ट्रान्सफ्याटको कारण विश्वका पाँच अर्व मानिसहरुमा मुटुजन्य रोग र मृत्युको जोखिम बढी : डब्लुएचओ

ट्रान्सफ्याटको प्रयोग नियन्त्रण गर्न नेपालले के गर्दैछ ?

काठमाडौँ, ११ माघ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वका पाँच अर्व मानिसहरु अहिले पनि हानिकारक ट्रान्सफ्याटको सेवनका कारण उत्पन्न मुटुजन्य रोग र मृत्युको जोखिमबाट गुज्रिरहेका छन् ।

हानिकारक ट्रान्सफ्याट नियन्त्रण गर्न असफल देशहरुलाई अपिल गर्दै डब्लुएचओको पछिल्लो भनाई आएको हो ।

त्यसो त डब्लुएचओले झण्डै पाँच वर्ष अघि नै अर्थात सन् २०१८ मा औद्योगिक कारखानाबाट हानिकारक ट्रान्सफ्याट सन् २०२३ सम्ममा विश्वबाटै उन्मुलन गर्ने लक्ष्य लिएको घोषणा गरेको थियो ।

किनभने त्यसबेलाकै प्रतिवेदनले हानिकारक ट्रान्सफ्याटका कारण बार्षिक पाँच लाख मानिसको ज्यान जाने गरेको डरलाग्दो तथ्य पस्केको थियो ।

अहिले विश्वका ४३ वटा देशले खाद्यन्नमा ट्रान्सफ्याट नियन्त्रणका लागि उत्तम अभ्यास नीतिहरु लागू गरेका छन् । ती देशमा रहेका झण्डै २ अर्व ८० करोड मानिसहरु पनि सुरक्षित छन् ।

डव्लुएचओका अनुसार इजिप्ट, अष्ट्रेलिया तथा दक्षिण कोरिया लगायतका देशहरुमा मुटुजन्य रोगको जोखिम बढी भएपनि त्यसलाई घटाउने नीतिका साथ बनाइएको ट्रान्सफ्याट नियन्त्रण गर्ने नीति बनाइसकेका छैनन् ।

के हो ट्रान्सफ्याट ?

बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रेमराज बैद्यका अनुसार साधारण भाषामा ट्रान्सफ्याट भनेको हानिकारक चिल्लो पदार्थ भनेर बुझ्न सकिन्छ । यसलाई ट्रान्सफ्याट्टी एसिड पनि भनिन्छ । मुख्यतः खानामा दुई किसिमको ट्रान्सफ्याट पाइन्छ ।

एउटा प्राकृतिक ट्रान्सफ्याट र अर्को कृत्रिम ट्रान्सफ्याट ।

प्राकृतिक ट्रान्सफ्याट जनावरको रातो मासु, दूध, घिउ आदिमा पाइन्छ । जनावरबाट उत्पादन हुने ट्रान्सफ्याट थोरै मात्रामा हुने भएकाले ठिक्क प्रयोग गर्दा खासै हानि हुँदैन ।

कृत्रिम ट्रान्सफ्याट वनस्पति तेलमा हाइड्रोजनको मिश्रणबाट कारखानामा बनाइन्छ । यसको थोरै प्रयोगले पनि मानिसको शरीरमा हानि पुर्‍याउँछ । यस्तो खालको चिल्लो पदार्थ कोठाको सामान्य तापक्रममा जम्ने गर्छ ।

अब फ्याटि एसिडबारे पनि जानौँ ।

फ्याट अर्थात फ्याटि एसिड दुई किसिमका हुन्छन् । एउटा स्याचुरेटेड र अर्को अनस्याचुरेटेड ।

तेललाई जति धेरै तताइन्छ स्याचुरेटेड फ्याट त्यति धेरै वृद्धि हुँदै जान्छ । घिउ, बोसोमा भने नतताईकन नै स्याचुरेटेड फ्याट हुन्छ । अनस्याचुरेटेड फ्याट पनि दुई किसिमको हुन्छ । एउटा पोलीअनस्याचुरेटेड फ्याटी एसिड र अर्को मोनोअनस्याचुरेटेड फ्याटी एसिड ।

मोनोअनस्याचुरेटेड पनि दुई किसिमको हुने गर्छ । एउटा ट्रान्सफ्याट र अर्को सिसफ्याट ।

यसमध्ये ट्रान्सफ्याट धेरै हानिकारक छ ।

नियन्त्रणका लागि के गर्ने ?
एउटै तेल बारम्बार प्रयोग गर्दा त्यसबाट अति खराव चिल्लो पदार्थ (ट्रान्सफ्याट) उत्पन्न हुन्छ । तर सस्तो पर्ने भएकोले खाद्य पदार्थ उत्पादकहरुले यसलाई प्रयोगमा ल्याईनै रहेका छन् । त्यसैले ट्रान्सफ्याटको प्रयोगलाई नियन्त्रण गर्न यसको प्रमुख स्रोत हाइट्रोजनयुक्त तेलको उत्पादन वा प्रयोगमा देशव्यापी प्रतिवन्धन लगाउनु पर्ने देखिएको छ । नत्र भने खाद्यन्नमा ट्रान्सफ्याटलाई २ प्रतिशत भन्दा माथि नजाने गरी खुम्च्याउनु पर्दछ ।

