स्तन क्यान्सर हुन लाग्यो भनेर कसरी थाहा पाउने ? यसको जोखिमबाट जोगिन के गर्ने ?

सन् २०२० को ग्लोबल क्यान्सरको प्रतिवेदन अनुसार विश्वमा २३ लाख महिलाहरूमा स्तन क्यान्सर देखिएको छ । सोही बर्ष ६८ हजार ५०० जनाले स्तन क्यान्सरका कारण ज्यान गुमाएका थिए ।

ग्लोबो क्यान नेपालको सन् २०२० को  तथ्याङ्क हेर्दा १ हजार ९७३ जना स्तन क्यान्सरका नयाँ बिरामीहरु थपिएका थिए । सोही वर्ष १ हजार ४९ जनाको स्तन क्यान्सर कै कारण ज्यान गएको थियो ।

ग्लोबो क्यान नेपाल २०२० का अनुसार स्तन क्यान्सर नेपालमा हुने क्यान्सरमध्ये तेस्रो नम्बरमा पर्दछ । स्तन क्यान्सर महिला, पुरुष जोसकैलाई पनि हुनसक्छ ।

नेपालमा विगत केही वर्षको तथ्याङ्क केलाउने हो भने स्तन क्यान्सरका बिरामीहरु वर्षेनी बढिरहेको देखिन्छ । यसका कारणहरूमा जीवन शैलीमा आएको परिवर्तन जस्तैः मोटोपना, मद्यपान र धुम्रपान, निस्क्रिय जीवनशैली, अस्वस्थकर खाना, चिल्लो बोसोयुक्त खाना र स्तनपान नगराउनु हुन सक्छन् ।

स्तन क्यान्सरलाई प्रारम्भिक अवस्थामा नै पत्ता लगाउन सकेमा यसलाई निको पार्न सकिन्छ । तर ढिला भयो भने उपचार गरेता पनि निको हुन गाह्रो हुन सक्छ ।

त्यसैले यो अवस्था आउन नदिन शुरुकै अवस्थामा स्तन क्यान्सर पत्ता लगाउनु सबैभन्दा उत्तम हुन्छ ।

स्तन क्यान्सरका लक्षणहरू

  • स्तन वा काखीमुनि नदुख्ने गिर्खा आउनु,
  • स्तनको आकारमा परिवर्तन आउनु,
  • स्तनको मुन्टा भित्रतर्फ जान थाल्नु,
  • स्तनको मुन्टाबाट पीप, रगत वा पानी जस्ता तरल पदार्थ बग्नु,
  • स्तन दुख्नु वा सुन्नीनु,
  • स्तनको छालामा निको नहुने घाउ आइरहनु
  • स्तनको छाला सुन्तलाको बोकाजस्तो हुनु

स्तन क्यान्सर परीक्षण विधि

स्तन क्यान्सर परीक्षण विभिन्न विधिबाट गर्न सकिन्छ,
१. स्वयं स्तन जाँच (Breast self-exam)
२.  क्लिनिकल ब्रेष्ट इक्जाम (Clinical Breast Exam)
३. अल्ट्रासाउण्ड (Ultrasound)
४. म्यामोग्राफी (Mammography)

यी सबै प्रारम्भिक परीक्षण विधिवाट स्तनको नियमित परीक्षण गरेमा स्तन क्यान्सर समयमै पत्ता लगाउन सकिन्छ । यी विधिहरूमध्ये स्वयं स्तन जाँच (Breast self-exam) हामी आफैले घरमै बसेर जाँच गर्न सकिन्छ भने म्यामोग्राफी(Mammography)। क्लिनिकल ब्रेष्ट (Clinical Breast Exam)  र अल्ट्रासाउण्ड (Ultrasound) को लागि ती सेवा पाइने स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीको परामर्श लिएर गर्नुपर्छ ।

स्वयं स्तन जाँच किन गर्ने ?

स्वयं स्तन परिक्षणले आफ्नो स्तनको स्वाभाविक आकार, रङ र महसुसताबारे थाहा पाउन मद्दत गर्दछ । यदि आफ्नो स्तनमा कुनै अस्वभाविक परिवर्तन पाउनु भयो वा एउटा स्तनको तुलनामा अर्को स्तनमा परिवर्तन पाउनु भयो भने स्वास्थ्यकर्मीसंग तुरुन्तै सम्पर्क गर्नुपर्दछ । स्तन क्यान्सर  लगायत विभिन्न कारणले परिवर्तन हुन सक्छ ।

स्वयं स्तन जाँच कहिले गर्ने ?

स्तनको स्व-परीक्षण शुरू गर्नु भन्दा अगाडि यसको बिधिबारे स्वास्थ्यकर्मीसँग छलफल गर्न उपयुक्त हुन्छ ।

  • महिनावारी भइरहेका महिलाहरूले महिनावारी भएको चौंथो दिनदेखि सातौं दिनसम्म,
  • महिनावारी सुकिसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिनः जस्तै महिनाको पहिलो शनिवार वा १ गते महिलाहरूले सम्झिन सजिलो बनाउन नियमित रुपमा स्तन स्व-परीक्षण गर्नुपर्छ ।

स्वयं स्तन जाँच कसरी गर्न सकिन्छ ?

स्वयं स्तनको परीक्षण :  स्वयं स्तन जाँच, स्तन क्यान्सरको शुरुको अवस्था पत्ता लगाउन सकिने सजिलो र प्रभावकारी विधि हो । यसको लागि ऐना अगाडि जिउको माथिल्लो भागमा बिना कपडा आफ्नो हातलाई छेउमा राखेर उभिनुहोस् ।

स्तन जांचको लागि निम्न विधि अपनाउनुहोस्ः

  • दुबै स्तनमा असमानता, छालामा मुजा परेको, सुन्तलाको बोक्रा जस्तो हुने
  • स्तनको मुन्टा गाडिएको वा स्तनको मुन्टाबाट पिप, रगत वा पानी जस्ता तरल पदार्थ निस्किने
  • हातलाई कम्मरमा राखी अलि अगाडि निहुरिदा यी उल्लेखित परिवर्तन भएको छ वा छैन विचार गर्ने यदि तपाईलाई कुनै किसिमको दृष्टि
    अशक्तताको कारण स्तनको जाँच गर्न कठिनाई छ भने कोही विश्वासिलो साथी वा परिवारका सदस्यसंग सहयोग माग्नुहोस् ।

स्तन क्यान्सरको जोखिमबाट बच्ने उपायहरू

–  धूमपान तथा मद्यपान नगर्ने ,

  • नियमित व्यायाम गर्ने,
  • तौललाई सन्तुलनमा राख्ने,
  • पोषणयुक्त खानेकुरा खाने,
  • स्तनको नियमित जाँच वा परीक्षण गर्ने,
  • स्तनपान गराउने ।

स्वास्थ्यकर्मीको सल्लाह अनुसार महिलाहरूले बर्षको एक पटक स्वास्थ्य संस्थामा गएर स्तनको जाँच गराउनु पर्दछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *