‘औषधिमा आत्मनिर्भर अघि गुणस्तरमा जोड’
काठमाडौँ, २७ मंसिर । विसं २०७२ सालको भूकम्प, त्यसपछिको नाकावन्दी होस् या कोभिड -१९ को महामारीका बेला, औषधिको नियमित उपलव्धतामा समस्या देखिन्थ्यो । झण्डै ५५ प्रतिशत बाहिरबाट आयात हुने हाम्रो देशमा ‘सप्लाइ चेन’मा सामान्य अवरोध आउँदा उपलव्धतामा समस्या देखिनु स्वभाविक पनि थियो ।
त्यसबेला बढी उठ्थ्यो औषधिमा आत्मनिर्भरताको कुरा ।
विशेषगरी स्वदेशी औषधि उद्योगले औषधिमा आत्मनिर्भरताको लागि बढी आवाज उठाएको सुनिन्थ्यो । उद्योगीको आवाज मात्रै होईन, कुनै कुनै वर्ष त सरकारले पनि आफ्नो नीति तथा कार्यक्रममा औषधिमा आत्मनिर्भरताको कुरालाई महत्वका साथ समेट्थ्यो । तर के कारणले हो अहिलेसम्म त्यो विषय कार्यान्वयन तहमा पुग्न सकेको छैन् ।
सोमबार यसै विषयलाई लिएर औषधि व्यवस्था विभागले सरोकारवाला पक्षसंग छलफल गरेको छ । ‘अत्यावश्यक औषधि उत्पादनमा स्वदेशी उद्योग : दायित्व चुनौति पर्वद्धन र आत्मनिर्भरता विषयक नीति सम्वाद कार्यक्रम युएसएआईडी अन्तरगर्तको पीक्युएम प्लसको प्राविधिक सहयोगमा विभागले आयोजना गरेको हो ।
नीति सम्वाद कार्यक्रममा सरकारी अधिकारी सहित, चिकित्सक, औषधि उत्पादक, फार्मासिस्ट सहित अन्तराष्ट्रियस्तरका विज्ञहरुको सहभागिता थियो । त्यसमध्ये अधिकांशले औषधिमा आत्म निर्भरताको विषय उठाउँदै गर्दा औषधिको गुणस्तरमा जोड दिनुपर्ने बताएका थिए ।
विभागका महानिर्देशक डा भरत भट्टराईले औषधिमा आत्मनिर्भरताको कुरा गुणस्तरसंग जोडिएर आउने बताए । ‘हामीले औषधि बनाउँदा गुणस्तरमा कति फोकस गरेका छौँ ? त्यसका लागि उत्पादकको दायित्व के ? हाम्रो विभागको दायित्व के ? नीतिमा संसोधन आवश्यक छ कि ? नियमावलीमा के कति सुधार गर्नुपर्छ ? हाम्रा लागि चुनौतिहरु के के छन् ? उद्योगको प्रवद्र्धनका लागि राज्य पक्षबाट के के गर्नुपर्छ ? आत्मनिर्भरताका विषयमा कुरा गर्दा यी विषयहरु संगसंगै आउछन् । हामीले यी विषयमा फोकस गरेर काम गरौँ,’ उनले भने । सो अवसरमा उनले विभागले गरेका नीतिगत कामहरु र चुनौतीहरुको बारेमा समेत बोलेका थिए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले माहामारी, प्राकृतिक प्रकोप वा नाकाबन्दीका बेला हामीले भोगेका समस्याले औषधिमा आत्मनिर्भरताको आवश्यकता किन भन्ने प्रश्नको जवाफ आइसकेको भन्दै यसलाई प्रभावकारी ढंगले अघि बढाउनका लागि विभागले अग्रसरता लिएर काम गर्नुपर्ने बताए । उनले स्वदेशी उद्योगको क्षमता, गुणस्तरमा अभिबृद्धि गर्नुपर्नेमा जोड दिए ।
‘हाम्रो खरिद प्रक्रियामा समस्या छ। आधारभुत स्वास्थ्य नागरिकले पाउन सकेका छैनन्। तीन तहका सरकारले आ(आफ्नो जिम्मेवारी वहन गरौँ । केही कुराको समाधान हुन्छ। बनेका नीति र ऐनको कार्यान्वयनमा के कमजोरी भएको छ सबैले मिलेर गहन छलफल गरौँ’ डा. पौडेलले थपे ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइरालाले डाक्टरको विश्वास जित्ने बातावरण नेपाली औषधि उद्योगले गर्नु पर्ने बताए । उनले उद्योगको क्षमता विकासमा जोड दिए । यस्तै गुणस्तरमा पनि कतैबाट शंका र प्रश्न उठ्न नसक्ने गरी काम गर्नु पर्ने बताए ।
युएस फर्माकोपियाका उपाध्यक्ष तथा पीक्युएम प्लसका ग्लोवल डाइरेक्टर जुड नोकीले औषधिको गुणस्तर अभिबृद्धि गरेर सबैको पहुँचमा सहज तरिकाले उपलव्ध गराउन सकेमा युनिभर्सल हेल्थ कभरेजको लक्ष्य पुरा गर्न समेत सहयोगी हुने बताए । उनले युएस फर्माकोपियाले कसरी काम गरिरहेको छ भनेर प्रस्तुति समेत गरेका थिए ।
युएस फर्माकोपिया एशियाका क्षेत्रीय निर्देशक मेहमुद अनवरले आत्मनिर्भरताको कुरा गर्दा नियमन तथा अनुगमन प्रणालीलाई थप सुध्रिडीकरण गर्नु पर्ने बताए । यस्तै गुणस्तरीय स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नु पर्ने, र बजारबाट गुणस्तरीय स्वदेश औषधिको माग बढाउन पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल औषधि उत्पादक संघका बरिष्ठ उपाध्यक्ष महेश प्रधानले नेपाली औषधि उद्योगले उत्पादन गरेका औषधिको गुणस्तरमा शंका नलिन आग्रह गरे । राष्ट्रिय औषधि प्रयोगशाला र विभागले परीक्षण गरेकै हुन्छ । त्यहाँबाट गुणस्तर प्रमाणित गरेर नै बजारमा जाने हो । गुणस्तर प्रमाणित भइसकेका औषधिहरुमा थप शंका गर्न जरुरी छैन् । यदि नेपालमा उद्योगले उत्पादन गरेका औषधिमा शंका गर्ने हो भने नेपालका चिकित्सकमा पनि शंक ागर्न सकिने धारणा व्यक्त गरे । उनले आत्मनिर्भरताको कुरा गर्दा राज्यले स्वदेशी उद्योगलाई दिनु पर्ने सुविधाको बारेमा पनि स्पष्ट हुनुपर्ने बताए ।
कार्यक्रममा मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले विगतमा गरिएका नीतिगत निर्णयलाई खोजेर त्यसको कार्यान्वयन तहमा जान जोड दिए । उनले भने, ‘पटक पटक धेरै निर्णयहरु भएका छन् । तर कहाँ के छन् थाहा छैन् । कार्यान्वयन भएको छैन् । यसलाई खोज्नुपरयो र कार्यान्व्यन गर्नु परयो । नत्र कार्यक्रमका लागि कार्यक्रम मात्रै हुन्छ ।’
उनले विभागको क्षमता बढाउने, उद्योगहरुको अनुगमन तथा गुणस्तरमा ध्यान दिन सक्ने सामथ्र्य नभईकन आत्मनिर्भरताको कुरा अघि बढ्न नसक्ने बताए ।
कार्यक्रममा विभागका तर्फबाट बरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसी, औषधि उत्पादकको तर्फबाट एपोनका पूर्व अध्यक्ष दीपक दाहालले कार्यपत्र प्रस्तुति गरेका थिए ।
यस्तै नेपाल औषधि लिमिटेडका मोहमद सफिउल्लाह, देउराली जनता फर्मास्युटिकल्सका सञ्चालक हरिभक्त शर्मा, पिक्युएम प्लसका गजानन्द भण्डारी, एपोनका पूर्व अध्यक्ष शंकर घिमिरे, बरिष्ठ फार्मासिस्ट बाबुराम हुमागाई, मुकुन्दराज जोशी, विभागका किरण बज्राचार्य, ओम्निका फर्मास्युटिकल्सका जयबीर कर्माचार्य लगायतले स्वदेशी उद्योगले गर्ने औषधि उत्पादन, गुणस्तर र मूल्य नियन्त्रणका विषयमा धारणा राखेका थिए ।
पीक्युएम प्लसका प्राविधिक सल्लाहकार प्रदीप लम्सालले आत्मनिर्भरताको मुद्धा पहिले देखि नै उठेको भए पनि गुणस्तरको विषयमा मौन देखिएकोले विभागले आयोजनामा गुणस्तरलाई फोकस गरेर कार्यक्रम आयोजना गरिएको बताए । ‘आत्मनिर्भरताको विषयमा पहिले देखि नै चर्चा चले पनि पहिलो पटक स्वदेशी नीति सम्वाद पहिलो पटक भएको हो । यसमा उत्पादनसंगै गुणस्तरमा जोड दिइएको छ । हाम्रो उत्पादन विदेशी सरह नै छ र प्रतिस्पर्धा गर्न सक्छ भनेर कहिल्यै नबोलिएको कारण विभागले गुणस्तरमा जोड दिएर कार्यक्रम आयोजना हो,’ उनले भने ।
सम्पर्क इमेल : [email protected]