डब्लुएचओले ट्रान्सफ्याटको कारण मुुटुजन्य रोग र मृत्युको जोखिममा रहेका १६ देशमध्ये ९ देशले अहिले पनि ठोस कदम नचालेको उल्लेख गरेको छ ।

ती देशहरुमा नेपाल, अष्ट्रेलिया, भुटान, अजरबैजान, इक्वेडर, इजिप्ट, ईरान, नेपाल, पाकिस्तान र दक्षिणकोरिया रहेका छन् ।
डब्लुएचओका पोषण तथा खाद्य सुरक्षा निर्देशक फ्रान्सिस्को ब्रांकाले यी देशहरुलाई तत्काल कारवाही गर्ने बताएका छन् ।

यसको असर कस्तो हुन्छ ?

मुटुरोग विशेषज्ञ डा बैद्यका अनुसार  ट्रान्सफ्याट मिसिएकाखाना खाँदा त्यसले मानिसको मुटु, रक्तनली, मिर्गौला र मस्तिष्कमा गम्भीर असर

पुर्‍याउने गरेको र यसले मानिसको मृत्युदर बढाउन थालेको अनुसन्धानबाट पाइएकोले ट्रान्सफ्याटलाई प्रतिबन्ध लगाउने अभियान विश्वभर शुरु गरिएको हो ।

पहिले हामी अनस्याचुरेटेड फ्याट वा वनस्पति तेलहरुलाई राम्रो भन्थ्यौँ । यही तेलहरुमा हाइड्रोजन ग्यास मिसाएर हाड्रोजेनेसन गरेपछि तेल अलि बाक्लो हुन्छ । अझ धेरै हाइड्रोजन मिसाएपछि तेल जम्छ, जसलाई वनस्पति घिउ ९डाल्डा० भन्ने गरिन्छ । यो वनस्पति घिउ निकै खराब हुन्छ । त्यसमा ट्रान्सफ्याट धेरै हुन्छ ।

वनस्पति घिउमा ३५ देखि ६५ प्रतिशतसम्म ट्रान्सफ्याट भएको पाइन्छ । यो भनेको मानवस्वास्थ्यका लागि निकै खराब हो । यसले स्वास्थ्यमा प्रत्यक्ष हानि पुर्‍याउँछ ।

यसको तुलनामा प्राकृतिक स्रोतबाट प्राप्त हुने ट्रान्सफ्याटको अनुपातनिकै कम हुन्छ । रातो मासुमा ५ देखि १० प्रतिशतसम्म ट्रान्सफ्याट हुन्छ । दूध, दही, घिउमा एक–दुई प्रतिशत मात्र ट्रान्सफ्याट हुन्छ, जसलाई खानु सुरक्षित मानिन्छ ।

ट्रान्सफ्याट धेरै भएको खानेकुरा खाएपछि यसले मानिसको शरीरमा कोलेस्ट्रोलको सन्तुलनमा गडबडी ल्याउँछ । फाइदा गर्ने कोलेस्ट्रोल एचडीएल घटाउँछ र खराब गर्ने कोलेस्ट्रोल एलडीएल बढाउँछ । अहिलेसम्म पत्ता लागे अनुसार वृद्धि भएको यही कोलेस्ट्रोल जमेर धमनीमा अवरोध गर्छ र हृदयघात हुन्छ ।

धमनीमा अवरोध भएपछि रक्तचाप पनि बढ्छ, जसका कारण स्ट्रोक ९मस्तिष्क घात० पनि हुन सक्छ रहृदयघात पनि हुन सक्छ ।

ट्रान्सफ्याटयुक्त तेल खानै नहुने हो त ?

ट्रान्सफ्याटयुक्त तेल खानै नहुने चाहिँ होइन, पूरा तेलको २ प्रतिशत भन्दा कम ट्रान्सफ्याट भएको तेल खाँदा हुन्छ ।

कारखानामा बनाइएको बाक्लो तेल वा डाल्डा घिउमा ४५ प्रतिशतसम्म ट्रान्सफ्याट हुने भएकोले यो स्वास्थ्यका लागि धेरै हानिकारक मानिन्छ । त्यसकारण यस्ता ट्रान्सफ्याट युक्त तेल – घिउमा बनाइएका मिठाई, सेल, माल्पुवा, ग्वारमरी, पुरी, जेरी, स्वारी, हलुवा लगायत अन्य तयारी जंक फूडहरु नखानु नै राम्रो हो ।

ट्रान्सफ्याटको प्रयोग नियन्त्रण गर्न नेपालले के गर्दैछ ?

सरकारले सन् २०२३ भित्र खाद्य पदार्थहरुमा ट्रान्सफ्याटको मात्रा दुई प्रतिशत कायम गर्ने महत्वकाक्षी लक्ष्य लिएको छ । गत २४ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको ‘नसर्ने रोगहरु नियन्त्रणको बहुपक्षीय कार्ययोजना २०२१ – २५’ मा यस्तो व्यवस्था समेटिएको छ ।

सोही कार्य योजनाको एउटा बुँदामा सन् २०२३ भित्र खाद्य पदार्थहरुमा औद्योगिक ट्रान्सफ्याटको मात्रा २ प्रतिश कायम गर्ने लक्ष्य रहेको उल्लेख छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *