‘अमूल्य जीवन क्षतविक्षत नगराउँ’
केही समय अघि एक जना सेवाग्राहीलाई सोधेँ, ‘तपाईँ चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गर्नुहुन्छ ?’
उनले भने, ‘गर्छु ।’
मैले फेरी सोधे, ‘त्यो सेवन गर्नुहुन्छ ? तपाईँलाई त्यसले के फाइदा गर्छ ?’
उनको उत्तर आयो, ‘यत्तिकै रमाइलो गर्न, यी चीज खाँदा मलाई रमाइलो लाग्छ, आनन्द आउँछ त्यहि भएर ।’
उनलाई तत्कालै सुझाव दिएँ, ‘तपाईँको गलत बुझाई रहेछ, यसको प्रयोगले जीवन रमाइलो होइन बर्बाद बनाउछ । आनन्द होइन अब छटपटी बनाउँछ, त्यति मात्रै होइन जीवन छिटै समाप्त पार्नलाई सहयोग समेत पुर्याँउछ । त्यसैले आजै देखि यस्तो पदार्थको प्रयोगलाई छाडीदिनुहोस ।’
उनले मेरो कुरा सुने पछि ‘अब यसको प्रयोग गर्दिन’ भनेर विदा भए । पछि आफ्नो अम्मली बानीलाई सुधारे वा के गरे थाहा भएन ।
तर, कुरा के हो भने जतिपनि चुरोट लगायतका सुर्तीजन्य पदार्थको सेवनकर्ता छन्, अधिकांशको भनाई यस्तै आउँछ, टेन्सन भए, रमाइलोको लागि, आनन्द लिन आदि आदि । तर यो कुरा सर्वथा गलत छ । किनभने जुन चिजको सेवनले शरीर भित्रको रगत, कलेजो, फोक्सो, मिर्गौला, मुटु, आँखा, कान, नाकलाई घात गर्छ, मस्तिष्कलाई छिन्न भिन्न बनाउँछ, मस्तिस्कको शक्ति कमजोर पार्छ र सारा जीवन नै तहस नहसको बाटोमा अघि बढाउँछ त्यो चिजबाट कसरी रमाउन सकिन्छ ? कसरी आनन्द हुन्छ होला ?
रमाइलो भनेको मस्तिष्कको Dopamine, Oxytocin, Serotonin, Endorphins जस्ता केमिकल र हर्मोनहरुको प्रभावले Mood को अवस्थालाई खुसी,हाँसो,रमाइलो,सुख, शान्तिमा परिवर्तन गर्छ जसलाई रमाइलो भनिन्छ । तर, सुर्तीजन्य पदार्थले यी केमिकलहरुलाई घटाउन बढाउनमा भूमिका खेल्छ । मूख्य रूपमा यी हार्मोनहरुलाई घटाएर छुटै प्रकारको अनुभूति दिन्छ र मुडलाई लाई परिवर्तन गर्छ जसलाई मानिसले सुख, रमाइलोको संज्ञा दिइन्छ ।
तर खासमा त्यो शारीरिक नकरात्मक प्रतिक्रिया हो जुन् दिनदिनै शरीरको अंग र मस्तिष्कलाई खराब बनाउँदै लागिरहेको हुन्छ ।
एउटा सानो उदाहरण दिन चाहन्छु, तपाईं संग एउटा मोटरसाइकल वा गाड़ी छ जसको मूल्य ३ लाख देखि ६० लाख सम्म पर्ला । त्यो बस्तुलाई तपाईँले कति हेरचाह गरेर राख्नु हुन्छ । नियमित रुपमा सर्भिसिङ्ग गर्नुहुन्छ, मोविल फेर्नुहुन्छ, सफा सुग्घर गर्नुहुन्छ, पेट्रोल चाहिनेलाई पेट्रोल हालेर, डिजेल चहिनेलाई डिजेल हालेर चलाउनुहुन्छ ।
तपाईँले झुक्किएर डिजेलको ठाँउमा एक बोतल पानी हाल्यो भने इन्जिनमा गडबडी हुन्छ, गाडी चल्दैन, बन्द भइदिन्छ । किनभने एउटा गाडीलाई राम्रोसंग चलाउन निश्चित चिजहरु चाहिन्छ, यसलाई लामो समय राम्ररी सञ्चालन गर्न नियमित सर्भिर्सिङ गर्नुपर्छ । तर हामी हाम्रो अमूल्य मानव जीवनको त्यति ख्याल नै राख्दैनौँ ।
गाडीको ईन्जिन जस्तै हाम्रो शरीर भित्र पनि महत्वपूर्ण अंगहरु छन् । जसको नियमित परीक्षण गर्नुपर्छ । डिजेलको ठाँउमा अन्य चीज हाल्दा गाडीको इन्जिन सिज भए जस्तै हाम्रो शरीरमा पनि सुर्तीजन्य पदार्थ जस्ता अखाद्य पदार्थको प्रयोगले अंगमा क्षति हुने, फेल हुने अवस्थासम्म पुग्छ भन्ने कुरा हामी धेरैलाई थाहा छ । तर हामीले आफ्ना सवारी साधनलाई जतिको ध्यान आफ्नो अमूल्य शरीरलाई दिईरहेको हुँदैनौँ ।
तसर्थ यस तर्फ सोचौँ अमूल्य मानव जीवनलाई अखाद्य पदार्थको प्रयोगले क्षतविक्षत नबनाउँ ।
# साह, आँबुखैरनी गाउँपालिका तनहुँमा स्वास्थ्य शाखा सहायक प्रमुखको रुपमा कार्यरत छन् ।