मानसिक स्वास्थ्यको विषयलाई प्राथमिकता दिऔँ : विज्ञ

116
Shares

काठमाडौँ, २७ असोज । मानसिक स्वास्थ्यको विषयलाई प्राथमिकता राखी बहसको विषय बनाउनु पर्ने विज्ञहरुले बताएका छन् । मानसिक स्वास्थ्य समस्या भयावह रुपमा बढदो क्रममा रहेको भन्दै उनीहरुले यसको न्युनीकरणका लागि बहस आवश्यकता भएको बताएका हुन् ।

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले विभिद कारणले पछिल्लो समय मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा रहेको भन्दै यसको न्युनीकरणका लागि बहस थाल्नु पर्ने बताएका हुन् ।

‘के कारणले यो समस्या बढ्दो क्रममा छ ? कसरी रोक्न सकिन्छ ? हामीले यसलाई गहिरो गरी अध्ययन गर्नु पर्ने बेला आएको छ,’ उनले भने ।

कार्यक्रममा स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का निर्देशक डा चुमनलाल दासले मानसिक समस्या पहिचान गर्न हरेक व्यक्ति, परिवार, समाज सबैको उत्तिकै भूमिका हुने बताए। साथै, मानसिक स्वास्थ्यको लागि सरकारले पनि कामहरू गरिरहेको उनले जनाए।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को तर्फबाट बोल्दै डा केदार मरहठ्ठाले पछिल्लो समय सरकारले मानसिक स्वास्थ्यको क्षेत्रमा धेरै कार्यक्रम गरिरहेको बताए। ‘पछिल्लो समय सरकारको तर्फबाट राम्रो कामहरू भइरहेका छन्। शारीरिक स्वास्थ्यलाई जस्तै मानिसक स्वास्थ्यलाई पनि प्राथमिकता दिएर राष्ट्रिय बहसको विषय बनाउनुपर्छ,’उनले भने।

मानसिक अस्पताल लगनखेलका मानसिक रोग विशेषज्ञ डा बासुदेव कार्कीले सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरिरहेको बताए।

‘राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० को अनुसार १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालको कुनै न कुनै समयमा र ४.३ प्रतिशत वयस्कमा हालको अवस्थामा पनि मानसिक समस्या रहेको पाइएको छ। साथै, बालबालिका, गर्भवतीरसुत्केरी, दीर्घरोगी र वृद्दवृद्दाहरुमा पनि मानसिक समस्याहरू हुन्छन्। त्यसकारण सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ,’ उनले भने।

मानसिक स्वास्थ्यलाई समुदाय स्तरमा पुर्याउन विद्यालय नर्सहरुलाई तालिम दिने, अस्पतालमा छुट्टै वार्ड स्थापना गरेको, ११ थरि औषधीहरू निशुल्क दिइरहेको उनले जानकारी दिए।

अधिकांश मानसिक समस्याहरुको सुरुवात चौविस वर्ष भन्दा कम उमेरमा हुने र डिप्रेसन लगायत चिन्ताजन्य समस्याको उपचारमा एक रुपैयाँ खर्च गर्यो भने त्यसले चार रुपैंया बराबरको प्रतिफल दिने समेत डा कार्कीले बताए।

‘हाम्रो राष्ट्रिय प्राथमिकता सबैको निम्ति मानसिक सुस्वास्थ्यको व्यवस्था’ भन्ने नाराको साथ गत अक्टोवर १० तारिखको दिन विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *