ने आवश्यकता छ ।

९. उच्च रक्तचापको उपचारमा प्रयोग हुने औषधीहरुले साइड इफेक्ट गर्छ, मिर्गौला बिगार्छ, खाएपछि जीवनभर खाई राख्नु पर्छ, बीचमा औषधी सेवन रोक्नु मिल्दैन जस्ता थुपै्र भ्रमहरु जनमानसमा फैलिएको देखिन्छ । यी कुराहरु सत्य होइनन् । उच्च रक्तचापको औषधी खाएन भने ज्यान जान सक्छ, भन्ने दृष्टिकोणबाट हेर्नु पर्छ सधैं खानुपर्ने, साइड इफेक्ट गर्ने, बानी पर्ने भन्ने कुराहरु सामान्य हुन् । हिजो आज उच्च रक्तचापलाई पूर्ण रुपले निको पार्न सकिने कुराहरु पनि आएका छन् । कतिपय अवस्थामा रोग ठिक भएर औषधी खान नपर्ने पनि हुन सक्छ ।

१०. उच्च रक्तचापको गहिरो सम्बन्ध मानसिक स्थिती, सोचाई, स्वभाव र भावनासँग रहेको छ । सरल, शान्त, सकारात्मक, दानी, सहयोगी, मायालु जस्ता बानी व्यहोरा र स्वभावको विकासबाट उच्च रक्तचापबाट बच्न धेरै सहयोग पुग्दछ । योग (व्यायाम, प्राणायाम, ध्यान) स्वस्थ आहार, प्रशस्त फलफूल खाने बानी, दैनिक व्यायाम, खानामा नून को मात्रा कम गर्ने र चूरोट, सूर्ति, रक्सीको सेवन नगर्ने बानी उच्च रक्तचाप रोगको रोकथाम, नियन्त्रण र उपचारमा सहयोगी हुन्छन् ।

अत: तपाईँ पनि आजै आफ्नो रक्तचाप जाच्नोस् र यदि १३०/८५ भन्दा बढी छ भने तुरुन्त यसको उपचारमा लाग्नोस् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *